वीरगंजको होटल व्यवसायले गति लिन सकेन

83

प्रस, वीरगंज, २४ कात्तिक/
वीरगंजमा लकडाउनपछि असोज १ गतेदेखि सञ्चालित होटल व्यवसायले अहिले गति लिन सकेको छैन।
बन्दाबन्दी खुलेको करीब दुई महीना बितिसक्दा पनि वीरगंजका होटलहरूमा ग्राहकको अभाव छ। कोरोना सङ्क्रमण एउटा कारण हो भने अर्को कारण सीमा सिल हुनु हो। वीरगंजमा साना र ठूला गरी ६० वटा होटल छन्। होटलको प्रमुख ग्राहक भारतीय नागरिक हुन्। विभिन्न कारणले वीरगंज आउने ८० प्रतिशत भारतीयबाट होटल व्यवसाय चलिरहेको होटल तथा पर्यटन व्यवसायी हरि पन्तले बताए। उनले कोरोनाको कारण खुलेको होटलहरूमा ग्राहक सङ्ख्या १० प्रतिशतभन्दा बढ्न नसकेको बताए।
कोरोनाको कारण खुलेका होटलहरूमा मानिसहरू खानपिन गर्न आउने सङ्ख्या एकदमै पातलिएको उनले बताए। सीमा नखुलुन्जेल वीरगंजको होटल व्यवसायले गति लिन नसक्ने उनको भनाइ छ। अहिले वीरगंजमा भएका ६० वटा होटलमा १ हजार बेड छन्। तर सयभन्दा बढी बेडमा ग्राहक हुँदैनन्। यही कारण हो अहिले खुलेको होटलहरूमा कामदारहरूको सङ्ख्या पनि थोरै हुनु।
६० वटा होटलमा १२ सयभन्दा बढी होटल कामदार कार्यरत थिए। कोरोना सङ्क्रमणसँगै शुरू भएको लकडाउनमा होटल व्यवसाय बन्द रह्यो। दुई महीनादेखि सञ्चालित होटलमा अहिले १ हजार कामदारले रोजगार गुमाएका छन्। भएका २ सय कामदारलाई पनि मासिक तलब दिने अवस्था नरहेको होटल सञ्चालकहरू बताउँछन्।
वीरगंजमा केही दिन अघि मात्रै होटल मकालु सञ्चालनमा आएको हो। असोज १ गतेदेखि होटल सञ्चालन भएपनि मकालु होटल सञ्चालनमा थिएन। मङ्सिर १ गतेदेखि सीमा खुल्ने अनुमानले होटल मकालु चार दिन अघि सञ्चालनमा आएको छ। अहिले सो होटलमा बेडहरू मात्र सञ्चालनमा ल्याइएको बताइएको छ। अन्य सेवाहरू क्रमिकरूपले ग्राहकको अवस्था हेरी बढाउने होटलमा कार्यरत सुशील श्रेष्ठले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्