छठ पर्व ः सूर्य जस्तै सर्वमुखी हुनुपर्छ

156

राजेश मिश्र

“काँच हीं बाँस के बहङ्गीया,
बहङ्गी लचकत जाए।
तुँत आन्हर होइबे रे बटोहिया,
बहङ्गी छठी मैया के जाए।”

मधेसमा छठ पर्व सबैभन्दा ठूलो चाडको रूपमा मनाइन्छ। छठ पर्वको झल्को दिने थुप्रै लोकगीत छन्। पारम्परिक लोकगीतहरूको धुनले छठ पर्वको पावन उत्सवमा थप उत्साह प्रदान गर्दछ। गाउँदेहातदेखि शहरबजारहरू छठ पर्वको अवसरमा सङ्गीतमय धुनले गुञ्जायमान हुन्छन्। कात्तिक महीनामा मनाइने छठ पर्वको हर्षोल्लास मधेसमा मात्र होइन, यो पर्वको आस्थासँग लयबद्ध रहेका मानिस संसारका जुनसुकै देशमा रहे पनि आफ्नो संस्कृतिसँग कटिबद्ध रहेको पाइन्छन्। वर्तमान समयमा छठ पर्व नेपाल र भारतमा मात्र सीमित रहेन। अपितु संसारका विभिन्न मुलुकमा बसोबास गरिरहेका हिन्दू धर्मावलम्बीहरूले यथास्थानमा मनाउने गरेको पाइन्छ। अन्य समुदायको समेत अन्तरङ्ग सहभागिताले सामाजिक सद्भावको सवालमा छठ पर्वको महत्तालाई थप उर्जनशील बनाउँँछ।

छठ पर्व नेपालको तराई क्षेत्र र भारतको उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा छठी माताको पूजा अर्चना गरी सन्तान, पति, परिवारका साथै संसारका समस्त प्राणीको सुख शान्तिको कामना गर्ने गरिन्छ। हिन्दूहरूले मनाउने यस पर्वको आस्थासँग जोडिएर अन्य समुदायले समेत श्रद्धा एवं भक्तिपूर्वक छठव्रत गर्ने गरेको पाइन्छ। कात्तिक शुक्लपक्ष चतुर्थी तिथिको दिनदेखि नहाए–खाएसँगै छठ पर्वको आरम्भ हुन्छ। पञ्चमी तिथि ‘रसियाव रोटी’को दिन हो भने षष्ठी तिथिको दिन अर्थात् सँझियाघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ तथा सप्तमी तिथिको बिहानपख उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको समापन हुन्छ।

सृष्टिको सुरुआतदेखि नै सूर्यको उपासना गरिंदै आइरहेको मान्यता छ। अग्नि पुराणमा पनि छठ (षष्ठी) व्रतको प्रसङ्ग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवासमा बसेका बेला कुन्ती र द्रौपदीसहित पाण्डवले छठव्रत गरेको वर्णन महाभारतमा पाइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको हिन्दू ग्रन्थहरूमा उल्लेख छ। कात्तिक महीनामा मनाइने छठलाई ‘ठूलो छठ’ भनिन्छ भने चैतको षष्ठी तिथिमा मनाइने यो पर्वलाई ‘सानो छठ’ भनिए पनि हालको दिनमा व्रत बस्ने बर्तालुहरूको सङ्ख्या र उत्साह बढ्दो छ ।
शुद्धाशुद्धि र सरसफाइको धेरै विचार गर्नुपर्ने भएकाले कहींकतै अशुद्ध नहोस् भन्नेमा बर्तालुहरू सजग रहन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले मनमा चिताएको कुरा पूरा हुने जनविश्वास छ। त्यस कारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले बर्तालुहरूले मात्र नभई सम्पूर्ण परिवारजनले नै शुद्धाशुद्धिको नियमलाई कडाइका साथ पालना गर्नुपर्ने हुन्छ।

