अन्तरभाषिक संवादको आवश्यकता र महत्व

0
31

सञ्जय मित्र
हरेक व्यक्ति आफैंमा सबैभन्दा पृथक हुन्छ। यति हुँदाहुँदै पनि हरेक मानिसका बीच धेरै किसिमका समानता रहेका छन्। यसको अर्थ यो पनि हो कि हरेक मानिसका धेरै कुरामा समानता पनि हुन्छन्। फेरि पनि, मानिस र मानिसका बीचमा जति धेरै समानता भएपनि हरेक मानिस पृथक नै हुन्। मानिस बाह्य वातावरणमा मात्र पृथक होइन, अभ्यन्तर र चिन्तन वा मनोविज्ञानसमेतले पनि मानिस पृथक हुन्। यही पार्थक्य मानिसको मौलिक सम्पत्ति हो, विशिष्टता हो। मानिसको विशिष्टताले नै उसलाई सबैमाझ चिनाएको हुन्छ। यसैले के पनि भनिन्छ भने जो जति धेरै चिनिन्छ, उसमा उति धेरै विशिष्टता हुन्छन्। कसैको विशिष्टताले उसलाई चिनाइरहने हुन्छ। वास्तवमा मानिसलाई उसको विशिष्टतालाई त्यतिखेर अरूले चिन्दछन्, जतिखेर उसले आफैंले चिन्दछ। आफैंले आफ्नो विशिष्टता वा आफूभित्रको पहिचानलाई बाहिर ल्याउन थाल्दछ, उसलाई अरूले बिस्तारै चिन्न थाल्दछ। उसले जति धेरै आफूमा निखार ल्याउँछ, उति धेरै मानिसले उसलाई चिन्ने हुन्छ । मानिसलाई अरूभन्दा पृथक बनाउने वा पृथक साबित गराउने प्रतिभालाई चिनेर अगाडि ल्याउने वातावरण बनाउन आफूले पनि भूमिका खेल्नुपर्ने हुन्छ। आफू केमा वा के के कुरामा अरूभन्दा पृथक छु भन्ने कुरामा अरूको व्यवहार हेरी र आफ्नो जीवनमा प्रयोग गरी बुझ्न सक्छ।

हरेक मानिसको आवाज नै फरक हुन्छ। यही आवाजले गर्दा पनि मानिस चिनिन्छ। सम्भवतः हरेक मानिसलाई आफ्नो बोली कुनै अन्य माध्यम वा साधनबाट सुन्दा र आफैंले बोलेको बेलामा आफ्नो कानबाट सुन्दा आफैंलाई फरक लाग्न सक्छ। यसरी हरेक मानिसको बोलीमा आएको भिन्नतालाई व्यक्ति बोली वा व्यक्ति भाषा भनिएको पाइन्छ भने व्यक्ति बोलीभन्दा ठूलो उपभाषिका हुन्छ, उपभाषिकाभन्दा ठूलो भाषिका र भाषिकाहरूको समूह भाषा हुन्छ। भाषाहरूको समूह त मानिंदैन तर भाषाहरूमा पाइने साझा विशेषताहरूको आधारसमेतलाई लिएर उत्पत्ति केलाई भाषा परिवार मान्ने चलन रहेको छ। यस अर्थमा भाषाहरूको समूह भाषा परिवार हो। एउटै भाषा परिवारका सबै भाषालाई कोही एक वा केही वक्ताले बोल्न वा बुझ्न सक्छन् भन्ने होइन। यदि कुनै एक भाषाको वक्ताको भूगोल ठूलो छ भने एका छेउका वक्ताहरूले अर्को छेउका वक्ताहरूको कुरा नबुझ्न वा कम बुझ्न वा पूरै बुझ्न पनि सक्छन्। समृद्धोन्मुख भाषामा पनि यस किसिमको आन्तरिक पृथकपन भाषिकाले गर्दा पाइन्छ भने पहिचान बनाउन लागेको वा पहिचान नै हुन नसकेको भाषामा पनि यस प्रकारको समस्या पाइन्छ।

