वीरगंजको ट्राफिक व्यवस्थापन

0
52


वीरगंजको ट्राफिक व्यवस्थापन भालुको कन्पट भएको छ। यसो हुनुमा प्रमुख कारण सडक साँघुरो हुनु हो। यसलाई फराकिलो नपारुन्जेल समाधान निस्कँदैन। हो, सा–है गा–होसा–हो पर्दा एक निकायले अर्को निकायमाथि दोष थुपार्ने, व्यक्तिगत रिस–इवी साध्ने काममा भने अनियमित ट्राफिकले चाहिंदो सहयोग भने पु–याइरहेको छ। दोस्रो समस्या भनेको प्रायः बैंकहरू खास ठाउँमा सीमित हुनु हो। आजको युगमा समस्त आर्थिक कारोबार बैंकबाटै हुने भएकोले तिनका शाखा–उपशाखा एकै ठाउँमा, खासगरी मेनरोड र आदर्शनगरमा हुनु पनि हो। बैंक, पसलजस्तो उपभोक्ता सामग्रीको विक्रेताहरूले बढी मानिसको आवागमन हुने स्थानलाई कारोबार गर्ने ठाउँ रोज्नु स्वाभाविक हुने भएकोले भीड एकै ठाउँमा एकत्र हुने कुराबाट इन्कार गर्न सकिन्न। जहाँ कारोबार बढी हुन्छ, त्यहाँ मानिसको भीड लाग्छ, मानिस थुप्रै भएपछि सवारीसाधन पनि बढी हुन्छ। मानिस पनि बढी र सवारीसाधन पनि बढी भएपछि सवारी व्यवस्थापन जटिल हुने भइहाल्यो।

तेस्रो समस्या छ, ट्राफिक प्रहरीको। शहर दिनदिनै फैलिंदै गएको छ। विभिन्न ठाउँमा चोक–चौतारो बनेका छन्, सडक सञ्जाल पनि फिंजिएको छ। तर ट्राफिक प्रहरीको सङ्ख्याले यी सबै ठाउँ हेर्न सक्दैन। वीरगंजलाई महानगरपालिका भनिन्छ, तर यहाँ एउटा ठाउँमा पनि ट्राफिक नियन्त्रक लाइट छैन। ट्राफिक व्यवस्थापनमा योभन्दा ठूलो विडम्बना के होला ? शहरमा त घरपिच्छे दुई–तीनवटा दुई पाङ्ग्रे सवारीसाधन छन्, चार पाङ्ग्रेको सङ्ख्या पनि सडकको लम्बाइ–चौडाइले धान्नेभन्दा धेरै छ। सार्वजनिक सवारीको एउटा साधन यस महानगरपालिकाको सडकमा छैन। सबै आफ्नै सवारीसाधन चढ्छन्, नहुनेले रिक्शा चढ्छन्, विद्युतीय होस् वा मानव चालक। यसले पनि ट्राफिक व्यवस्थापनमा ठूलो अवरोध पु–याउने गरेको छ। तर यिनको विकल्प आजसम्म वीरगंज महानगरपालिका, वीरगंजको नागरिक समाज वा ट्राफिक प्रहरी वा जिम्मेवार, कुनै पनि सरकारी निकायको दायित्वभित्र पर्न सकेको छैन। यस्तोमा फलानोको दायित्व हो, गरेन, हामी एक्लैले गरेर हुँदैन भन्ने गुनासोबाहेक केही पनि सुन्न पाइन्न। यसको विकल्पका लागि सबैले मूल समस्या उधिन्नुपर्छ र त्यसको कार्यान्वयनमा निष्पक्ष्F, पूर्वाग्रहरहित भएर लाग्नुपर्छ। अन्यथा रोइ–कराइ मात्र रहनुबाहेक केही हुन सक्दैन।

आज वीरगंजको सबैभन्दा ठूलो र प्राथमिक आवश्यकता हो, मूल सडक फराकिलो पार्नु। भीड हुने सरोकारका कार्यालयहरूलाई सबै वडामा छर्नु। २०६८ सालको जनगणना अनुसार अढाई लाख जनसङ्ख्या भएको महानगरपालिकामा व्यवस्थित भनिएको बजार एउटा मात्र छ। बजारहरू नै अपर्याप्त छन्, जो छन् ती व्यवस्थित छैनन्। नगरवासीमा नागरिक चेतना ठ्याम्मै छैन भने पनि हुन्छ। आफैंले के गर्दा सबैलाई सजिलो हुन्छ भन्ने कसैले सोच्दैन, बरु के गरेर असजिलो पार्न सकिन्छ, त्यसमा कोही कसैभन्दा पछि रहँदैन। उपलब्ध साधन–स्रोतमा प्रहरीले ट्राफिक व्यवस्थापन गर्न खोज्छ, नागरिकले अधिकारको अत्तो थापिहाल्छ। सडकमा पार्क गर्न नदिने नियम लगाउँछ, सवारीसाधनले फूटपाथ नै भरिन्छ। जथाभावी पार्किङ गर्न नदिंदा पसलेहरू ग्राहक गुम्यो भनेर आन्दोलन गर्छन्। यस्तो नागरिक चेतना, साँघुरो सडकमा ट्राफिक व्यवस्थापन १ आकाशको फल मात्र हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्