ठोरीको कुरा

0
26

पर्साको सुदूरपश्चिमस्थित ठोरीको चर्चा बेलाबखत हुने गरेको छ। राणाकालीन श्री ३ हरू शिकार खेल्न ठोरी आइरहने र उनीहरूले तत्कालीन भारत सरकारका अङ्ग्रेज समकक्षीहरूलाई बोलाएर सँगै शिकार खेल्ने गरेको इतिहास छ। तिनताका विश्रामका लागि निर्माण भएको नेपालकै पहिलो आरसिसी भवन अहिले भिखनाठोरी भारततर्फ पर्छ। कुनै बेला यसको नजीकै पूर्वतर्फ शिकारीबास तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरको शिकार स्थल र उत्तरतर्फ चितवनको कसरा शाहवंशीय राजाहरूको शिकार खेल्ने स्थलको रूपमा थिए। त्यसका अवशेषहरू छँदैछन्। यसरी शिकारका लागि चर्चित ठोरी एक समय व्यापारको लागि पनि चर्चामा थियो। वीरगंज, भैरहवा नाका अस्तित्वमा आउनुभन्दा पहिले ठोरी नाका चल्तीमा थियो। तनहुँ, लम्जुङ, कास्कीलगायत पश्चिम नेपालका जिल्लाहरूबाट नून, तेल र कपडा बोक्न हप्तौं पैदल हिंडेर भरियाहरू ठोरी आउँथे। व्यापार, ढुङ्गा, गिट्टी–बालुवा, प्राकृतिक सौन्दर्य, सीमा क्षेत्रको महत्वलाई मध्यनजर गरी अङ्गे्रज सरकारले भिखनाठोरीसम्म भारतीय रेल सञ्चालन गरेको थियो, जुन अहिले बन्द छ।

राणाविरुद्धको आन्दोलनमा क्रान्तिकारीहरूको सेल्टर प्वाइन्टको रूपमा प्रयोग भएको ठोरीबाटै गणेशमान सिंह पक्राउ परेका थिए। २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गर्दा पनि ठोरीमा ठूलै भिडन्त भएको इतिहास छ। माओवादी द्वन्द्वकालमा पाँचजनाले सहादत प्राप्त गरेर व्यवस्था परिवर्तनका लागि महत्वपूर्ण योगदान पु–याएको ठोरी सीमा विवादका कारण पनि सधैं चर्चामा रहने गरेको छ। अघोषित नाकाबन्दीको बेला, अघोषित इन्धन आयातमा ठूलै चर्चा पाएको सो स्थान हाल प्रधानमन्त्री ओलीले रामजन्मभूमिको प्रसङ्ग जोडेपछि त चर्चाको शिखरमा नै पुग्यो।

महत्वपूर्ण चर्चामा रहने ठोरीका प्राकृतिक सम्पदाबाहेक विकास निर्माणमा सधैं पछाडि छ। ठोरीका धेरै स्थानमा अझै पनि मोबाइल फोन लाग्दैन। हुलाकी सडक निर्माणबाहेक राष्ट्रियस्तरका कुनै पनि योजना परियोजनाहरू त्यहाँ पुगेका छैनन्। गैरसरकारी संस्थाहरूको उपस्थिति करीब शून्य छ। किसान बाहुल्य क्षेत्रमा अझै पनि खेतीपाती र पशुपालनको शैली परम्परागत छ। गाउँपालिकाको ७५ प्रतिशतभन्दा बढी जनसङ्ख्या शुद्ध पिउने पानीबाट वञ्चित छ भने करीब २० प्रतिशत जनसङ्ख्या त पानीबाट पूर्णरूपमा वञ्चित छ। उनीहरू अर्को गाउँटोलमा पुगेर पानी ल्याउँछन्। चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाइगर रिजर्भको बीचमा रहेको ठोरी डलर कमाउने स्थानको रूपमा विकास हुनुपर्ने हो, तर त्यही निकुञ्जका जनावरहरूबाट सधैं आक्रान्त र त्राहिमाम छ। चुरेबाट बग्ने खहरे खोलाहरूले बर्सेनि बस्तीलाई साँघुरो पारी बगर बनाउँदै छ, सोको नियन्त्रण र खोला उपयोगको वैज्ञानिक तथा दीर्घकालीन योजना छैन। केही वर्षभित्र ऐतिहासिक सीता गुफा र ठोरी बजार पनि नदीको चपेटमा आउने स्पष्ट छ। मठमन्दिर र राजनीतिक भाषणभन्दा वर्तमान ठोरीको आवश्यकता नदी नियन्त्रण, निकुञ्जको वैज्ञानिक व्यवस्थापन गर्दै वन्यजन्तुबाट सुरक्षा एवं पर्यटन पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका आधारभूत आवश्यकता परिपूर्ति, आधुनिक कृषि प्रणाली र सीमावर्ती क्षेत्रसम्म आउने भारतीय रेल पुनः सञ्चालनको लागि पहल गर्नुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्