किसान सधैं निराश

0
60

कृषिप्रधान देश नेपालका किसानहरू सधैं निराश छन्। बाली लगाउने बेलादेखि उत्पादन भि–याइसक्दासम्म पनि सन्तुष्ट हुने ठाउँ छैन। बाली लगाउन जमीन जोतखन गर्ने बेला इन्धनको अभाव हुन्छ। यस वर्ष पर्साका किसानहरूले दोब्बर बढी मूल्य तिर्दा पनि घण्टौं लाइनमा बसेर डिजेल लिनुपरेको थियो। ग्रामीण क्षेत्रका किसानहरू टाढाको पेट्रोलपम्पसम्म पुग्दा लकडाउनको निहुँमा धेरैले प्रहरीको सास्ती खेपे, तर पनि चाहे जति इन्धन पाउन सकेनन्। इन्धनको अभावले समयमा खेत जोत्न सकिएन। बाली लगाउने बेला जहिले उन्नत बीउको अभाव हुन्छ। बालीमा बीउको समस्या यहाँ नौलो होइन। ठाउँ अनुसार सरकारले सिफारिश गरेको उन्नत जातको बीउ नपाएकै कारण मकैको घोगामा दाना नलाग्ने, धानको बालामा भुस मात्रै हुनेलगायतका समस्या वर्षौंदेखि किसानले झेल्दै आएका छन्। जेनतेन बाली लगाए पनि चाहिएको बेला मल अभाव भइदिन्छ। बिरुवाले मागेको बेला उपयुक्त मल दिन नसके किसानको मेहनत खेर जान्छ। त्यसैगरी, बालीमा कुनै रोग लाग्दा निश्शुल्क औषधिको त कुरा छाडौं, दक्ष परामर्शदाताको समेत व्यवस्था छैन। सबै समस्या पार गरेर बाली उत्पादन भएपछि भने उत्पादनको मूल्य घटेको हुन्छ।

वास्तवमा नेपाली किसानको जस्तो नियति विश्वका अन्य मुलुकमा किसानले शायदै भोगेका होलान्। उन्नत बीउबिजन, मलखाद, प्राविधिक सहयोग, सिंचाइका लागि सहुलियत बिजुली तथा इन्धन, कृषि अनुदान साथै सहुलियत कर्जा, बाली बीमा, बाली संरक्षण र उत्पादनको बजार व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी हो। जमीन उपलब्धता, श्रम लगानी र बालीलाई आवश्यक सामग्री तथा वातावरणको सही संयोजन गर्ने दायित्व मात्रै कृषकको हो। सोबापत उसले आएको फाइदा उपयोग गर्ने हो। हाम्रो मुलुकमा त किसानले फाइदा होइन कि धान रोप्नेदेखि बाली काटेर बिक्री गर्दासम्म घाटा बेहोरिरहेको हुन्छ। केही बाली छन्, जुन अनुकूल मौसम भइदियो भने भगवान् भरोसे राम्रो उत्पादन दिन्छ। त्यही बालीले साँवा उठाउने आसमा किसान निरन्तर लागिरहेका हुन्छन्। जस्तै मकै, दलहन र तेलहन बाली। कुनै बेला ती बालीले पनि केही कारणवश उत्पादन दिएन भने फेरि अर्को वर्ष पर्खनुको विकल्प किसानसँग हुँदैन। यो क्रम कुम्हालेको चक्र जस्तै सधैं घुमिरहेको हुन्छ।

चामल, पीठो, दाल, हरियो तरकारी, दूध, मासुसमेत हाम्रो मुलुकमा बाहिरबाट आयात हुन्छ। यसबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिरहेको छ। मुलुकको जनसङ्ख्या र उपलब्ध कृषियोग्य भूमि साथै कृषिमा सक्रिय जनशक्तिको आधारमा हेर्दा बाहिरबाट आयात गर्ने होइन कि हामीले कृषि उत्पादन बाहिर पठाउन सक्नुपर्ने हो। यसो हुन नसक्नुको कारण स्पष्ट छ, हामीले कृषिउपज आयात गरिरहेका मुलुकहरूका सरकारले कृषि क्षेत्रप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। सरकारले जिम्मेवारी पूरा गरेका कारण त्यहाँका कृषकहरू पनि आफ्नो दायित्वबाट विमुख हुन पाएका छैनन्। दैनिक उपभोग्य कृषिउपजमा मात्रै आत्मनिर्भर हुन सक्यौं भने पनि हाम्रो मुलुकले विश्वका सामु शिर ठाडो पार्न सक्ने अवस्था छ । त्यसको निम्ति सरकार सञ्चालकहरूको सोच कृषि क्षेत्रप्रति सकारात्मक हुनुपर्छ। तर यो मुलुकमा किसानकै छोरा सत्तामा पुगे पनि घुम्ने कुर्सीमाथि बसेपछि अन्धो भइदिने परम्परा छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्