इन्मरजेन्सी सेल्टर भवन शिलान्यास

0
44

धर्मेन्द्र चौरसिया, पोखरिया, २२ कात्तिक/
पर्सा, बहुदरमाई नगरपालिका वडा नं २ पिपरामा इमरजेन्सी सेल्टर भवनको शनिवार शिलान्यास भएको छ। प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सो भवनको शिलान्यास गरेका हुन्।
केन्द्र सरकारको २ करोड ६५ लाख रुपैयाँको लगानीमा निर्माण हुने सेल्टर भवनमा दैवी प्रकोप बाढी, आगलागी, हुरीबतास, महामारीलगायतका समयमा स्थानीयलाई सुरक्षित राख्न प्रयोग गरिने छ।
शिलान्यास गरिएको भवन १५ कोठे बन्ने र उक्त भवन तीन वर्षभित्र निर्माण गरिसक्ने सम्झौता भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष अनुरुद्ध्रप्रसाद कुर्मीले जानकारी गराएका छन्। कार्यक्रममा प्रदेशमन्त्री सोनलले देश अहिले निकै तरल अवस्थामा रहेको चर्चा गर्दै नेकपाको राजनीति पनि भड्खालोमा परेको टिप्पणी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमा नियन्त्रण नभएकोले कति बेला के बोल्ने भन्ने ठेगान पनि नभएको भन्दै सोही कारणले मुलुक विश्वसामु लज्जित हुनुपर्ने अवस्था आएको आरोप लगाए।
नेकपाको कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको आरोप लगाउँदै उनले संविधानको भावनाविपरीत सङ्घीय सरकारले विभिन्न कानून बनाएको टिप्पणी गरे। भारतमा प्रान्तीय सरकारलाई बलियो बनाउन सङ्घीय सरकार जसरी लागिपरेको हुन्छ, त्यसरी हाम्रो मुलुकको सङ्घीय सरकार नलागेको भन्दै मन्त्री सोनलले बजेट, जनशक्ति र कानून कार्यान्वयनमा समेत सङ्घीय सरकारले प्रदेश सरकारमाथि अतिक्रमण गरिरहेको आरोप लगाए। वर्तमान सङ्घीय सरकार भ्रष्टाचारको आहालमा डुबेको तर प्रदेश सरकारले विगतको ५० वर्षमा नभएको विकास तीन वर्षको समयमा गरेको उनको दाबी थियो।
मन्त्री सोनलले सेल्टर भवन उपभोक्ता समितिमार्फत निर्माण हुन लागे पनि गुणस्तरमा कुनै सम्झौता नगर्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगंजका अधिकारीहरूलाई निर्देशन दिए। कार्यक्रममा बहुदरमाई नगरपालिकाका बासिन्दा तथा राजनीति, शिक्षा, स्वास्थ्य, निजामती सेवा, गैरसरकारी संस्थालगायत विभिन्न क्षेत्रमा कार्य गरी जिल्लाको विकासमा योगदान दिएका र दिइरहेका करीब १५ जनाभन्दा बढीलाई कदरपत्र प्रदान गरिएको थियो।
जनता समाजवादी पार्टी बहुदरमाईका अध्यक्ष कृष्णा यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीका नेता तथा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी, केन्द्रीय सदस्य शिव पटेल, जनार्दन यादव, प्रदेश सांसद प्रह्लाद गिरी, रमेश कुर्मी, करिमा बेगम, मन्जुर आलम, भीमा यादव, भारतीय वाणिज्यदूत शैलेन्द्र कुमार, वडाध्यक्ष जीतेन्द्र पटेल, युनिसेफका प्रतिनिधि बृजकिशोर पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्