जीतपुरसिमरामा बजार अनुगमन तीव्र

0
9

प्रस, परवानीपुर, ७ कात्तिक/
दीपावली तथा छठ पर्व नजीकिंदै जाँदा बजारमा महँगी बढ्यो भन्ने सूचनाको आधारमा बाराको जीतपुर र सिमरा बजारमा शनिवार स्थानीय प्रशासनले अनुगमन तीव्र बनाएको थियो। स्थानीय प्रहरी तथा सरोकारवालाहरूको सहयोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जीतपुर र सिमरा बजारमा अनुगमन गरी १४ वटा पसललाई कारबाई गरेको थियो।
वाणिज्य कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय जीतपुर, नगर उद्योग वाणिज्य सङ्घ जीतपुरका प्रतिनिधिको रोहबरमा गरिएको बजार अनुगमनमा जीतपुरमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दोषी देखिएकाले तत्काल जरिवाना गरी कारबाई गरिएको थियो।
खरीद बिल नदेखाएकाले जीतपुरका विनोद किरानापसल, जोया किराना एन्ड जेनरल स्टोर, जय मातादि किराना एन्ड जेनरल स्टोरलाई जनही २० हजार, सोना सप्लायर्सलाई १० हजार, न्यू प्रियांसु इन्टरप्राइजेजलाई ५ हजार, फेशन वल्र्ड जीतपुरलाई ७ हजार, सावना फेन्सी स्टोरलाई ५ हजार, ओम वस्त्रालयलाई २० हजार, चन्दन वस्त्रालयलाई १० हजार, नरेश वस्त्रालयलाई १५ हजार, सिमरन वस्त्रालय सिमरालाई १५ हजार, साजन वस्त्रालय जीतपुरलाई ५ हजार रुपैयाँ तत्काल जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्वेले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्