हुलाकी सडकको अनुगमन

0
15

प्रस, ठोरी, २२ कात्तिक/
जिल्ला समन्वय समिति पर्साको टोलीले शनिवार ठोरीमा निर्माणाधीन हुलाकी सडकको अनुगमन गरेको छ।
ठोरी गापा–३ मा पर्ने हुलाकी सडकमा कालोपत्रे गर्दा ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयले विरोध जनाइरहेको बेला टोलीले सडकको अनुगमन गर्दै ठेकेदारका प्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेको थियो। जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपाने, समन्वय अधिकारी छविरमण भट्टराई, इन्जिनीयर विजय गुप्तालगायत सम्मिलित टोलीले सडक निर्माणको अवस्था र कालोपत्रे बिछ्याउँदा लापरवाही गरेको भन्ने स्थानीयको असन्तुष्टिका विषयमा ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलका क्रममा स्थानीयले दशैंको मौका छोपेर ठेकेदारले कालोपत्रे गर्दा चरम अनियमितता गरेको, कालोपत्रे बनाएको केही दिनमा उप्कन थालेकोलगायतका अनियमितता भएको आरोप लगाएको उपसभापति न्यौपानेले बताए। ठोरी गापा–३ मा पर्ने ढुङ्गेबजार वरपर कालोपत्रे गर्दा लापरवाही गरेको भन्दै स्थानीय विरोधमा छन्। उनीहरूले ठेकेदार कम्पनीले कालोपत्रे गर्दा लापरवाही गरेको र पिच उप्कन थालेको भन्दै गुणस्तरीय सडक निर्माण गर्न माग राखे। कालोपत्रे उप्किएको ठाउँमा ठेक्का सकारेको बाँनिया निर्माण सेवाले टालटुल पारेर मर्मत गर्न खोजेको भन्दै स्थानीयले विरोध गरिरहेका छन्। उनीहरूले स्थानीय प्रशासनलाई सडक अनुगमन गराएर मात्र काम गर्नुपर्ने भनिरहेका छन्।
ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले कम्पनीले सडकको इस्टिमेट अनुसार कालोपत्रे गरेको दाबी गरे। उनले कालोपत्रे सेट हुने समयअगावै कालोपत्रे उप्काउँदा समस्या निम्तिएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्