रोटरीले अस्पताललाई पिसिआर मेशिन दियो

75

प्रस, महोत्तरी, २३ कात्तिक/

बर्दिवास अस्पताललाई थप पिसिआर मेशिन प्राप्त भएको छ। रोटरी क्लब अफ बर्दिवासले अस्पताललाई शनिवार साँझ एक थान पिसिआर मेशिन प्रदान गरेको हो।

रोटरी इन्टरनेशनलबाट रोटरी क्लब अफ बर्दिवासलाई प्राप्त विभिन्न स्वास्थ्य उपकरणसहित पिसिआर मेशिन एक थान, ल्यापटप एक थान र युपिएस एक थान प्रदान गरिएको हो। रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा)का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब अफ बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई पिसिआर मेशिनसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

सो अस्पताललाई बर्दिवास नगरपालिकाले पनि यसअघि एउटा पिसिआर मेशिन र सो सञ्चालनको लागि जनशक्ति उपलब्ध गराएको थियो। अस्पतालले भदौ १२ गतेदेखि नै सो पिसिआर मेशिनबाट सर्वसाधारणको कोभिड–१९ परीक्षण गर्दै आएको छ। थप मेशिन प्राप्त भएपछि कोभिड–१९ सङ्क्रमण भए नभएको यकीन गर्न स्वाब परीक्षण कार्य अझ सघन गर्न सकिने नगरप्रमुख कार्कीले बताए।

बर्दिवास अस्पतालमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिराहा, उदयपुर, सिन्धुलीसहितका जिल्लाका सर्वसाधारणले स्वाब परीक्षणको सेवा लिंदै आएको अस्पतालले जनाएको छ। हालसम्म दुई हजारभन्दा बढी मानिसले अस्पतालमा स्वाब परीक्षण गराएको बर्दिवास नगर कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानका सहसंयोजक तथा अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबू यादवले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्