पर्साको ग्रामीण क्षेत्रमा होडबाजीमा विद्यालय सञ्चालन हुँदै

0
86

ओमप्रकाश चौधरी, सेढवा, १७ कात्तिक/
    वीरगंज महानगरपालिकाले कात्तिक २३ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउन अनुमति दिएपछि पर्सा जिल्लाका अन्य पालिकामा भने विनाइजाजत विद्यालयहरू सञ्चालनमा आउन थालेका छन्।
    सरकारले निर्णय गरेपछि प्रशासनिक कामको लागि विद्यालय खुलेको एक महीना बिते पनि पठनपाठन भएको थिएन। यो अवधिमा सखुवाप्रसौनी गाउँपालिकाले मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो र हिजो कात्तिक १६ गतेदेखि त्यहाँका विद्यालयहरू सञ्चालनमा आएका छन्। ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति दिएको छ। तर पालिकाको स्वीकृतिबेगर जीराभवानी, पटेर्वासुगौलीलगायतका गापाहरूमा संस्थागत विद्यालयहरू धमाधम सञ्चालनमा आएका छन्।
    जीराभवानी गापाका संस्थागत विद्यालयहरू वर्णमाला स्कूल, मदर्सा एकेडेमी सञ्चालनमा आएका छन्। अहिले सञ्चालनमा आएका विद्यालयहरूले पूर्वतयारीविना विद्यालय सञ्चालन गरेका छन्। ७ महीनाको अवधिमा विद्यालयहरूको चौरमा घाँस उम्रेर ठूलठूलो भएको र कक्षाकोठा सरसफाइ गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा सुरक्षा मापदण्डविना हतारमा विद्यालयहरू आफूखुशी सञ्चालनमा आउँदा अभिभावकहरू चिन्तित भएका छन्।
    चाडपर्वको समयमा शिक्षकहरूलाई तलब सुविधा उपलब्ध गराउन विद्यालय सञ्चालन गरेको केही अभिभावकहरूको आरोप छ। लामो समयदेखि विद्यालय बन्द भएपछि विद्यार्थीहरूको स्वास्थ्य समस्यालाई दृष्टिगत गरी तोकिएको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्नुपर्नेमा त्यसो गरिएको छैन। केही विद्यालयले मात्र विसङ्क्रमित गर्ने, सरसफाइ गर्ने र विद्यार्थीहरूको लागि साबुन–पानीको व्यवस्था गरेका छन्। संस्थागत विद्यालयहरूमा स्वास्थ्य मापदण्ड पूरा गर्ने आधारहरू भएपनि ठूलो सङ्ख्यामा विद्यार्थी भएको सामुदायिक विद्यालयहरूमा यो कुरा समस्याको रूपमा रहेको छ।
    धेरैजसो विद्यालयमा सरसफाइ गरिएको छैन र तयारीको लागि कम्तीमा एक साता समय लाग्ने देखिन्छ। तर वीरगंज महानगरबाट शुरू भएको विद्यालय खोल्ने हल्लाले ग्रामीण क्ष्Fेत्रका संस्थागत, सामुदायिक विद्यालयहरू एकपछि अर्को खोल्ने होडबाजी चलेको छ।
    यसको अनुगमन स्थानीय पालिकाले गरेको छैन। पूर्वतयारीविना होडबाजीमा  विद्यालय खोल्दा सम्भावित जोखिमले अभिभावकहरू चिन्तित भएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्