वीरगंज–पथलैया सडक अन्तिम म्यादमा पूरा नभए ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी

0
118

राधेश्याम पटेल, वीरगंज, १९ कात्तिक/
    ‘पप्पु कान्ट ड्यान्स सा…’ यो हिन्दी गीत एकताका खूब हिट भएको थियो। नेपालमा ‘पप्पु कान्ट मेक ब्रिज’ भनाइ सामाजिक सञ्जालमा कुनै बेला निकै चर्चित थियो। यस्तै अवस्थामा ‘पप्पु कान्ट मेक रोड टु’ भन्ने टुक्का पनि सुनिन थालिएको छ। पप्पु कन्स्ट्रक्शन वीरगंज, पर्साको निर्माण कम्पनी हो। पर्सा क्षेत्र नं ३ बाट समाजवादी पार्टीबाट गत संसदीय चुनावमा सङ्घीय सांसदमा निर्वाचित भएर हाल निलम्बित रहेका हरिनारायण रौनियारले सांसदको चुनाव लड्न आफ्नो छोरा सुमित रौनियारलाई  निर्माण कम्पनी जिम्मा लगाएका थिए। कम्पनीको काम गर्ने पारा राम्रो नहँुदा नेपालभरि अर्बौं रकमको बहुप्रतीक्षित योजनाहरूको ठेक्का सकार गरेर पप्पु कन्स्ट्रक्शनले लापरवाही गरिरहेको छ। त्यसैमध्ये एक हो, वीरगंज–पथलैया व्यापारिक मार्ग अन्तर्गतको ६ लेनको सडक विस्तार योजनाको काम। यो सडक विस्तारको काममा पप्पु कन्स्ट्रक्शनले दुर्ईवटा प्याकेज स्वयम् लिएर निर्माण कार्य जारी राखेको छ। तर कामको प्रगति कछुवाको तालमा घिस्रिइरहेको छ। सरकारबाट मोबिलाइजेशनबापत रकम लिने अनि काम छाडेर बेपत्ता हुने, पेटी कन्ट्राक्टरहरूको भुक्तानी नदिएर झुलाइराख्ने पप्पु कन्स्ट्रक्शनको चाला उही बेलादेखि अहिलेसम्म पनि उस्तै छ।
    यस सम्बन्धमा पप्पु कन्स्ट्रक्शनका प्रबन्ध निर्देशक सुमित रौनियारसँग बुझ्दा उनले कोरोना महामारीका कारण योजनामा ढिलाइ भए तापनि आगामी पुस मसान्तसम्म योजना पूरा गर्ने दाबी गरे।
    वीरगंज–पथलैया व्यापारिक मार्गमा लापरवाही गर्ने ठेकेदारलाई जरिवाना तिराइ ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी भइरहेको योजना कार्यालय पथलैयाका इन्जिनीयर विवेक झाले बताए। उनका अनुसार सडक र पुल निर्माण कार्य अन्तिम म्यादभित्र नसक्ने ठेकेदारलाई कुल ठेक्का रकमको १० प्रतिशत रकम जरिवाना ठोक्ने र त्यसपछिको दुई सय दिन अर्थात् साढे ६ महीनासम्म पनि काम नसिध्याउने ठेकेदार कम्पनीसँग ठेक्का करार तोडेर कालोसूचीमा राख्ने तयारी भइरहेको छ।
    वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत साढे २६ किलोमिटर लम्बाइको सडकमा ६ खण्डमा ६ वटा ठेक्का गरी करीब रु ४ अर्बको बजेटमा ६ लेनको सडक विस्तार कार्य भइरहेको छ। परवानीपुरदेखि गण्डक नहर जगरनाथपुरसम्म ठेक्का नं १ मा पप्पु कन्स्ट्रक्शनले, गण्डक नहरदेखि हरपतगंजसम्म ठेक्का नं २ मा बिरुवा जेभी, हरपतगंजदेखि आइसिपी चोक पद्मरोडसम्म पप्पु कन्स्ट्रक्शनले ठेक्का लिएको छ।
