क्लबको भवन भत्काउने विषय विवादमा

0
21

प्रस, पोखरिया, २५ कात्तिक/
कालिकामाई गाउँपालिका–२ गदियानीस्थित ब्रिलियन्ट युवा क्लबको भवन अदालतको आदेशमा भत्काउन लागेको गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहाले बताएका छन्।
एक दशकअघि निर्मित सो भवन सार्वजनिक जग्गामा निर्माण भएको र सो सम्बन्धमा जिल्ला, उच्च र सर्वोच्चको फैसला क्लबविरुद्ध भएको र अदालतले सार्वजनिक स्थानमा निर्मित भवन भत्काउन निर्देशन दिएको हुनाले भत्काउन खोजेको बताएका छन्।
सार्वजनिक जग्गामा निर्मित ब्रिलियन्ट युवा क्लबको भवन खाली गराउने विषयमा राजुल सहनीले मुद्दा दायर गरेका थिए। हालै मुद्दाको फैसला क्लबविरुद्ध आएपछि खाली गराउन लागेको गापा अध्यक्ष कुशवाहाले प्रस्ट्याए। कात्तिक २० गते गापा अध्यक्ष कुशवाहा र वडाध्यक्ष सोनालाल साह भवन भत्काउनको लागि जेसिबी लिएर पुगेका थिए। स्थानीयले भने क्लबले प्रयोग गर्ने भवन तोड्नुको साटो अन्य प्रयोजनमा ल्याउन माग गरेर रोक लगाएका थिए। गाउँलेहरूको विरोधको कारण भवन अहिले भत्केको छैन। गापा अध्यक्ष कुशवाहा भने अदालतको आदेश भएकोले भवन भत्किने कुरामा अडिग छन्। गाउँलेहरू भने क्लबको भवनमा पशु अस्पताल अथवा वडाकै अन्य कामको लागि प्रयोग गर्नुपर्ने सुझाव दिन्छन्।
१० धुर जग्गामा रहेको सो भवनको विषयलाई लिएर अहिले गदियानीमा मतमतान्तर शुरू भएको छ। गापा अध्यक्षमाथि व्यक्तिगत प्रतिशोधमा आएर सार्वजनिक सम्पत्ति तहसनहस गर्न खोजेको आरोप लागेको छ तर गापा अध्यक्षले भने सो आरोप मिथ्या भएको बताए। दश वर्षसम्म मुद्दा खेपेर अहिले हारेपछि मिथ्या आरोप लगाउनु गलत हुने उनको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्