कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन बन्द, समुदायस्तरमा फेरि सङ्क्रमण फैलने जोखिम

0
37

प्रस, वीरगंज, २० कात्तिक/
    बितेको असार–साउनमा कोरोनाको हटस्पट बनेको वीरगंजमा अहिले कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब नमूना सङ्कलन कार्य बन्द गरिएको छ।
    वीरगंज महानगरपालिकाले गत बुधवारदेखि सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्य बन्द गरेको हो। सङ्घीय सरकारले कोरोनाको परीक्षण र उपचारबापतको शुल्क सम्बन्धित व्यक्ति आफैंले तिरेर गर्नुपर्ने निर्णय गरेपछि महानगरपालिकाले पनि कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्य बन्द गरेको हो।
    सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक २ गते देशभरिका सरकारी अस्पताल र प्रयोशगालालाई पठाएको पत्रमा आर्थिकरूपमा विपन्न, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, सफाइकर्मी र सुरक्षाकर्मीको मात्रै लक्षण देखिएमा परीक्षण र उपचार निश्शुल्क गरिने उल्लेख छ।
    यीबाहेक अन्यले परीक्षण र उपचार खर्च सम्बन्धित व्यक्ति आफैंले बेहोर्नुपर्नेछ। तर मन्त्रालयको पत्रमा सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन रोक्नु भन्ने कुरा उल्लेख छैन।
    सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित पालिकाको हो।   
    यसअघि महानगरमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खट्दै आएका २१ जना स्वास्थ्यकर्मीलाई महानगरपालिकाको स्वास्थ्य महाशाखाले बुधवारदेखि नै पहिले कार्यरत स्वास्थ्य संस्थामा पठाइसकेको छ।
    सरकारले नै शुल्क लाग्ने निर्णय गरेपछि महानगरमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन दुवै कार्य बन्द गरिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख अरुणकुमार महतोले बताए।
    मन्त्रालयबाट आएको निर्देशनसहितको पत्रबारे नारायणी अस्पतालले महानगरपालिकामा जानकारी गराएपछि महानगरमा बुधवारदेखि कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्य बन्द गरिएको प्रमुख महतोको भनाइ छ।  सरकारी परिपत्र अनुसार नारायणी अस्पतालले पनि निश्शुल्क स्वाब परीक्षण नगर्ने जानकारी गराएको उनले बताए। “हामीले स्वाब सङ्कलन गरेर अस्पतालको प्रयोगशालामा पठाउँदा अस्पतालले प्रतिस्वाबको दुई हजार रुपैयाँ बिल काट्नुपर्छ भन्यो, नत्र परीक्षण हँुदैन भन्ने जवाफ दियो, त्यसपछि महानगरपालिकाले बाध्य भएर यो निर्णय गर्नुपरेको हो,” स्वास्थ्य महाशाखा प्रमुख महतोले बताए।
    वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले पनि गत बुधवारदेखि कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन बन्द गरिएको पुष्टि गरेका छन्। सरकारको निर्देशनसहित आएको पत्रबारे नारायणी अस्पतालले जानकारी गराएपछि यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन बन्द गरिएको नगरप्रमुख सरावगीले बताए।
    “यस विषयमा प्रजिअसँग पनि छलफल ग–यौं, उहाँले पनि बन्द गरिदिनुस् भन्नुभयो, त्यसपछि बन्द गरिएको हो। तर आर्थिकरूपमा विपन्न, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, सफाइकर्मीको हकमा भने कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन बन्द गरिएको छैन,” नगरप्रमुख सरावगीको भनाइ थियो।
    पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ भने कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्य बन्द नै गर्न आफूले महानगरलाइ नभनेको बताउँछन्। “बन्द नै गर्नुपर्छ भनेर मैले भनेकै होइन, यहाँ अरूलाई दोष देखाउन सजिलो हुन्छ, सरकारको पछिल्लो निर्णयबारे के गर्ने विषयमा नगरप्रमुखसँग छलफल मात्रै भएको हो,” प्रजिअ तामाङले बताए।
    मन्त्रालयले पठाएको पत्रमा परीक्षण र उपचार मात्रै अब निश्शुल्क नहुने उल्लेख रहेको तर सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलनको विषयमा सरकारको कुनै निर्देशन नआएको पनि उनले बताए।
    कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्य स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित पालिकाले नै गर्नुपर्ने हुँदा त्यो व्यवस्थित गर्नुपर्ने तर बन्द गर्न नमिल्ने प्रजिअले प्रस्ट्याए।
    यस सम्बन्धमा स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले मन्त्रालयले परीक्षण र उपचारका विषयमा अस्पताल र प्रयोगशालालाई मात्रै परिपत्र गरेको तर पालिकाहरूलाई भने कुनै निर्देशन नदिएको अवस्थामा पालिकाहरू आफ्नो नागरिकमाथिको दायित्वबाट पछि हट्न नमिल्ने बताए।
    पर्साका १४ वटा पालिकामध्ये अन्य १३ वटा पालिकामा कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्य भइरहेको छ। सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन बन्द हँुदा यसले सङ्क्रमण झन् फैलने जोखिम बढेको महानगरवासीको गुनासो छ।
    अहिले फेला परिरहेका सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ नै गरिएन भने अरू कतिजनामा सङ्क्रमण फैलियो सो पत्तै लाग्दैन, जसका कारण महानगरमा सङ्क्रमणको जोखिम झन् बढ्ने देखिन्छ। नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन बन्द गरिंदा महानगरमा फेरि असार–साउनकै जस्तै सङ्क्रमण तीव्र गतिमा फैलने जोखिम देखिएको बताए।
    वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कात्तिक १८ गतेसम्म वीरगंज महानगरका मात्रै ६ हजारजनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा २ हजार ६३ जनामा सङ्क्रमण भेटिएको थियो। जसमध्ये अहिले होम आइसोलेशनमा ५३ जना मात्रै रहेको र अरूले कोरोनालाई जितेर सङ्क्रमणमुक्त भइसकेका महानगर स्वास्थ्य शाखाका प्रतिनिधि जहिर अन्सारीले जानकारी दिए।

रौतहटमा फेरि २५ दिने निषेधाज्ञा
प्रस, रौतहट, २१ कात्तिक/

    जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रवार कात्तिक २१ गते राति १२ बजेदेखि मङ्सिर १७ गते राति १२ बजेसम्म २५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ।
    जिल्लामा हालसम्म १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको र १७४ जना सक्रिय सङ्क्रमित रहेकाले समुदायस्तरमा कोरोना नफैलोस् भनी २५ दिने निषेधाज्ञा जारी गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
    दीपावली, छठ मनाउने क्रममा तथा वाग्मती नदीमा पूर्णिमा स्नान गर्न भक्तजनहरूको भीडभाड हुने भएकोले कोरोना सङ्क्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवले बताए। जिप्रका रौतहटले विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा खेलतमाशा, नाचगान, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, विभिन्न धार्मिकस्थलमा पूजापाठलगायतका धार्मिक गतिविधि नगर्न आग्रह गरेको छ। प्रशासनले सिनेमाघर, सैलुन, होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायत सञ्चालनमा पुनः निषेध लगाएको छ।
    जिप्रका रौतहटले जारी गरेको विज्ञप्तिमा चाडपर्व घरमैं बसेर सबै किसिमको स्वास्थ्य मापदण्ड अपनाइ मनाउन पनि आग्रह गरेको छ। निषेधाज्ञाको बर्खिलाप हुने कामकारबाईविरुद्ध कानून अनुसारको दण्ड जरिवाना हुने बताइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्