प्रस, वीरगंज, २३ कात्तिक/
पर्सा प्रहरीले दुईवटा भारतीय गाडी बरामद गरी वीरगंज भन्सार कार्यालय चलान गरेको छ। लकडाउन, निषेधाज्ञा र सीमासिल भएको अवस्थामा वीरगंज क्षेत्रमा अवैध तरीकाले सञ्चालन गरिएको भारतीय सवारी साधन स्कार्पियो र कार नियन्त्रणमा लिएर भन्सार चलान गरिएको जिप्रका पर्साले जनाएको छ।
यो समयमा विभिन्न कारणले नेपालमा रहेका सवारीसाधनहरूलाई वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको सिफारिशमा भारत पठाउने काम भएको थियो।
सो विपरीत भन्सार र राजस्व छलेर वीरगंजमा रहेका भारतीय सवारीसाधन मध्ये बीआर ०५ डब्लु ५२८३ नं.को कार र डीएल ९सी ५६४४ नं.को स्कार्पियो वीरगंज–१० ठाकुरराम बहुमुखी क्याम्पसको सडकखण्डबाट बरामद भएको र भन्सार चलान गरिएको जिप्रका पर्साले जनाएको छ।