छठ पूजामा आवश्यक पर्नेे पूजन सामग्रीहरूमा प्रायः सबैथोक कृषि उपज नै प्रयोग गरिने हुनाले यो पर्व प्रकृतिउन्मुख पनि छ। उखु, केराउ, सुथनी, सिंघडा, बयर, अदुवा, कागती, साठीको चामल, फलफूल, नरिवल, आर्ताको पत्ता, माटोको दियो, बत्ती, घ्यू, तेल, बाँसको दौरा र सुपुली आदि। छठ पर्वको लागि बनाइने प्रसादलगायतका सामग्री पकाउनको लागि छठअगावै माटोको चुलो निर्माण गरिन्छ। चुलो निर्माणको लागि माटो ल्याउन जाँदा महिलाहरू समूहमा गीत गाउँदै जाने र फर्किने चलन छ। पर्वको आरम्भदेखि अन्त्यसम्म नयाँ चुलोमा मात्र पकाएको परिकार बर्तालुहरू ग्रहण गर्दछन्। शुद्ध घ्यूमा गहुँको पीठोबाट पकाइएको ‘ठेकुवा’ छठ पर्वको विशेष प्रसाद हो।

छठी माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यो व्रत गर्नाले रोगव्याधि निको हुने पनि विश्वास गरिन्छ । ससाना बच्चाहरूको पहिलोपटक कपाल छिल्ने काम पनि छठघाटमा हुने गर्दछ। कतिपय भक्तजन घरबाट साँझ वा बिहान घर्सिं्रदै छठघाटसम्म जान्छन् र नदी वा पोखरीमा स्नान गरी भाकल पूरा गर्दछन्।

पहिलो दिन ः नहाए–खाए (प्रारम्भ)
कार्तिक शुक्लपक्ष चतुर्थीका दिनदेखि छठ प्रारम्भ हुन्छ। छठव्रतको सुरुआत मानिने यस दिनलाई ‘नहाए–खाए’ भनिन्छ । बिहान सबेरै उठेर हातखुट्टाको नङ काट्ने र नजीकको खोला वा पोखरी वा घरमा नुहाइधुवाइ गरी सफा कपडा लगाएर कुलदेवता र मन्दिरमा पूजाआजा गरी शुद्ध भोजन गरिन्छ। प्रायः यस दिन लौकाको तरकारी, रहरको दाल र भात/रोटी बिहान र बेलुकी गरी दुई छाक मात्र खाइन्छ। परिकार बनाउनको लागि माटोको नयाँ चुलो प्रयोग गरिन्छ ।

दोस्रो दिन ः रसियाव रोटी
विधिवतरूपमा शुरू भएको छठव्रतको दोस्रो दिनलाई ‘रसियाव रोटी’ वा ‘खर्ना’ भनिन्छ। यस दिन शुरूको दिनझैं नुहाएर चोखो भइन्छ। पूजाआजा गरिन्छ। दिनभरि निराहार बसिन्छ। साँझपख बर्तालुहरू ‘रसियाव’ र ‘रोटी’ खान्छन्। पारम्परिक ‘रसियाव’ भनेको चामल, गुड (मी र दूधको मिश्रणले बनेको पकवान हो। पारिवारिक परम्परा अनुसार धेरैजसो बर्तालु खीर र शुद्ध घ्यूमा पकाएको पुडी ग्रहण गर्ने गरेको पनि पाइन्छ। चिनी प्रयोग गरेर बनाइएको पकवान ‘रसियाव’ नभई ‘खीर’ हो। वैज्ञानिक मान्यता अनुसार पाचन प्रक्रियामा चिनीभन्दा गुड शरीरको लागि फाइदाजनक भएकोले छठव्रतमा परम्परादेखि नै चलिआएको गुड मिश्रित ‘रसियाव’को प्रचलन हुन सक्ने एकथरीको तर्क हो भने प्राचीनकालमा चिनी अस्तित्वमा थिएन, त्यस कारण गुडको प्रयोग हुँदै आएको अर्कोथरीले तर्क गर्छन् ।

