प्रतीक्षा गरौं आउँदैछ परिवर्तनको चौथो लहर

100

विनोद गुप्ता
व्यवस्थापन विज्ञानको भाषामा परिवर्तन राम्रोको लागि हुनुपर्दछ। यो परिवर्तन दुई प्रकारले हुने गर्दछ। एउटालाई आमूल परिवर्तन र दोस्रोलाई क्रमिक परिवर्तन भनिन्छ। परिवर्तनमा दुई प्रकारको बल प्रयोग हुने गर्दछ। परिवर्तनलाई रोक्ने बललाई अवरोधक बल र परिवर्तनलाई सघाउने बललाई वाहक शक्ति भनिन्छ। नेपालमा माओवादी जनयुद्ध आमूल परिवर्तनको उद्देश्य लिएर भएको थियो तर यसको अन्त्य भने क्रमिक परिवर्तनको रूपमा भयो। समाजको चरित्र पनि परिवर्तनशील हुन्छ र यसमा पनि दुवै प्रकारका बलले कार्य गरिरहेको हुन्छ। शान्ति सम्झौतापछि क्रमिक सुधारको चपेटामा परेका लडाकूहरूको सत्ता प्राप्ति गरेर शासक बन्ने मोह तह लगाउन कमरेड प्रचण्डलाई परेको अप्ठेरोलाई उनले आफू अभिमन्युसरह चक्रव्यूहमा परेको भन्दै यसबाट उम्किने प्रयासस्वरूप काङ्ग्रेससँग बनेको सरकारबाट अभीष्टहरू, खास गरेर सङ्क्रमणकालीन न्याय र बेपत्ता सम्बन्धमा रहेको असन्तुष्टि समेतलाई गाभेर एमालेसँग एकीकरण गर्न पुगेका हुन्। तर समस्या कहाँनेर भयो भने प्रजातन्त्र प्राप्तिपछि सबैभन्दा बढी समय नेपाली काङ्ग्रेस सरकारमा रहेकोले सत्ताको जति आवश्यकता प्रचण्ड कमरेडलाई थियो त्यत्ति नै प्रम ओली वा भनौं एमाले समूहलाई पनि थियो। जित्नको लागि दुवै सँगै बस्नु जरूरी थियो र त्यसैको लागि एक ठाउँमा बस्न पुग्दा ‘एक म्यान में दो तलवार’ को अवस्था पैदा भयो र आजको रँडाको मच्चिएको हो।

अन्तर्राष्ट्रिय स्तरमा भारत र अमेरिकासँग सम्बन्धको स्तरमा गिरावट आउनु, बङ्गलादेशबाट मल आउन नसक्नु यो सरकारको असफलताको कारण हो भने राष्ट्रिय स्तरमा काण्डैकाण्डले भरिएको कार्यकाल, कोरोना उपचारको असफलता, खासगरी विकास बजेट खर्च हुन नसक्नु छँदै थियो, तर हद तब भयो जब शक्ति प्रदर्शनको लागि कर्णाली विवाद शुरू भयो। हदभन्दा बढी तब भयो जब वीरगंजमा नेकपाकै कार्यकर्ता मुकेश चौरसियाको हत्यापछि ८ दिनसम्म देशकै लागि कलङ्क हुने दुर्भाग्यपूर्ण नाटक मञ्चन भयो। नेकपाका पूर्व सभासद्को नाम राखेर उजूरी दिइएकोले जाहेरी नबुझ्ने पर्सा एसपीको अडान कानूनसम्मत थिएन। जाहेरी बुझ्दैमा पूर्वसभासद् अपराधी साबित हुने थिएनन्। सरकारी वकीलको कार्यालयमार्फत जाहेरी बुझेपनि पूर्वसभासद् फरार नै छन्। पहिले पनि त्यस्तै हुन्थ्यो। त्यो भएको भए कानूनको इज्जत जोगिने थियो। तर त्यो नभएर नेकपाका मातृका यादवलगायत नेताहरूको आन्दोलन र त्योभन्दा महाविजोग कमरेड प्रचण्डले जाहेरी यथावस्थामा बुझ्न सम्बन्धित निकाय अर्थात् स्थानीय प्रशासनसँग गुहार माग्नुप–यो। माओवादी जनयुद्धका सर्वोच्च कमाण्डले स्थानीय सुरक्षा अधिकारीसँग जाहेरी दर्ता गर्न माग गर्नुपर्ने अवस्थाले प्रचण्डको स्थानका साथै देशको कानूनी राज्य व्यवस्थाको दयनीय अवस्था दर्शाउँछ। ७–८ दिनसम्म प्रहरीको लागि गैरकानूनी भएको जाहेरी सरकारी वकीलको कार्यालयमा हुबहु त्यही स्वरूपमा पुगेर प्रहरी समक्ष आउँदा कानूनसम्मत हुन पुग्यो। आखिर किन ?