भाषाको अन्तर्घुलन भइरहन्छ। कतिपय भाषाको जन्म दुई भाषाको अन्तर्घुलनबाट पनि हुन्छ। यसरी अन्तर्घुलनले भाषा लोप हुने समस्या पनि रहन्छ। वर्तमान विश्वमा भाषा लोप हुने समस्या र पहिचानको समस्याका साथै भाषाको अस्तित्व रक्षाको समस्या पनि रहेको पाइन्छ। नेपालमैं नेपाली भाषा अहिले समृद्ध भइसकेको छ भने तुलनात्मकरूपमा मैथिली र नेवारी भाषा अन्य भाषाको तुलनामा केही बढी विकसित भएको देखिए तापनि नेपाली भाषाको तुलनामा अझै निकै पछाडि रहेका छन्। देशका अन्य भाषामा साहित्यको विकासको अवस्था निकै कमजोर रहेको पाइएको छ। नेपालीबाहेकका भाषामध्ये अधिकांश भाषाको अवस्था केही हदसम्म यो पनि रहेको छ कि मातृभाषाका सर्जकले आफ्नो पहिचान बनाउन नेपाली भाषामा पनि सिर्जना गर्नुपर्दछ। अन्य मातृभाषाका वक्ता वा सर्जकले आफ्नो मातृभाषाको बारेमा केही लेख्दा वा औपचारिक कार्यक्रममा मन्तव्य राख्दा धेरैजनाले बुझून् भनेर नेपाली भाषाको सहारा लिनुपर्ने अवस्था अहिलेसम्म विद्यमान छ। यसरी हेर्दा नेपाली भाषा पनि अन्य भाषाको विकासको माध्यमको रूपमा विकास भएको छ भने नेपाली भाषालाई अझ विकसित वा विस्तार बनाउन अन्य मातृभाषाको पनि योगदान रहेको स्पष्ट हुन्छ।

नेपालमा बोलिने मातृभाषाहरूको नेपाली भाषासित जति धेरै संवाद हुन्छ, उति धेरै संवाद अन्य भाषासित हुँदैन। पहिले नेपाल प्रज्ञा प्रतिष्ठान मात्र देशको भाषा, साहित्य, कला, संस्कृति वा सम्पूर्ण वाङ्मयको प्रतिनिधि संस्था थियो। यो संस्था अहिले पनि सक्रिय रहेको छ। देशमा भाषा आयोग पनि थपिएको छ। भाषा आयोगले यसैगरी पछाडि परेका भाषाहरूको संरक्षण र संवद्र्धनमा काम गर्ने गरेको छ। अब देशको कुनै पनि भाषा लोप हुनबाट जोगिन्छ भन्ने विश्वास बिस्तारै बढ्दै गएको छ। भाषा आयोगले कम समयमा नै केही महत्वपूर्ण कामहरू गरिसकेको छ तर अझै धेरै काम गर्नुपर्ने देखिन्छ। भाषाको क्षेत्रमा दुईवटा ठूला संस्था कार्यरत रहेका भएपनि मातृभाषाहरूबीच संवादको थालनी हुन सकेको छैन। अबको समयमा मातृभाषाहरूबीच पनि संवादको थालनी हुनुपर्ने देखिन्छ।

