भन्सार कार्यालयको भवन बन्यो, कर्मचारी आएनन्

0
31

प्रस, वीरगंज, १९ कात्तिक/
    सघन शहरी तथा भौतिक निर्माण कार्यालय पर्साले ठोरी गाउँपालिकामा रहेको भन्सार कार्यालयको भवन निर्माण गरी एक महीनाअगाडि हस्तान्तरण गरे पनि अहिलेसम्म भन्सार कार्यालय सञ्चालन हुन सकेको छैन।
    एक वर्षअगाडि नै निर्माण कार्य सम्पन्न भएको सो कार्यालयको भवन एक महीनाअगाडि मात्र भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको थियो। कार्यालय भवन बने पनि अहिलेसम्म कर्मचारीहरू भने आएर कार्यालय सञ्चालन गरेका छैनन्। पुरानो भवन हुँदा ठोरी भन्सार कार्यालय सञ्चालनमा थियो। नाकाबन्दीको समयमा ठोरी भन्सार कार्यालय निकै चर्चामा थियो। अहिले यसको स्तरोन्नति गर्नुपर्ने स्थानीयहरूले माग राखेका छन्।
    भारतीय सवारीसाधनहरूको आवतजावत हुने गरेकाले भन्सार गर्ने, बैंक सुविधाको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। लकडाउन अवधिमा नयाँ भवन निर्माणाधीन अवस्थामा भएकोले कर्मचारीविहीन यो भन्सार कार्यालयमा अहिले कोरोनाको कहर कम भएको र भवन बनेर हस्तान्तरण पनि भइसक्दा कर्मचारीहरू आएर सञ्चालन गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन्।
    वीरगंज भन्सार कार्यालयका प्रवक्ता विमल साहले कोरोना साम्य भएलगत्तै कर्मचारी पठाउने बताएका छन्। उनले कोरोनाका कारण सीमा सिल भएको अवस्थामा भन्सारको काम नहुने भएकोले कर्मचारी नपठाएको बताए। उनले ठोरीलगायत सबै छोटी भन्सारबाट कर्मचारी बोलाइएको र छोटी भन्सार बन्द रहेको प्रस्ट्याए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्