समाजको गति क्रमिक परिवर्तनको पक्षधर हुन्छ र समयसापेक्ष पनि हुन्छ, त्यो क्रमशः राष्ट्रभरि फैलिन्छ र त्यो अवस्थामा परिवर्तनकारी वा हाँक्ने बल क्रमशः बलियो हुँदै गएर अवरोधक बल कमजोर हुन पुग्छ र परिवर्तन हुन्छ। तर यस्तो परिवर्तनलाई समेत व्यवस्थित गर्न नेतृत्वको खाँचो पर्दछ। नेतृत्वले परिवर्तन पछाडि यसलाई स्थिरता र स्थायित्व प्रदान गर्ने काम गर्दछ। यस्तो नहुँदा अवरोध गर्ने समूहले परिवर्तनलाई स्थिर हुन दिंदैन र विकास हुन सक्दैन। विश्वको राजनैतिक इतिहासलाई हेर्दा सन् १८२८ देखि १९२६ सम्म लोकतन्त्रको लहर चलेको पाइन्छ, जसबाट पश्चिम युरोप हुँदै अमेरिका र अस्टे«लियासम्म पुगेको देखिन्छ। प्रजातन्त्रको दोस्रो लहर भने १९४५ देखि १९६२ सम्म चलेको थियो। यसले अफ्रिका र एशियाका अधिकांश मुलुकहरूमा पश्चिमा मोडेलको प्रजातन्त्र स्थापना भएको थियो। युरोपेली साम्राज्यको अन्त्य हुनुका साथै अफ्रिका र एशियाका धेरै मुलुक स्वतन्त्र भएका थिए। नेपालमा पनि राणा शासनको समाप्ति यसै बेला भएको हो।
नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिपश्चात् नेपालमा राणाकालको अन्त्य भएको थियो। तर फेरि १९५४ देखि १९७५ सम्म ‘प्रतिगामी लहर’ पनि चलेको पाइन्छ, जुन क्रममा नेपालमा राजा महेन्द्रले प्रजातन्त्र मासेर सत्ता आफ्नो हातमा लिए। यो ‘कू’ किन सम्भव भयो भने त्यति बेलाको नेकाको सरकारको नेतृत्व गर्ने नेता स्व. विपी कोइरालाले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमैं प्रजातन्त्र समर्थक बललाई स्थिरता र स्थायित्व दिन चुके। तेस्रो लहर सन् १९७४ देखि १९९० सम्म चलेको मानिन्छ। यो लहरले नै ९० को दशकमा गोर्वाचोभलाई ‘ग्लास्नोस्त’ र ‘पेरेस्त्रोइका’ ल्याउन बाध्य पारेको थियो। त्यसपछि सोभियत सङ्घको विघटन हुँदै लोकतन्त्र स्थापनाको शुरूआत भएको पाइन्छ।

