सचेत होऔं, सुरक्षित बसौं

79

नेपालीहरूको राष्ट्रिय चाड बडादशैं आउनु धेरै दिनअगावैदेखि हर्षोल्लास र विभिन्न चहलपहल शुरू हुने गर्दछ । वातावरणले पनि ऋतु परिवर्तनको अनूभूति गराउने गर्दछ । सरसफाइ, घर घरायसी किनमेल, नयाँ लत्ताकपडाका साथ अद्भुत खुशियालीले रोमाञ्चको अनुभूति गराउँछ । देश–विदेशमा रहेकाहरू आआफ्नो गाउँ–ठाउँ फर्कने जुक्ति गर्छन् ।

घटस्थापनादेखि शुरू हुने नवरात्रमा  एकाबिहानै विभिन्न देवी मन्दिरमा श्रद्धालु, भक्तालु महिला, बालक, युवा वृद्धहरूको भीड लाग्न थाल्छ। वीरगंजमा बडादशैंको मेला परापूर्वकालदेखि चल्दै आएको, नवरात्रिभरि चल्ने रमझमको बाल्यावस्थादेखिको समय सम्झँदा छुट्टै आह्लाद प्राप्त हुन्थ्यो । मौसममा नम्रता र मिठास भरिएको लाग्दथ्यो । उखरमाउलो गर्मीबाट मौसमको रूप फेरिंदै परिवर्तनको मिठास आउन थाल्दथ्यो । बिहानै उठ्दा आँखामा किचरा लाग्दा मौसम चिसो हुन थालेको सहज अनुमान हुन थाल्दथ्यो, त्यसपछि चाडबाडको चहलपहल, रौनकले मन भित्रदेखि प्राकृतिकरूपमा उत्साह र उमङ्गले भरिदिन्थ्यो । बजारको भीडमा मिसिएर नयाँ लुगा, घरायसी सामान किनमेल, जोडजाम गरेरै किन नहोस्, गर्दाको अनुभूति कुनै युद्ध जितेझैं लाग्दथ्यो ।

बिहानै उठेर देवीमाताको दर्शन गर्न विभिन्न मन्दिरहरूमा सफा लुगा लगाइ चिटिक्क परी जाने गरिन्थ्यो, साथीहरूसित दिनभरि मेला घुम्ने, दिनभर भीडमा नै रमाउने गरिन्थ्यो । विभिन्न गाउँठाउँ, वरिपरिका मानिस बजार आउन थाल्थे, मुख्य सडकका दुवैतिर फूटपाथमा पछि बिस्तारै मुख्य सडकसम्म पसलहरू फिजिन्थे । पूजा र घरायसी कामका लागि माटाका भाँडाहरू बेच्न पसल राखिन्थ्यो ।  अन्य खानेकुरालगायत केटाकेटीहरूका लागि बाजा, खेलौनाजस्ता विभिन्न सामग्रीका पसल पनि फूटपाथमा लगाउने गर्दथे ।

हाम्रो मधेसको प्रख्यात खाजा भुजा, पकौडी, जिलेबी, गाजा खासगरी मलाई मनपर्ने जिलेबी मुख्य सडकमा नै अगाडि तात्तातो बनाउँथे, खाउँखाउँजस्तो लाग्थ्यो, शहरमा अबेर रातसम्म चहलपहल हुन्थ्यो, मेला नै लाग्थ्यो । भीड, घुइँचो र ठेलमठेलमा पनि एउटा आनन्द र हर्ष मिल्दथ्यो, बच्चाहरूको लागि खेलौना, बाँसुरी, बैलुन आदिको चलताफिरता पसल साइकल वा व्यक्तिले नै बोकेर बेच्ने गर्दथे ।

