शिक्षक नै नयाँ कुरो सिक्दैन भने विद्यार्थीले के सिक्छ ?

0
40

अनन्तकुमार लाल दास

कोरोनाकाल शिक्षकहरूको लागि आआप्mनो दक्षता वृद्धि गर्ने काल थियो। यस कालमा जसले आप्mनो दक्षता वृद्धि गर्न सक्यो ऊ नै भविष्यमा सफल पनि हुन्छ। कोरोनाकालले हामी शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्ने पाठ पढाएको छ। यस कालमा जो प्रविधिमैत्री बने उनीहरूले प्रविधि प्रयोग गरेर अर्थोपार्जन पनि गरे र विद्यार्थीहरूलाई पढाइतिर पनि आकर्षित गर्न सफल भए। जसले यस कालमा आपूmलाई दक्ष बनाउन सकेन उसले आज आप्mनो भाग्यलाई सरापिरहेको छ। कोरोनाकाल चुनौती सँगसँगै अपार सम्भावना पनि बोकेर आएको थियो। काम गर्न मन नपर्नेहरूका लागि काल र कर्मवीरका लागि सुनौलो अवसर थियो। अर्थात् शिक्षकले आपूmलाई दक्ष बनाउँदैन भने उसले पढाएका विद्यार्थी पनि दक्ष बन्न सक्दैनन्।

शिक्षक र आमाबुवा यदि विद्यार्थीहरूको शैक्षिक विकासमा रुचि राख्छन् भने उनीहरूले नियमित केही न केही पढ्नुपर्छ। जो पढ्दैन उसले के पढाउँछ ? यो साधारण कुरा यदि शिक्षक र आमाबुवाले आत्मसात् गर्छन् भने शिक्षा सँगसँगै समाजको पनि मुक्ति गर्न सक्छन्। यो मुक्ति कसरी हुन्छ भन्ने कुरामा चिन्तनमनन गर्दा के स्पष्ट हुन्छ भने जसले पढ्दैन, उसलाई शिक्षा भनेको के हो थाहा हुँदैन। यस परिवेशमा ऊ आँखा चिम्लेर विद्यार्थीहरूलाई घोकन्ते शिक्षा मात्र प्रदान गर्छ। उसले परीक्षा परिणाम र पैसा त प्राप्त गर्छ तर हुनुपर्ने के र गरिरहेको केबारे पूर्णतः अनभिज्ञ हुन्छ।

पढाइ एकै प्रकारको हुँदैन। ईश्वरको नाउँ हजारपटक भन्ने र लेख्ने गरे पनि  भगवत्प्राप्ति हुँदैन। गीता, रामायण वा कुरान सुग्गाजस्तो रटेर मानिस मानिस बन्न सक्दैन। सुगाजस्तै रटेर परीक्षा त पास गर्न सकिन्छ तर राम्रो शिक्षक बन्नका लागि घोकन्ते शिक्षा होइन पढेको कुरा बुझ्न ध्यान दिनु अति आवश्यक हुन्छ। आज आवश्यकता छ गिजुभाई जस्तै शिक्षा र सामान्य ज्ञानको जानकारी राख्नु। आज आवश्यकता छ शिक्षकहरूले कक्षा शिक्षण गर्नुपूर्व विषयगत कुराहरूको खोज गर्नु।

एउटा तथ्याङ्कले के देखाएको छ भने हाम्रा शिक्षकहरूमा पढ्ने बानीको अभाव छ। यस कारण विद्यार्थीहरूले पनि प्राप्त ज्ञानलाई चरित्रमा परिवर्तन गर्न सकिरहेका छैनन्। स्व–अध्ययन विद्यार्थीहरूको लागि मात्र हैन शिक्षकहरूको लागि पनि त्यतिकै महत्वपूर्ण हुन्छ। स्व–अध्ययनको अभावले गर्दा नै आज शिक्षक र विद्यार्थीबीच खाडल बढ्दै गइरहेको छ। स्व–अध्ययन भनेको कसैको सहयोगबेगर आफैं सिक्ने प्रक्रिया हो, जसबाट विद्यार्थीहरूको बुझाइ स्पष्ट पार्न सजिलो हुन्छ। यो जुनसुकै ठाउँमा जुन बेला पनि गर्न सकिन्छ। यसले शिक्षकहरूलाई बढी कल्पनाशील बनाउँछ। उनीहरूलाई आप्mनो जिम्मेवारीप्रति स्वतन्त्रतापूर्वक लाग्न सिकाउँछ।

