समिलबाट अवैध सालको चिरान काठ बरामद, समिल सञ्चालक फरार, खोजी कार्य जारी

0
53

प्रस, बिरुवागुठी, २४ कात्तिक/
डिभिजन वन कार्यालय पर्सा र डोकैला प्रहरी चौकीको संयुक्त टोलीले सोमवार बिहान बहुदरामाई नगरपालिका–४ डोकैला चोकस्थित समिलमा छापामारी गरी अवैध चिरान काठ बरामद गरेको समाचार छ।
आज बिहान वन र प्रहरीको टोलीले सूचनाको आधारमा डोकैला चोकमा रहेको विवेक समिलमा छापा मारी ३९ थान सालको चिरान काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत शशिकान्त तिवारीले बताए। उनकै नेतृत्वको संयुक्त टोलीले सूचनाको आधारमा समिलमा छापामारी गरेको र ३९ थान चिरान काठ (१७.४१ क्युबिक फिट) बरामद भएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत जगरनाथप्रसाद जैसवालले बताए। उनले छापामारीको क्रममा काठ बरामद भएको तर समिल सञ्चालक अशोक साह फेला नपरेको बताए। बरामद काठ आवश्यक कारबाईको लागि डिभिजन वन कार्यालय पर्सामा राखिएको र थप अनुसन्धान भइरहेको उनले बताए। उनले विवेक समिलका सञ्चालक साहको खोजी भइरहेको बताए।
यसैगरी पर्सागढी नगरपालिका–३ पकडियाबाट सब–डिभिजन वन कार्यालय बडनिहारको वनगश्ती टोलीले सोमवार बिहान ३ थान सालको गोलिया र तीनवटा साइकल बरामद गरेको छ।
राष्ट्रिय वन फडानी गरी साइकलमा गुलिया काठ ल्याउने क्रममा वन गश्ती टोलीलाई देखेर तस्कर भाग्न सफल भएको सबडिभिजन वन कार्यालय बडनिहारका सुबेदार रामाशिषप्रसाद कुर्मीले बताए।
वन गश्ती टोलीले बरामद गरेको तीन थान सालको गुलिया काठ र तीन थान साइकल आवश्यक कार्यवाहीको लागि सब वन डिभिजन कार्यालय बढनिहारमा राखिएको सुबेदार कुर्मीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्