पर्सामा धानको उत्पादन बढ्यो, मूल्य बढेन

0
33

प्रमोद यादव, पंचगावाँ, २० कात्तिक/ 

    पर्सा जिल्लामा यस वर्ष धानको उत्पादन गत वर्षको तुलना वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र पर्साका बाली प्रमुख सुरेश चौरसियाले चैते, भदैया र अगहनी धानको उत्पादन गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले वृद्धि भएको बताए।
    यस वर्ष चैते धान ३ हजार ५ सय हेक्टर जमीनमा खेती गरिएको उनले बताए। यसैगरी, भदैया धान ८ हजार ५ सय ५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टरमा खेती भएको बाली प्रमुख चौरसियाले जानकारी गराएका छन्। भदैया धान प्रतिमेट्रिक टन ५.२ प्रतिहेक्टर उत्पादन भएको र अगहनी धान ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको उनले बताए।
    गत वर्ष भदैया धान प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो भने अगहनी धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको थियो। अगहनी धानमा कतर्नी धानलाई यसपटक पानी र कीराले क्षति पु–याएको कारण प्रतिहेक्टर ३.५ मेट्रिक टन उत्पादन भएको उनले बताए। अगहनी धान अन्तर्गत सोना मन्सुलीलाई भने पानी र कीराले असर नगरेको र गत वर्षको तुलनामा यस वर्ष पनि प्रतिहेक्टर ४ मेट्रिक टनको दरले उत्पादन भएको बताए।
    पर्सा जिल्लामा तीन बाली धानखेती हुने गरेकोमा सबैभन्दा बढी अगहनी धानको खेती हुन्छ। अगहनी धानमा सोना मन्सुली सबैभन्दा बढी रोपिने गरिन्छ।
    यसैबीच, एक महीनाअघि भदैया धान भिœयाएका किसानहरूले अहिले आलु, तोरी, मुसुरो र तरकारी खेती शुरू गरेका छन्। भदैया धान रोप्ने किसानहरूको खेतबारी थोरै हुने हुनाले उनीहरूले रबीबालीका साथै आलु र तरकारी पनि रोप्ने गर्छन्। अगहनी धान लगाएका किसानहरूमा धेरै खेतबारी भएका किसानहरूले गहुँखेती गर्छन्। अहिले पटेर्वासुगौली र सखुवाप्रसौनी गापा तथा पर्सागढी र बहुदरमाई नपालगायतका क्षेत्रमा किसानहरू अगहनी धान भिœयाइरहेका छन्।
    धान भिœयाएपछि गहुँखेती गर्छन्। यसपटक अगहनी धानखेती गरेका किसानहरूले अहिलेसम्म गत वर्षको तुलनामा कम मूल्यमा धान बेच्नुपरेकोले भण्डारण गरेका छन्। गत वर्ष २२ सयदेखि २४ सय रुपैयाँसम्म प्रतिक्विन्टल सोना मन्सुली धान बिक्री भएको थियो भने अहिले २१ सय रुपैयाँसम्म मूल्य कायम गरिएको छ। गाउँघरमा घुमेर धान खरीद गर्नेहरूले विन्ध्यवासिनी, बहुअर्वा, वीरगंज र जीतपुरमा लगेर धान बिक्री गर्छन्। गाउँघरमा डुलेर धान खरीद गर्नेहरूले गत वर्षसरह मूल्य नदिएको कारण अहिले किसानहरूले धान भण्डारण गरिरहेका छन्। उनीहरूले थोरै मात्रामा धान बिक्री गरिरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्