शिक्षकहरूले के पढ्नुपर्छ र किन पढ्नुपर्छ यो महत्वपूर्ण विषय हो। शिक्षकमा यदि नयाँ कुरो सिक्ने बानी छ भने यसबाट धेरै लाभ प्राप्त हुन्छ। यदि शिक्षकमा सिक्ने बानी छैन भने विद्यार्थीलाई के पस्कन्छन् ? आज शिक्षकसँग शब्द भण्डार हुँदैन, विषयगत ज्ञान हुँदैन, धेरै शिक्षक प्रविधिमैत्री छैनन्। विश्वमा के भइरहेको छ भन्ने कुरा थाहा छैन, समाज कुन गतिले अगाडि बढिरहेको ज्ञान छैन, समाजको आर्थिक–सामाजिक विकास कसरी भइरहेको छ पत्तो छैन भने भविष्यको इतिहास कसरी निर्माण गर्ने थाहा हुँदैन।

शिक्षकको जिम्मेवारी ठूलो हुन्छ। समाज सुधार उसको प्रमुख धर्म हो। विद्यार्थीहरूको व्यक्तित्व निर्माण उसको प्रमुख दायित्व हो। यहाँनिर हामीले शिक्षकको जिम्मेवारी के–के हो भन्ने कुरा सोच्नुपर्ने हुन्छ। यदि शिक्षकहरूले यी कुरामा चिन्तनमनन गर्दैनन् भने कसरी उत्प्रेरक बन्न सक्छन् ? यसलाई धर्म भनौं, उत्तरदायित्व भनौं वा जिम्मेवारी, शिक्षकलाई अघि बढ्न प्रेरणा प्रदान गर्दछ। गुरु–शिष्य सम्बन्ध भनेको गुरुले शिष्यको हरेक कुरामा ध्यान दिनु हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीहरूसँग कुरा गर्दा के भनेका थिए भने पहिले विद्यार्थीहरू शिक्षकको नकल गर्थे, अर्थात् शिक्षक विद्यार्थीहरूका लागि आदर्श–पात्र हुन्थे। गाउँमा कुनै समस्या हुँदा गाउँलेहरू पनि शिक्षकसँग सल्लाह गर्दथे तर आज यो प्रवृत्ति लोप हुने अवस्थामा छ। यदि शिष्यको मनमा गुरुप्रति श्रद्धा छ भने मात्र गुरुको भनाइ स्वीकार गर्छ। शिष्यको मनमा गुरुप्रति श्रद्धा त्यस बेला मात्र उत्पन्न हुन्छ, जुन बेला गुरुले आप्mनो आचरणको माध्यमले शिष्यलाई श्रद्धाको पात्र बनाउन सक्छ।

स्वाध्यायले शिक्षकहरूलाई उत्प्रेरणा प्राप्त हुन्छ। कुनै बेला वेद–शास्त्र, कुरान पढेर मात्र स्वाध्याय भइहाल्थ्यो। प्रातः वन्दना वा पाँचपटक नमाज पढेर वा पण्डित–पादरी–मौलवीको प्रवचन सुनेर सही दिशाको ज्ञान हुन्थ्यो तर आज त्यो समय छैन। समयले हामीमा परिवर्तन ल्याउँछ, यस कारण हामीले पनि सोही अनुसार परिवर्तन ल्याउनु आवश्यक छ। आज धार्मिक शिक्षकमाथि मात्र निर्भर हुन्छौं भने घाटा हुन सक्छ। यस कारण शिक्षकहरूले आप्mनो अध्ययनको क्षेत्रलाई धर्मनिरपेक्षताको सीमासम्म बढाउनुपर्ने हुन्छ। कतिपय शिक्षकसँग पढाउने विषयको किताबसमेत हुँदैन। कक्षामा गएर के र कसरी पढाउने भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन। ज्ञानको कुनै सीमा छैन, यसर्थ शिक्षकहरूलाई पनि यस भ्रमबाट मुक्त हुने र आप्mनो रुचि विस्तार गर्नुपर्ने आवश्यकता छ। यस कारण पनि शिक्षकहरूलाई स्व–अध्ययन गर्नु र प्रविधिमैत्री बन्नु आवश्यक छ।

