एडिबीको योजना सम्पन्न हुन ढिला, कालिकालाई आठ महीनाको म्याद थप, अस्सी प्रतिशत काम सम्पन्न

0
66

प्रस, वीरगंज, २३ कात्तिक/

वीरगंज महानगरपालिकाको विभिन्न वडाहरूमा एशियन विकास बैंक, नेपाल सरकार र महानगरपालिकाको लगानीमा सञ्चालित सघन शहरी विकास योजनाको काम अन्तिम चरणमा पुगेको छ।

दोस्रो चरणको योजना लकडाउनको कारण तोकिएको समयमा सम्पन्न नभए पनि अबको तीन महीनाभित्र, अन्य कुनै अप्ठ्यारो आइ नपरे, सम्पन्न गरिसक्ने ठेकदार कम्पनी कालिका कन्सट्रक्शनका प्रबन्धक ठाकुर ढकालले बताए। उनले सघन शहरी विकास योजनाको म्याद आगामी डिसेम्बर महीनासम्म रहेको तर एडिबीले लकडाउनको कारण ८ महीना थप गरेको प्रतीकलाई बताए।

उनले अब यो योजनाको काम असार मसान्तसम्म पूरा गरिसक्नुपर्ने गरी ८ महीना म्याद थपिएको बताए। प्रबन्धक ढकालले योजनाको काम गत असारसम्म सकिने गरी तीव्र गतिमा भइरहेको तर लकडाउन, निषेधाज्ञा र कोरोनाको जोखिमको कारण कामदार प्रयोग गर्न समस्या भएकोले ढिला भएको बताए। उनले कोरोना सङ्क्रमणको जोखिम वीरगंजमा कम भएलगत्तै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार काम शुरू गरेको र अहिले कामले निकै गति लिएको दाबी गरे।

प्रबन्धक ढकालले यही अवस्थामा काम हुने हो भने तीन महीनामा काम सम्पन्न हुने बताए। सघन शहरी विकास योजना अन्तर्गत अहिले १८ किलोमिटर कालोपत्र गर्ने काममा १४ किलोमिटर सम्पन्न भएको उनले बताए। यसैगरी साढे १३ किलोमिटर सडकको विभिन्न स्थानमा ह्युमपाइप बिछ्याउने काम र दोस्रो बाइपासको अधूरो काम नृसिंह माविको भवन निर्माणपछि शतप्रतिशत पूरा भएको बताए। दोस्रो बाइपास सडकबीच नृसिंह माविको भवन पर्दा यस अधिको साना तथा मझौला शहरी वातावरणीय योजनाको काम अधूरो रहेको थियो। दोस्रो योजनामा नृसिंहको भवन निर्माण भएर सञ्चालनमा आएपछि अधूरो बाटो पूरा भएको हो। अहिले शहरी सघन विकास योजना अन्तर्गत ईंटाको प्रयोग भई बन्ने साढे १४ किलोमिटर नालामध्ये ९२ प्रतिशत काम भएको र ढलानबाट बन्ने साढे ६ किलोमिटर नाला ९३ प्रतिशत सम्पन्न भएको उनले बताए।

योजना अन्तर्गत बाइपास, इनर–बाइपास, घण्टाघर लिङ्करोडमा पूmटपाथ निर्माणको काम भने ५० प्रतिशत सम्पन्न भएको र बाँकी काम तीव्र गतिमा भइरहेको बताए। अहिले निर्माणाधीन योजनामध्ये सबैभन्दा बढी समस्या बाइपासमा सवारी साधनहरूको अनधिकृत पार्किङले गरेको उनले बताए। योजनाको काम भइरहेको सो स्थानमा बस, ट्रक बडिबिल्डर्स, ग्यारेजहरू ठूलो सङ्ख्यामा रहेकाले फूटपाथमा जथाभावी पार्किङ गर्ने, सडकर्मै मरम्मत–सम्भारको काम हुने गरेकोले सडक, फूटपाथको आयु कम हुने खतरा भएको उनले बताए।

यस अघि सञ्चालित साना तथा मझौला शहरी वातावरणीय सुधार योजना अन्तर्गत दोस्रो बाइपास सडक निर्माण सम्पन्न हुँदा त्यहाँ पनि यही समस्या थियो। जसले गर्दा ठाउँ–ठाउँमा फूटपाथ, सडक बिग्रने क्रम बढेको छ।

महानगरपालिकाले केही दिन अघि दोस्रो बाइपासमा जथाभावी थुपारिएको निर्माण सामग्रीहरू नियन्त्रणमा लिने काम गरेको थियो। दुवै योजना साढे पाँच अर्बभन्दा बढीको भएपनि यसको संरक्षणमा महानगरपालिका उदासीन देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्