पर्साका किसानहरू माछाखेतीतर्फ आकर्षित

0
28

नरेश यादव, पर्सागढी, २१ कात्तिक/
    पर्सा जिल्लामा माछाको उत्पादन वृद्धि भएपछि अहिले आन्तरिक खपतका साथै देशका विभिन्न स्थान र छिमेकी भारतमा पनि निर्यात भइरहेको छ।
    कुनै बेला बारा र भारतका विभिन्न स्थानबाट माछा आयात हुने पर्सामा अहिले उत्पादन बढेपछि निर्यात हुन थालेको हो।
    भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका कार्यालय प्रमुख सहमत राम मौर्यले पर्सा जिल्लामा ५७१.०७ हेक्टर जलाशय क्षेत्र रहेको र त्यसमध्ये ४२१.७१ हेक्टर पोखरीमा माछाखेती भइरहेको बताए।
    यसको अलावा पर्सा जिल्लामा ससाना जलाशय, तालतलैयाको सङ्ख्या १५० रहेको छ। प्रमुख मौर्याले पर्सा जिल्लामा १५२० वटा पोखरी रहेको र माछा उत्पादनमा १३६० जना किसान सक्रिय रहेको बताए।
    यसैगरी, पर्सामा निजीस्तरको २० वटा मत्स्य नर्सरी र ६ वटा भुरा उत्पादन  भइरहेको उनले बताए। उनले अहिले एउटा भुरा उत्पादन केन्द्र निर्माणाधीन अवस्थामा रहेको जानकारी गराएका छन्। पर्सा जिल्लामा भुरा उत्पादन र बिक्री गर्ने १५ वटा समूह रहेको उनले बताए।
    जिल्लामा ३१४४.३५ मेट्रिक टन खान योग्य माछा उत्पादन भइरहेको उनले बताएका छन्।
    पर्सा जिल्लामा प्रतिव्यक्ति वार्षिक ३ किलो माछा खपत हुने गरेको प्रमुख मौर्यले बताए।
    सोही कार्यालयका सहायक राजेश्वर कुशवाहाले जिल्लामा उत्पादित माछा राजधानीलगायतका ठाउँमा अक्सिजन राखेर जिउँदो पठाइरहेको बताए। उनले  भारतको रक्सौल, गोनाही, भेलाहीसम्म किसानहरू माछा पठाइरहेको बताए।
    पर्सागढी माछा ब्लकका अध्यक्ष्F सइम अन्सारीले पोखरी खनेर माछा उत्पादन गर्दा सरकारले पनि सहयोग गरेको र उत्पादनबाट मनग्य आम्दानी भइरहेको कारण माछाखेतीतर्फ कृषकहरूको आकर्षण बढेको बताए। उनले माछापालनको लागि सरकारले पानी तान्ने मोटर खरीदमा ५० प्रतिशत अनुदान दिने गरेको, पोखरी खन्दा नयाँ पोखरीलाई प्रतिकट्ठा १० हजार रुपैयाँ अनुदान सहयोग र पोखरी मरम्मतको लागि बेलाबेलामा सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराएका छन्। पर्सागढी–४ मा माछा उत्पादन गर्दै आएका किसान मनिब अन्सारीले धान, गहँु, मकै खेतीभन्दा माछाखेतीबाट मनग्य आम्दानी भइरहेको बताए। उनले धान, गहँु, मकै बाली लगाउँदा बिक्रीको समस्या हुने गरेको तर माछापोखरीमा माछा खरीदकर्ताहरू नै पुग्ने गरेको बताए। उनले थोरै लगानीमा माछाखेतीबाट राम्रो आम्दानी भइरहेकोले किसानहरू यसतर्फ आकर्षित भएको पनि बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्