दोस्रो र तेस्रो चरणको सन् ८० को दशकसम्मको अवधिमा प्रायः सैनिक विद्रोह वा गृहयुद्धबाट सत्तापलट हुँदै आएपनि त्यसपछिको अवधिमा हतियारको प्रयोगबाट ल्याइने सत्ता परिवर्तनमा क्रमिक कमी आउँदै गएको र त्यसको सट्टा संविधानप्रदत्त अधिकारको आफूखुशी व्याख्या गरी एकलौटी ढङ्गले शासन सत्ता सञ्चालन गरी तानाशाहीको नयाँ नमूना प्रयोग गर्ने गरेको पाइन्छ। चौथो लहर ९० देखि नै निरन्तर स्वरूप परिवर्तन गरी चलिरहेको र यसैले नेपाललगायत दक्षिण अमेरिकी देशहरूमा प्रजातन्त्रको स्थापना भएको पाइन्छ। तर लोकतन्त्रको स्थापनापश्चात् परिवर्तनको वेगलाई रोक्ने केही अवरोधक बल पनि समाजमा हुन्छ जसले नियम कानूनको अपव्याख्या गरेर प्रजातन्त्रकै नाममा प्रजातन्त्रको खिल्ली उडाइरहेको हुन्छ। अहिले नेपालका प्रधानमन्त्री, भारतको नरेन्द्र मोदी, अमेरिकाका ट्रम्प, रूसका पुटिन र चीनका सी जिनपिङ यसै श्रेणीका नेता हुन पुगेका छन्। यिनले बुझ्न नसकेको कुरा के हो भने प्रख्यात वैज्ञानिक न्यूटनले to every action there is equal and opposite reaction भनेजस्तै उनीहरूले गर्न खोजेको क्रान्तिकै गर्भमा प्रतिक्रान्ति लुकेको छ। परिवर्तन जहिले पनि राम्रFेको लागि गरिने काम हो। त्यसैले यो लोक–लोभ्याउने हुन्छ। यस्तो लोक–लोभ्याउने नारा दिएर जब कुनै व्यक्ति वा दल अगाडि आउँछ त्यसले जनताको व्यापक समर्थन पाउँछ तर लोक–लोभ्याउने लक्ष्य प्राप्त नभएपछि सिर्जित असन्तोषबाट प्रतिक्रान्ति जन्मन्छ र यसको अप्रतिम उदाहरण हालै भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका दौरान भारतीय जनता पार्टीका नेताहरू र स्वयं बिहारका मुख्यमन्त्रीसँग जनताले गरेको व्यवहारबाट स्पष्ट देख्न र बुझ्न सकिन्छ। हालसालै अमेरिकामा कालाहरूसँग भएको पुलिसिया व्यवहारले उत्पन्न ‘ब्लैक लाइभ्स मैटर’ आन्दोलन अमेरिकाबाट शुरू भएर, ब्रिटेन हुँदै न्युजिल्यान्डसम्म पुगेको मात्रै होइन कोलम्बस, चर्चिलजस्ता आधुनिक र प्रजातान्त्रिक राज्य निर्माण गर्ने, कहलिएका नेताहरूको स्मारक ढालिइएको छ। अमेरिकामा ट्रम्पले गोरा नश्लवादी सङ्गठनलाई छुट दिएको, कोरोना नियन्त्रणमा पूर्णतया असफल भएको र अर्थतन्त्रमा आएको ३१.४५ प्रतिशतको गिरावटका कारण उनको अस्वीकार्यता बढेको मत सर्वेक्षणबाट जानकारी प्राप्त भएकै थियो।

यो लेख छापिंदासम्म अमेरिकी राष्ट्रपतिको निर्वाचन र बिहार राज्यको निर्वाचनको परिणाम सार्वजनिक भइसक्नेछ। बिहारमा समेत यसपालि जातपात र उचनीच छाडेर रोजगार र शिक्षाको मुद्दामा चुनाव भइरहेको छ। यस्तोमा अमेरिकामा ट्रम्पको हारले संसारभरिकै सामाजिक विभेद अन्त्य गर्ने र प्रजातन्त्रको चौथो लहरलाई ऊर्जा प्रदान गर्नेछ भने भारतको बिहार राज्यमा तेजप्रताप र उनको दलको बहुमतले सीमावर्ती नेपाली क्षेत्रको सोचलाई समेत प्रभावित गर्नेछ। नेपालमा मधेसको विकास नहुनुको पछाडि नीतिगत भेदभाव एवं मधेसी नेताहरूको सामन्तवादी सोच नैं कारक रहेको छ। यो सोचमा नेताहरूले परिवर्तन गर्नुपर्नेछ, अन्यथा सीमान्तकृत भारतीय निर्वाचन क्षेत्रहरूबाट पाठ सिकेको जनताले नेताहरूलाई पाठ सिकाउने छ।
नेपालमा कमरेड ओली सरकारको तीन वर्षे कार्यकालको निष्पक्ष मूल्याङ्कन गरी अमेरिकाको निर्वाचनको दौरान उठेका मुद्दाहरूसँग तुलना गरी हेर्दा एउटा खास वर्ग वा समूहलाई छाडा हुन दिएको, कोरोना नियन्त्रणमा पूर्णतया असफल भएको र आर्थिक क्ष्Fेत्रमा समेत वृद्धिदर ०.६ प्रतिशतसम्म मात्र रहने प्रक्षेपण भइरहेको अवस्थामा अमेरिकाबाट चलेको हावा भारतको बिहार हुँदै नेपाल प्रवेश नगर्ला भन्न सकिंदैन। यसको वेगलाई कसले कसरी रोक्ने वा चौथो लहरले नेपाललाई पनि बेर्ने हो कि हेर्न प्रतीक्षा गरौं।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्