भूमिसुधार, पर्साले कानूनविपरीत फैसला गरेको आरोप

0
50

प्रस, वीरगंज, १९ कात्तिक/
    भूमिसुधार कार्यालय पर्साले मोही भएको जग्गा सम्बन्धमा एकलौटी फैसला गरेको मोही पक्षकी हकदार आरामपति देवीले आरोप लगाएकी छन्।
    नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा वीरगंज महानगर–१६ नगवा निवासी आरामपति देवीले पत्रकार सम्मेलन गरी भूमिसुधार कार्यालयले विपक्षीसँग मिलेमतो गरी एकतर्फीरूपमा मुद्दाको फैसला गरेको आरोप लगाइन्। उनले नगवामा रहेको कित्ता नं. ४९५ र ४९६ को १३ कट्ठा ९ धुर जग्गामा ५ वर्षदेखि मुद्दा चल्दै आएकोमा भूमिसुधारका कर्मचारीले मोहीको हकदार आफूलाई कुनै जानकारी नदिई फैसला गरेको आरोप बताइन्।
    मुद्दाको फैसला पक्ष–विपक्ष दुवैलाई राखेर गर्नुपर्नेमा आफूलाई जानकारी नै नदिइएको उनको भनाइ छ। आरामपति देवीले आफूलाई साधारण तारेखमा राखेको र विपक्षीको हकमा फैसला गरेको बताइन्। उनले तोकिएको समयमा तारेख लिन जाँदा मुद्दाको फैसला भइसकेको सुन्दा अचम्म परेको बताइन्। मुद्दाको फैसला दुवै पक्षलाई पेशी दिएर गर्नुपर्ने कानूनी प्रावधान छ। तर एक पक्षलाई साधारण तारेखमा राखेर अर्को पक्षको हकमा फैसला गर्नु सरासर कानूनको बर्खिलाप भएको उनको भनाइ छ।
    कात्तिक १८ गते आफूलाई कार्यालयमा १० बजे हाजीर हुन तारेख दिइएको र तोकिएको समयमा आफू तारेख लिन जाँदा सो मुद्दाको फैसला कात्तिक १७ गते भइसकेको कर्मचारीले जानकारी गराएको बताइन्। करोडौं मूल्य पर्ने जग्गाको मोहीको हकदार आफू भएकोले मुद्दा लड्दै आएकोमा गैरकानूनी फैसला भएपछि सोको प्रतिलिपि माग गर्दा पनि कर्मचारीहरूले डर, धाक, धम्की दिएर नदिएको उनको आरोप  छ।
    भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कार्यालय प्रमुख सुमन झासँग यसबारे बुझ्दा उनले कानूनसम्मतरूपमा फैसला गरेको दाबी गरे। मोही बनेका आरामपतिका पिताले गैरकानूनी तरीकाबाट मोही कायम गराएको प्रमाण फेला परेको उनको दाबी छ। कार्यालय प्रमुख झाले यसबारेमा विस्तृत जानकारी फाइल हेरेर बिहीवार गराउने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्