बिस्तारै युवावस्थामा प्रवेश गरेपछि सजगता आउँदा भीड देखेर अचम्म लाग्थ्यो, बाटोको जामले कहिलेकाहीं आवश्यक कामले बजार आउनुपर्दा दुःख द्विविधा अनुभव हुन्थ्यो, अप्ठेरो पनि हुन्थ्यो । समस्या थियो, तापनि उहिलेदेखिको परम्परा कसरी बन्द गर्ने ? योसँग धेरै धार्मिक, सामाजिक आस्था र मान्यता जोडिएका छन्, बरु वैकल्पिक बाटो नहुँदा कुनै समस्या, दुर्घटनामा अस्पताल पु¥याउन, औषधि उपचार गराउन गा¥हो हुने गर्दथ्यो । अब वैकल्पिक बाटो तथा अन्य निजी अस्पताल तयार भइसक्यो । सरकारी अस्पताल पहिलेदेखि नै यस भीड र हुल स्थलभन्दा टाढा भएकोले बीच सडकमा करीब हप्ता दिनसम्म लाग्ने मेलाले अप्ठ्यारो बेलामा धेरै नै सकस पार्दथ्यो ।

यसपालि भने कोरोना महामारीले गर्दा परापूर्वकालदेखि लाग्दै आएको सडकपसल, पूजा–आराधना, बलि सबै यस प्राकृतिक विपताले गर्दा लगभग शून्यजस्तो रह्यो । विगत नौ महीनादेखि कोरोना महामारीले गर्दा विश्वभरि नै करोडौं मानिस सङ्क्रमित, लाखौंको मृत्यु, सबै व्यापार–व्यवसाय, उद्योगधन्दा चौपट भएको अवस्था छ, बालबालिका तथा विद्यार्थीहरूको शिक्षादीक्षा बन्द, जीवनचक्र ठप्पप्रायः छ, जीवनशैली नै फेरिएको छ । यसैबीच वैशाखदेखि हालसम्म विभिन्न चाडपर्व घरमैं बसेर सुरक्षित रहेर, चाहे–नचाहेर मनाइयो, यो पालिको बडादशैं पनि यसैगरी मनाइयो, सरकार तथा राज्यको स्वास्थ्य निर्देशन अनुसार घरमैं बसेर पूजापाठ, आराधना, एकाघर परिवारमा बसेर टीका थापियो । विगतझैं कसैलाई निम्त्याउनु र कसैकोमा जानु पनि सकिएन । राष्ट्रिय चाड भए तापनि सचेत र सुरक्षित बस्नुप¥यो । दशैंपछि आउने दीपावली, भाइटीका तथा छठ पर्व आउने क्रममा छन् ।

अहिले वीरगंजको अवस्था विगत दुई महीनादेखि कोरोनाबाट केही सुरक्षित रहेकोजस्तो बुझिएको छ, तर भन्न सकिंदैन भोलि कस्तो अवस्था होला । देशका विभिन्न ठाउँमा, खासगरी राजधानी काठमाडौंमा तथा अन्य ठाउँहरूमा कोरोना सङ्क्रमण गहिरिंदो छ । सरकारले पनि पटक–पटक जो जहाँ छ, सुरक्षित भएर चाडबाड मनाउन, जीउ–ज्यान सुरक्षित रहे अर्को वर्ष चाड मनाउन पाइन्छ भन्ने अपील गरेको छ । शक्तिपीठहरू बन्द छन्, बाहिरैबाट दर्शन गर्ने व्यवस्था छ । बजारमा किनमेल तथा घूमघाम हुँदैछ, मास्कको प्रयोग पनि कमै देखिएको छ । यस्तोमा प्रार्थना गरौं, सबै राम्ररी बितोस् । कुनै दुःखदायी कुरा सुन्न र देख्न नपरोस् । भगवान्सित सम्पूर्ण विश्वको कल्याण, सबैको निरोगिता, स्वस्थता तथा सफल जीवनको लागि सबै मिलेर प्रार्थना गरौं ।
–जसपाल सिंह, श्रीपुर, वीरगंज

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्