सर्टकट

0
41

एकता हरेक ठाउँमा आवश्यक छ। केटाकेटीदेखि पढ्दै आएको एउटा लौरो जसले पनि भाँच्न सक्छ, त्यही लौरो दशवटा एकसाथ बाँधिदियो भने हात्तीले पनि भाँच्न सक्दैन। यस्ता कथाका हजारौं होइन, लाखौं संस्करण छन्। यस कुरालाई अहिलेको पुस्ताले झन् गहिरोगरी बुझेको छ र पो खास समुदायको उत्थानका लागि त्यसै समुदायबीच एकताको आह्वान हुने गर्दछ। तर नबुझ्न सकिएको कुरा के हो भने एउटा लौरो भाँचिने तर दशवटा लौरो नभाँचिने उदाहरण दिइरहँदा सबै लौरो बाँसकै हुनुपर्छ भन्ने छ र १ बाँस, साल, बेंतजस्ता अन्यान्य लौरो समेटेर दशवटाको समूह बनाइयो भने के त्यो कमजोर हुन्छ ? आज जुन रूपमा जातिविशेष, धर्मविशेषको विभिन्न संस्थाहरू गठन गर्ने होडबाजी चलेको छ, त्यसले त लौरो एकैजातको वनस्पतिको भयो भने मात्र बलियो हुन्छ भन्ने देखिन्छ। भर्खरै एउटा जातीय सङ्गठनको कार्यक्रम भयो। त्यहाँ आफ्नो जातविशेष सङ्गठित नहुँदा, एकता नहुँदा जिल्ला पछाडि परेको कुरा जिल्लाकै नाम चलेका नेताहरूले घन्काए। के त्यस जातिविशेषको मात्र एकता भयो भने जिल्ला अगाडि बढ्छ ? कि जिल्लामा भएका सम्पूर्ण जाति नै एक ढिक्का भए भने जिल्ला झन् बलियो र अग्रगामी हुन्छ ?

हामीकहाँ लोकतन्त्र आएपछि केही कुरा सकारात्मक देखिएको त छ, तर त्यो सकारात्मकता सङ्कीर्ण छ, त्यसको परिधि साँघुरो छ। कुनै जातिविशेषले आफ्नो जीवनशैली सुधार्न, समाजमा अगाडि बढ्न सङ्गठनात्मक शक्ति खोज्दछ भने त्यो अति राम्रो कुरा हो। किनभने जातीय संरचनामा आधारित हाम्रो समाजमा सदीयौंदेखि खासखास जातिहरू शोषित, दमित रहेका छन्। उनीहरूको उत्थान सङ्गठनविना सम्भव पनि छैन। उत्थान त के, एकताविना उनीहरूले पहिचान पनि पाउन सक्दैनन्। आज त्यही सङ्गठनको भरमा नजानेको, नामै नसुनेको, औधी दयनीय अवस्थामा रहेको जातिबारे हामी जानकार हुन सकेका छौं। तर यस्तो जातीय सङ्गठनको उद्देश्य सामाजिक पहिचान, राज्यप्रदत्त सुविधाको खोजी तथा समग्र समुदायको उत्थानको लागि हो भने त्यो कारगर हुन सक्छ। तर देखिएको के छ भने यस्ता जातीय सङ्गठनहरू व्यक्तिविशेषको स्वार्थपूर्तिमा उपयोग हुने गरेका छन्। हामीकहाँ सबैभन्दा सबल क्षेत्र राजनीति भएकोले मानिसमा राजनीतिक उचाइ प्राप्त गर्नु जातीय सङ्गठनलाई भ–याङ बनाइन्छ।

जातीय सङ्गठन निर्वाचन लड्नसम्मका लागि सीमित देखिएकोले यसको शक्ति क्ष्Fीण बन्दै गएको छ। त्यसमा राजनीतिकर्मीहरूको बाक्लो उपस्थिति र समुदायका बुजुर्ग, अगुवा, सामाजिक कार्यकर्ताहरू न्यून सङ्ख्यामा मात्र देखिन्छन्। राजनीतिक उद्देश्य नबोकेका जातीय सङ्गठनहरूले समुदायको हितमा काम पनि गरेका छन्। यस्ता सङ्गठनहरूले परम्परादेखि चल्दै आएको कुप्रथा हटाउने, समुदायमा शिक्षाको प्रसार गर्नेजस्ता सकारात्मक धारणा अघि सारेर काम गर्ने र त्यसमा शक्तिहीनहरूको शक्तीकरण गर्दै जाने हो भने प्रकारान्तरमा जिल्लामात्र होइन, देशकै हितमा काम गरेको देखिने छ। जुन जातिको बाहुल्य छ, त्यो शिक्षा क्ष्Fेत्रमा, सामाजिक सुधारको क्ष्Fेत्रमा, सांस्कृतिक सबलताको सवालमा अघि बढेको देखियो भने त्यसले स्वतः राजनीतिक अभीष्ट पनि पूरा हुन्छ। तर यो लामो बाटो हो, मानिसलाई त शर्टकट नै मन पर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्