तेस्रो दिन ः सँझियाघाट
छठव्रतको तेस्रो दिन अर्थात् छठीमाताको पूजाको दिन हो। यस दिन बर्तालुहरू निराहार बस्छन्। आजको दिन ‘ठेकुवा’ पकाइन्छ। ‘अघ्र्य’को लागि भने पीठो र गुडको ठेकुवा शुद्ध घ्यूमा पकाइन्छ । आजको दिन बर्तालुलगायत परिवारका सदस्यहरूलाई सँझियाघाटको तयारीको लागि भ्याइनभ्याइ हुन्छ। युवाहरूको जमात भने छठघाटको शृङ्गारमा व्यस्त हुन्छन्। दिउँसो नजीकैको पोखरी, तलाउ वा कुवा जस्ता जलाशयको किनारमा सजाइएको छठघाटमा बर्तालुहरू आउने क्रम शुरू हुन्छ। पण्डालको बीच भागमा छठीमाताको मूर्ति हुन्छ, जसलाई स्थानीय भाषामा ‘सिरसोता’ भनिन्छ। सिरसोताको चारैतिर बर्तालुहरू बस्छन् र छठीमाताको पूजा शुरू हुन्छ। बर्तालुहरू आआफ्नोअगाडि बाँसबाट निर्मित दौरा राख्छन्, जोे पूजन सामग्रीले भरिएको हुन्छ। बाँसबाट निर्मित दौरा र सुपुलीको ठाउँ हालका दिनहरूमा पीतलले लिन थालेको छ। बेहुलीझंै शृङ्गारिएको पूजनस्थलमा बर्तालुहरूको विभिन्न लोकगीतको सुमधुर स्वर गुञ्जायमान हुन्छ। सँझियाघाटबाट फर्केपछि भाकल गरेका बर्तालुहरूको घरघरमा ‘कोशी’ भराइको काम हुन्छ। तदोपरान्त सोही कोशीलाई मध्यरात्रिको समय छठघाटमा पनि कोशी भर्नुपर्छ। बच्चादेखि वृद्धसम्म नयाँ–नयाँ लुगा लगाएर छठघाटमा आउँछन्। आफन्तजन तथा इष्टमित्रहरूको मिलन पनि यस अवसरमा हुने गर्दछ।

चौथो दिन ः बिहनियाघाट (समापन)
आजको दिन अर्थात् अन्तिम दिन उदाउँदो सूर्यलाई पूजाआजा गरिन्छ। अघ्र्य दिइन्छ। एकाबिहानीको सूर्यको न्यानो किरणसँगै बर्तालुहरूले सूर्यलाई अघ्र्य अर्पण गर्दछन्। पालैपालो ठेकुवा, फलफूललगायतका प्रसादहरू अर्पण गर्दछन्। त्यसपछि घरमा गई छठपूजाको प्रसाद ग्रहण गरी ‘पारण’ गर्दछन्। पारणमा दाल, भात, तरकारी, पकौडा, पापडलगायतका भोजन गरिन्छ। आजको दिन माइतबाट चेलीबेटीकहाँ ठेकुवा, चिउरा र मिठाइ आदि ‘बाएन’ (कोसेली) पठाउने चलन सदियौंदेखि निरन्तर छ।

स्थानीय सरकारको दायित्व
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ को वडासमितिको काम, कर्तव्य र अधिकार अन्तर्गत उपदफा २ को (ग)को (१७) बमोजिम स्थानीय समुदायका चाडपर्व, भाषा, संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने उल्लेख छ। तसर्थ चाडपर्व र लोकसंस्कृतिको जगेर्नाहेतु स्थानीय तहहरूको कर्तव्यमुखी उत्तरदायित्व अपेक्षित छ।

छठ पर्वको मूलभूत सन्देश
सूर्यले जगत्का समस्त प्राणीलाई समानरूपमा प्रकाश दिन्छ। तसर्थ राज्यको अभिभारा बोकेका ओहोदाधारीहरू पनि समाजको लागि सूर्य जस्तै सर्वमुखी हुनुपर्छ भन्ने छठ पर्वको मूलभूत सन्देश हो। सम्पूर्ण प्राणीलाई विनाकुनै भेदभाद समान शक्ति, ताप र किरण प्रदान गर्ने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा, प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ। पारिवारिक र सामाजिक जमघटको सङ्गम मात्र होइन छठ पर्वले सामाजिक एकता र जनसरोकारप्रति उत्तरदायित्व बोध हुनुपर्छ भन्ने सङ्केत गर्दछ। शीर्षस्थदेखि भुइँ तहसम्म एकै थलोमा जम्मा भएर पूजा गर्ने मधेसको प्राचीन परम्परा र संस्कृतिको मूलभूत उद्देश्य जनमनमा प्रवाहित भएमात्र छठपूजाको उपलब्धि सार्थक सिद्ध हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्