सकिंदैछ सिम्रौनगढ

0
28

ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्व बोकेको सिम्रौनगढको अस्तित्व नामेट हुने अवस्थमा पुगेको छ। प्राचीनकालदेखि हजारौं वर्षसम्म निरन्तर राज्य प्रशासन सञ्चालनको मुख्यालयको रूपमा सिम्रौनगढको अस्तित्वलाई वर्तमान पुस्ताले नामेट पार्दैछ। बाराको सिम्रौनगढ नेपालको मात्रै नभएर सार्क क्षेत्रकै पुरातात्विक र ऐतिहासिक महत्वको स्थान हो। सार्क क्षेत्रको मानव सभ्यता, धर्म, समाजको विकासक्रम तथा इतिहासका खोज–अनुसन्धानकर्ताहरू कुनै न कुनै रूपमा सिम्रौनगढसँग जोडिन पुग्छन्। यस क्षेत्रको जानकारीविना अध्ययन, अनुसन्धान अधूरो र अपुष्ट हुन जान्छ। आजभन्दा करीब ८ सय वर्ष पहिलेसम्म सिम्रौनगढ राज्य सञ्चालन केन्द्रकै रूपमा थियो। त्यस बेला वर्तमान नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, बर्मा, भुटान, पाकिस्तान क्षेत्रमा नाम चलेका प्रभावशाली १०/१२ वटा राज्यमध्ये सिम्रौनगढ पनि एक थियो। समय र राज्य गर्ने शासक एवं शासन व्यवस्था अनुसार यस क्षेत्रको नाम परिवर्तन भएको हुन सक्छ तर स्थान उही हो।

वास्तुकलाका लागि भक्तपुरलाई प्रमुख मानिन्छ, तर भक्तपुरलाई पनि सिकाउने सिम्रौनगढ थियो। भक्तपुरको वास्तुकलामा सिम्रौनगढको ठूलो प्रभाव छ । त्यस बेला नै भक्तपुरका राजाले सिम्रौनगढ राज्यका धेरै परिवारलाई भक्तपुरमा बसोबास गराएका थिए। सिम्रौनगढका राजाले पनि भक्तपुर शहरलाई जोड्न भक्तपुर–बनेपा–सिन्धुली हँुदै बाटो बनाएको इतिहास छ । आज पनि सिम्रौनगढको नगर वास्तु भक्तपुरसँग हूबहू मिल्छ । भक्तपुर र सिम्रौनगढबीच अतिनिकट सम्बन्ध थियो। त्यसैले सिम्रौनगढको सीप र कला भक्तपुरले पायो। आजसम्म त्यही ऐतिहासिक कला र सीपको संरक्षण गर्न सकेको कारण भक्तपुर समृद्ध छ, स्वरोजगार छ, पर्यटनको केन्द्रबिन्दु बनेको छ अनि आत्मनिर्भर छ। सिम्रौनगढका अन्तिम कर्णाट वंशीय राजाहरूले मात्रै यस क्षेत्रमा करीब अढाई सय वर्ष राज्य गरेको इतिहास छ। विसं १३८१ मा दिल्लीका सम्राट ग्यासुद्दीन तुगलकले भीषण आक्रमण गरेर राज्य ध्वस्त बनाइदिएपछि यहाँका हरिसिंह देव सपरिवार भागेर उत्तरतर्फ लागेका थिए। सोमध्ये धेरैजना भक्तपुर पुगे भने केहीको बाटैमा ज्यान गयो। धार्मिक ग्रन्थ शतपथ ब्राह्मण ग्रन्थमा उल्लेख भए अनुसार पौराणिक विदेहकालमा नै सिम्रौनगढ अस्तित्वमा आएको हो। माधव विदेह र गौतम रहुगणले अनकन्टार जङ्गलमा आगो लगाएर कृषियोग्य जमीन बनाए, माधव विदेहले बस्ती बसाइ राज्य कायम गरे, सोही क्षेत्र सिम्रौनगढ हो। यो क्षेत्र वैदिक संस्कृतिको विशाल भण्डार रहेको विद्वान्हरूको मत छ।

यति अमूल्य सम्पदालाई आज यहाँका बासिन्दा र यो मुलुकको सरकारको लागि ‘बाँदरको हातमा नरिवल’ भएको छ। प्राचीन मूर्ति र सम्पदाहरू बेवारिसे बनेका छन्। ऐतिहासिक तथा धार्मिक मठ, मन्दिर, पोखरी र सार्वजनिक जमीनहरू अतिक्रमणको चपेटमा छन्। माटो खोतल्नेबित्तिकै पुरातात्विक महत्वका वस्तु फेला पर्ने स्थानमा अनधिकृतरूपले जमीन उत्खनन गर्ने, निजी जमीनमा पोखरी खन्ने, नाला बनाउने, प्लटिङ गर्ने, माटो सम्याउने र जमीनको स्वरूपलाई नै परिवर्तन गरेर सिम्रौनगढको पहिचानलाई नामेट पार्ने कार्य गरिंदैैछ। स्थानीय विनाशमा मस्त छन्, अनि सरकार तमाशे बनेको छ। यही क्रम जारी रहने हो भने केहीपछि सिम्रौनगढ सकिएर कुनै इतिहासको पानामा सीमित रहनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्