नेपाली भाषा र नेपाली भाषाको साहित्यलाई समृद्ध बनाउन गैरनेपाली मातृभाषी वक्ता तथा सर्जकको पनि योगदान रहेझैं अबको समयमा कुनै एक मातृभाषीले आफ्नो मातृभाषाका साथै छिमेकी मातृभाषा वा बोल्न तथा लेख्नलाई सजिलो हुने अर्को कुनै एक भाषामा पनि आफ्नो सिर्जनाको आयामलाई विस्तार गर्नुपरेको छ। नेपाली भाषाको कुशल वक्ता हुनुपरेको छ नै, साथमा मातृभाषाबाहेक अर्को कुनै एक भाषाको पनि कुशल वक्ता हुनु अहिलेको बहुभाषिकताको सम्मान गर्नु तथा बहुभाषिकतामा आफ्नो पहिचान विस्तार गर्नुपरेको छ। विशिष्ट वक्ता, विशिष्ट सर्जक तथा प्रतिष्ठित व्यक्तित्वहरूबाट यस किसिमको थालनी हुन सक्यो भने नेपाली भाषासँगै अन्य भाषाहरूको पनि सम्मान हुने र मातृभाषाको पनि साहित्यको विकास र विस्तारमा सहयोग पुग्ने देखिन्छ।

अहिले केही मातृभाषाका सर्जकले अर्को मातृभाषाका सर्जकलाई नै नकारात्मक दृष्टिले लिएको पाइएको छ । प्राज्ञिक क्षेत्रमा यस प्रकारको सोचाइ हुनु राम्रो होइन। भाषाको लडाइँ वा भाषाको अस्तित्वको लडाइँ एउटा छुटै मोर्चा हो । अमेरिकामा रहेका केही सर्जकहरूले तराई–मधेसका भाषाहरूको बारेमा राम्रोसँग विचार गरिरहेका छन्। एक सर्जकले के पनि विचार व्यक्त गरे भने वर्तमान अवस्थामा नेपाली भाषामाथि खतरा रहेको छ। अङ्ग्रेजी भाषाप्रति अत्यन्तै मोह छ र अधिकांशले आफ्ना छोराछोरीले नेपाली नबोलेर अङ्ग्रेजी मात्र बोल्दा खुशी व्यक्त गर्ने गरेका छन् । यसले गर्दा नेपाली भाषाको पनि संरक्षण गर्नु आवश्यक रहेको छ। नेपालमा पनि नेपाली भाषाको अगाडि अन्य मातृभाषीको अवस्था उस्तै छ। अन्य मातृभाषी व्यक्तिले आफ्ना सन्तानले आफ्नो मातृभाषा नबोलेर नेपाली वा अङ्ग्रेजी मात्र बोल्दा गर्व गर्ने गरेको स्थिति रहेको अवस्थालाई विश्लेषण गर्दै अमेरिकी स्रष्टा साँझ नामको उक्त संस्थाले नेपाली भाषाको विकाससँगै तराई–मधेसका भाषाको पनि विकास हुुनुपर्ने विचारलाई अगाडि सारेको छ।

अहिलेको समयमा आउँदा पुस्ताका लागि भाषा सुरक्षित राख्ने चिन्ता बढ्दै जाँदा नजीकका दुई भाषाका बीचमा अन्तरसंवादको महत्व बढाएको छ। यसका लागि एक मातृभाषाका उत्कृष्ट साहित्यलाई अर्को मातृभाषामा पनि उल्था गर्नुपर्ने र अनुवाद साहित्यलाई विस्तार गर्नुपर्ने पनि हुन्छ। एउटा मातृभाषाबाट अर्को मातृभाषामा अनुवाद गर्दा सम्भव भएसम्म लेखक र अनुवादकबीच यस्तो संवाद होओस् कि दुई भाषाका लेखक नभई एक भावका सर्जक हुन्। दुवैले एकअर्काका मातृभाषामा मौलिक सिर्जना गर्न प्रेरित होऊन् र अरूलाई पनि प्रेरणा दिऊन्। यसले नयाँ सर्जकहरू आउने र सिर्जनाको विस्तार हुनुका साथै अनुवादित कृतिको बजार पनि विस्तार हुने सम्भावना रहन्छ। सबैभन्दा महत्वपूर्ण पक्ष त भाषाको जरो बलियो हुँदै जाने हुन्छ र भाषाको अस्तित्व पनि रक्षा हुने हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्