    त्यसैगरी, पथलैयादेखि सूर्य नेपाल सिमरासम्म ठेक्का नं ४ मा एएमआर कन्टेक, सूर्य नेपालदेखि गढीमाई मन्दिर (आर्मी ब्यारेक)सम्म ठेक्का नं ५ मा  युनाइटेड जेभी, आर्मी ब्यारेकदेखि परवानीपुरसम्म ठेक्का नं ६ मा एएमआर कन्टेकले ठेक्का लिएको छ। ठेक्का नं  १ को भौतिक प्रगति ५४ प्रतिशत, २ को ९० प्रतिशत, ३ को ४४ प्रतिशत, ४ को ९० प्रतिशत, ५ को ४० प्रतिशत र ६ को ७८ प्रतिशत रहेको छ। वीरगंज–परवानीपुर–सिमरा सडकखण्डको काम २०७३ असार २८ मा सम्झौता भई दुर्ई वर्षमा काम सम्पन्न गर्नुपर्नेमा काम पूरा नभएर तीनपटक म्याद थपेर ठेक्का नं १ र ३ को गत असोज २८ गतेसम्म अन्तिम म्याद थियो भने २,४,६ नम्बर ठेक्काको अन्तिम म्याद मङ्सिर २४ गतेसम्म छ। त्यसैगरी, ठेक्का नं ५ को अन्तिम म्याद आगामी माघ ५ गतेसम्म छ। निर्माण अवधिभन्दा पनि बढी समय अर्थात् साढे ४ वर्षमा पनि काम सम्पन्न नभएर सडक विभागले आवश्यक कारबाईको प्रक्रिया अगाडि बढाउन गइरहेको वीरगंज– पथलैया व्यापारिक मार्ग विस्तार योजनाका कार्यालय प्रमुख मनीषकुमार साहले जानकारी गराए। यो योजनाको सहायक ठेक्का अन्तर्गत परवानीपुर–गण्डक चार लेन सडक विस्तार योजना पनि सुस्त गतिमा अगाडि बढिरहेको छ। यो सडकको बजेट रु ४४ करोड रहेको छ भने काम गर्ने ठेकेदार कम्पनी दिवा–सपना जेभी हेटौंडा हो। यो सडक निर्माणको अन्तिम म्याद आगामी चैत ५ गतेसम्म रहेको छ। साढे ३ वर्षभन्दा बढी समय बित्दा पनि ४ किलोमिटर लम्बाइको यो सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन। शुरूमा दुर्ई वर्षको म्याद रहेको थियो। अर्थात् ७ खण्डको सडकको कामको समग्रमा औसत प्रगति ६५ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ६३ प्रतिशत रहेको योजना कार्यालय पथलैयाले जनाएको छ। त्यसैगरी, वीरगंज–पथलैया सडक विस्तार योजना अन्तर्गत रु एक अर्बको तीनवटा पुल पनि निर्माण भइरहेका छन्। तिनीहरूको अवस्था पनि सन्तोषजनक नरहेको पाइएको छ।
    जीतपुरको ललका पुल ठेक्का नं ८ हो जुन इलाइट कन्स्ट्रक्शनले पाएको छ। यो पुलको प्रगति ६४ प्रतिशत रहेको छ भने अन्तिम म्याद आगामी माघ ५ गतेसम्म छ। त्यसैगरी, परवानीपुरको श्रीसिया खोलाको पुल ठेक्का नं ९ हो, यो पुलको काम मृतसञ्जीवनीले गरिरहेको छ। यसको भौतिक प्रगति ६० प्रतिशत छ।
    त्यसैगरी, परवानीपुरदेखि सुक्खा बन्दरगाहसम्मको सडकमा परवानीपुरमा निर्माण भइरहेको पुल ठेक्का नं १० हो। यसको पनि भौतिक प्रगति ६० प्रतिशत  छ। यो पुल पनि मृतसञ्जीवनीले निर्माण गरिरहेको छ। औसतमा तीनवटै पुलको भौतिक प्रगति ६२ प्रतिशतको हाराहारीमा रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्