उखुको रस बेच्नेले के–के तयारी गर्छ, यसको कल्पना गर्नुहोस्। एउटा पान बेच्नेले ग्राहकको सन्तुष्टिका लागि कुन–कुन कुरामा ध्यान दिन्छ भन्ने कुराको कल्पना गर्नुहोस्। कुनै पनि धन्धा गर्नेले पसल खोल्नुपूर्व ती समस्त कुरामाथि ध्यान पु–याउँछ जुन त्यस पसललाई सञ्चालन गर्न आवश्यक हुन्छ। यसैगरी शिक्षकहरूलाई यदि राम्रो शिक्षण गर्नु छ भने कुन–कुन कुरामा ध्यान पु–याउनुपर्छ भनी सोच्नु के नराम्रो हो ? के यस्तो गर्नु हाम्रो धर्म होइन ? शिक्षक सदैव प्रगतिशील हुन्छ। ऊ निरन्तर उन्नति चाहन्छ। कुनै ‘वाद’सँग डराउनु हुँदैन तर कुन वादले खाल्डोमा जाकिदिन्छ त्यसबारे अवश्य नै थाहा हुनुपर्छ। स्वाध्यायको सर्वोपरि लक्ष्य यही हो।

स्वाध्यायको अर्थ मात्र किताब वा पत्रपत्रिका पढ्नु होइन। स्वाध्यायको अर्थ आप्mनो स्वभावको अध्ययन गर्नु पनि हो। स्वाध्यायको अर्थ आप्mनो छरछिमेक र परिवेशको अध्ययन गर्नु पनि हो। स्वयंको अवलोकन गर्नु, पर्यावरणमाथि ध्यान दिनु र विश्वको गहन अध्ययन गर्नु र त्यसमा के राम्रो छ, त्यसको विश्लेषण गर्नु पनि स्व–अध्ययन हो। धेरैले अध्यात्म र धर्मप्रति श्रद्धाभाव राख्छन् तर कतिलाई ‘स्वधर्म’ भनेको के हो भन्ने कुरा थाहा हुन्छ ? यी कुराहरूलाई कतिले बुझ्ने प्रयास गरेका छन् ? मेरा थुप्रै शिक्षक साथी छन्। उनीहरूले राम्रो डिग्री पनि हासिल गरेका छन्। उनीहरूले काम गर्ने विद्यालयमा पनि थुप्रै पत्रपत्रिका उपलब्ध छ तर कसैलाई पनि पढ्ने फुर्सद छैन। स्व–अध्ययन सम्बन्धमा उनीहरूको धारणा जान्न खोज्दा ‘अब पढेर वा सिकेर के फाइदा? विद्यार्थीहरूलाई पढाउनबाट नै फुर्सद पाउँदिन्। महीनामा बीस–पच्चीस हजारको कमाइ भइहाल्छ” भन्ने जवाफ पाइन्छ। उनीहरू पनि लाभ खोज्छन् र म पनि लाभ नै खोजिरहेको छु। त्यो ‘नजीकको लाभ’ र यो ‘टाढासम्मको लाभ’ फरक यत्ति मात्र हो।

हाम्रो स्वाध्याय वा नयाँ कुरा सिकाइ परिवर्तनको लागि हुनुपर्छ। अरूलाई देखेपछि स्वयं परिवर्तित हुनुपर्छ। पुस्तक अध्ययनले र प्रविधिको ज्ञानले हामीलाई स्व–मूल्याङ्कन गर्ने अन्तर्दृष्टि प्रदान गर्छ। पुस्तकको माध्यमले हामी विगतलाई सजिलै हेर्न सक्छौं भने प्रविधिमार्फत अप्ठेरो परिस्थितिमा पनि धनार्जन गर्न सक्छौं। विगतलाई हेरेर वर्तमान सुधार्न र भविष्यको निर्माण गर्न सकिन्छ। यो त्यस बेला मात्र सम्भव हुन्छ जब हामीमा अध्ययन गर्ने र नयाँ कुरो सिक्ने बानी हुन्छ। यस कारण शिक्षकहरूले स्वयं र विश्वलाई हेर्न समय निकाल्नुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्