बजेट दिंदैन विकास कसरी गर्ने –उपप्रमुख कुशवाहा

0
26

विमला गुप्ता, वीरगंज, १८ कात्तिक/
“चुनाव जितेपछि जनताले मसँग धेरै अपेक्षा राखेका छन् तर नगरस्तरीय बजेट सबै प्रमुखले नै चलाउने गरेका छन्। तर जनता उपप्रमुखबाट पनि विकास खोज्दैछन्। बजेट नै नपाएपछि जनताको माग कहाँबाट पूरा गर्ने ? चुनाव जितेर म दोधाँरमा परेकी छु, विरोध गरूँ भने पार्टीको इज्जत जान्छ, नगरूँ भने जनताको गुनासो सुन्नुपर्छ,” यो भनाइ हो, रौतहटको बौधीमाई नगरपालिकाकी उपप्रमुख प्रेमलता कुशवाहाको।
यो नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नमिल्दा विभिन्न समस्या देखिएका छन्।
नगरप्रमुख राजीवरञ्जन यादव र उपप्रमुख कुशवाहा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित प्रतिनिधि हुन्। दुवै एकै पार्टीबाट निर्वाचित भएपनि उनीहरूबीच मतान्तर बढेको छ। नगरप्रमुख यादवले उपप्रमुख कुशवाहालाई अधिकारबाट वञ्चित राखी पालिकाको काम अगाडि बढाएको उनको गुनासो छ।

उपप्रमुख कुशवाहाले गत आवमा कुनै शीर्षकमा एक रुपैयाँ बजेट नपाएको गुनासो गरिन्। एक वर्षको अवधिमा उनी कार्यालयमा आउने, हाजीरी गर्ने र जाने मात्रै काम गरिरहेकी छन्। नगरपालिकामा सबै कर्मचारी तथा जनप्रतिनिधि आआफ्नो काममा व्यस्त हुन्छन् तर उनी भने दिनभरि टोलाएर बस्छिन्।

उपप्रमुख कुशवाहा भन्छिन्, “११ बजे कार्यालयमा आउने र अपराह्न ४ बजे घर फर्कने दिनचर्या भइसकेको छ। यस वर्ष नगरसभा हुन सकेको छैन। नगरसभा भएपनि बजेट पाउने कुरामा उनी सशङ्कित छिन्।

चुनाव जितेको तीन वर्ष पूरा भएपनि उनले आफूलाई संविधानतः पाउनुपर्ने न्यायिक समितिको अधिकारबाट वञ्चित पारिएको बताउँछिन्। जनता समस्या लिएर घरदैंलोमा आउँछन् तर संविधानतः पाएको अधिकारबाट पनि वञ्चित गरिएकोले उनीहरूको समस्या सुन्नेबाहेक पूरा गर्ने अवस्था नरहेको उनको भनाइ छ।

न्यायिक समिति सञ्चालनका लागि आवश्यक बजेटको माग गर्दा नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले अहिलेसम्म नदिएको उनले गुनासो गरिन्। आव २०७४/७५ मा नगरका महिला स्वयंसेविकाहरूले छाता र मोबाइलको माग गर्दा पनि सामाजिक विकासको काममा समेत नगरप्रमुखले बेवास्ता गरेको उपप्रमुख कुशवाहाले आरोप लगाइन्। त्यसपछि उनले व्यक्तिगत खर्चबाटै सामग्री वितरण गरेको र त्यसैगरी २५ वटा चापाकल जडान गरेकोमा अहिलेसम्म भुक्तानी नगरिएको उनले दुःखेसो पोखिन्।

आव २०७४/७५ तथा २०७५/७६ मा नगरस्तरीय बजेटबाट विकास निर्माणका लागि १/१ करोड रुपैयाँ बजेट पाएको बताइन्। सो बजेट नाला निर्माण, बङ्कुल बजार क्षेत्रमा ५ कोठे शौचालय तथा एउटा छुट्टै पक्की कोठाको निर्माण, मटिअर्वामा मन्दिर निर्माण, महिलासम्बन्धी जनचेतना कार्यक्रम, तालीम, वृक्षरोपणलगायतका काममा खर्च गरेको उपप्रमुख कुशवाहाले बताइन् तर गत वर्षदेखि कुनै बजेट नपाएको उनको आरोप छ।

गत वर्ष पालिकाले रु १६ करोडको बजेट नगरसभाबाट पारित ग–यो, जसमा नगरस्तरीयमा रु ४ करोड ५५ लाख विनियोजन गरिएको थियो। तर नगरप्रमुख यादवले उपप्रमुखलाई बजेट चलाउने अधिकार नभएको भन्दै एक्लै सो बजेट सञ्चालन गरेको बताइन्। नगरप्रमुखको सोही रवैयापछि विवाद चर्किएको उनको ठम्याइ छ। जत्तिकै विवाद भएपनि नगरप्रमुखको अगाडि आफ्नो केही चल्न नसकेको उनले बताइन्। उपप्रमुख विकास निर्माण अनुगमन समितिको संयोजक हो तर यो अधिकारबाट पनि नगरप्रमुखले वञ्चित पारेको उनको आरोप छ। नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनुगमनलगायतका कामहरू भइरहेको उनले आरोप लगाइन्।

आव २०७६/७७ को सम्पूर्ण बजेट चलाएर अन्त्यमा निमित्त प्रशासकीय अधिकृत रामेश्वर यादवले उपभोक्ता समितिबाट भएका कामहरूको अनुगमन गरेको र सो अनुगमनमा हस्ताक्षर गर्न आफूलाई दबाब दिएको उनले आरोप लगाइन्। आफूले सही नगरे पनि प्रशासकीय अधिकृतको सहमतिमा रु साढे चार करोड बजेट निकासा गरेर काम गरेको उनको भनाइ छ।

नगरपालिकाका सबै जनप्रतिनिधिले सवारीसाधनको सुविधा पाएका छन् तर आफूलाई त्यसबाट पनि वञ्चित राखिएको उपप्रमुख कुशवाहाले भनिन्। नगरप्रमुखले आफ्नो सवारीसाधन खरीदको लागि रु १ करोड बजेट छुट्याएको र वडाध्यक्षहरूको लागि पनि सवारीसाधन खरीदको लागि बजेट छुट्याए पनि आफूलाई वञ्चित पारिएको उनले बताइन्। उपप्रमुखले अहिलेसम्म सवारीसाधनको प्रयोग नगरी आवतजावतमा आफैंले खर्च गरिरहेको बताइन्।

यो वर्ष नगरपालिकाबाट पाउनुपर्ने कुनै पनि सेवा सुविधा आफूलाई उपलब्ध नगराइएको उनको भनाइ छ। आफूले बजेट नपाउनुको कारण कमिशनको चलखेल रहेको उनको आरोप छ। नगरस्तरीय बजेट उपभोक्ता समिति र टेन्डरमार्फत खर्च गर्नुपर्नेमा नगरप्रमुखले आफूखुशी मनपरी गरिरहेको र आफन्तलाई पाल्ने/पोस्ने काम गरिरहेको उपप्रमुख कुशवाहाले आरोप लगाइन्। जननिर्वाचित भएपनि जनताबाट टाढा राख्ने षड्यन्त्रमा नगरप्रमुख लागेको र यसमा उनलाई प्रमुख प्रशासकीय अधिकृतले सघाउँदै आएको उनको भनाइ छ। रौतहटका अधिकांश पालिकाका उपप्रमुखहरूको समस्या आफूले भोग्दै आए सरह रहेको उनको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्