श्रीगुरु रामदास महाराजको प्रकाशोत्सव (जन्मजयन्ती)

0
97

    सिख पन्थका चौथो गुरु श्री गुरु रामदासको जन्म, चुनामन्डी लाहौर (हाल पाकिस्तान)मा कात्तिक, बदी २ (२५, अशु सुदी ६) संवत् १५९१ (२४ सेप्टेम्बर १५३४) मा भएको थियो। माता दया कौर (अनुप कौर) तथा बाबा हरिदास सोढीका यिनी पुत्र अति सुन्दर तथा आकर्षक थिए। रामदासको परिवार अति गरीब थियो, उनीहरू उमालेको चना बेचेर जीवनयापन गर्थे। उनी ७ वर्षको हुँदा उनको पिताको स्वर्गवास भएको थियो। उनकी हजुरआमा (माताकी माता)ले आफ्नो गाउँ बसरके भन्ने ठाउँमा लगिन्, उनले त्यहाँ पनि ५ वर्षसम्म चना बेचेर आफ्नो जीविका चलाएका थिए। सिख धर्मका तेस्रो गुरु साहेब श्री गुरु अमरदास बसरके गाउँ आएको बेलामा भेट हुँदा उनीहरूमा आपसी लगाव तथा सद्भावको सुरुआत भएको थियो।


गुरु रामदास आफ्नी हजुरआमासित गोइन्दवाल आएर त्यहीं बसोबास गर्न थाले। यहाँ पनि उनले चना बेचे साथै गुरु अमरदासद्वारा चलाइएका धार्मिक सङ्गतहरूमा भाग लिन्थे। सेवामा भाँडा माझ्ने, कुचो लगाउने, पङ्खा हम्किने आदि गर्थे। उनले गोइन्दवाल साहेबको निर्माण सेवामा माटो खन्ने र निर्माण सामग्रीहरू छैटीमा राखेर टाउकोमा बोक्ने जस्ता धैरै सेवा गरे। उनको अटुट सेवा, समर्पण, नम्रता देखेर रामदास साहेबको विवाह गुरु अमरदासकी पुत्री बिबी भानीसित भयो। उनका तीन पुत्र भए– पृथ्वीचन्द, महावीर तथा अर्जुन साहेब। विवाहपछि उनी गुरु अमरदाससँगै बसेर गुरु घरको सेवा गर्न थाले। उनी गुरु अमरदासका प्रिय तथा विश्वासपात्र सिख थिए। उनी भारतका विभिन्न भागको लामो प्रवासको बेलामा गुरु अमरदाससँगै हुन्थे। बिबी भानीले पनि आफ्नो वृद्ध पिताको खानपिन र आराम आदिको सबै ख्याल गरी भरपूर सेवा गर्थिन्। गुरु रामदास धेरै उच्च वरीयता भएका व्यक्तित्व थिए। उनी आफ्नो भक्ति र सेवाको लागि धेरै प्रसिद्ध भइसकेका थिए। गुरु अमरदासले उनमा गुरु बन्ने हरेक गुण र दृष्टिकोण देखे र सन् १५७४ (१ सेप्टेम्बर)मा उनलाई चतुर्थ नानकको रूपमा स्थापित गरे। गुरु रामदासले चक् रामदास वा रामदासपुरको जग राखे जुन कि पछि अमृतसर भयो। यस कामको रेखदेख गर्नको लागि भाइ सहलो एवं बाबा बुढ्ढालाई नियुक्त गरे। चाँडै नै नयाँ शहर (चक् रामदासपुर) अन्तर्राष्ट्रिय व्यापारको केन्द्र भएको कारणले चम्किन थाल्यो। यो शहर व्यापारिक दृष्टिले लाहौर जस्तै महत्वपूर्ण केन्द्र बन्यो। गुरु रामदासले स्वयम् विभिन्न व्यापारसँग सम्बन्धित व्यापारीहरूलाई यस ठाउँमा आमन्त्रित गरे। यो कदम सामरिक दृष्टिले धेरै लाभकारी सिद्ध भयो। यहाँ सिखहरूको लागि भजनकीर्तन बन्दगीको नौलो तथा अनुपम स्थान बनाइयो। यस प्रकार विलक्षण सिख पन्थको लागि नयाँ मार्ग तयार भयो। गुरु रामदासले मन्जी पद्धतिको संवर्धन गर्दै मसन्द पद्धतिको शुभारम्भ गरे। यो पाइला सिख धर्मको प्रगतिमा एक कोसेढुङ्गा साबित भयो। उनले पक्की सडक, शिक्षालय, गुरुको चक्, जुन कि गुरुद्वारा गुरुको महलको नामले प्रसिद्ध छ, तयार गराए। गुरुसाहेबले तुङ्ग गिलवली एवं गुमताला गाउँहरूको जमीन्दारहरूसित सन्तोषसर सरोवर खन्नको लागि जग्गा किने। पछि उनले सन्तोषसरको काम बन्द गरी आफ्नो सारा ध्यान अमृतसर सरोवर खन्नमा लगाए। पानीको महत्व अति आवश्यक मानिन्थ्यो। इनार, पोखरी तथा सरोवर धेरै धर्मका कार्य मानिन्थे। कुनै होचा, हरिया रूखहरू भएको ठाउँमा एउटा अनुपम नगर र सरोवर पनि निर्माण गरे। सुक्खा समयमा काम लगाउँथे। गुरुको चक्को जग राख्ने बेलामा सरोवर पनि खन्न लगाए। यस सरोवरलाई पछि गुरु अर्जुनदेव महाराजले पक्की गरे तथा यसको नाम सन्तोषसर राखे। त्यस बखतमा सरोवरहरूको अति महत्व थियो। यस कारण सिखजगत्मा यसको महानता हुन्थ्यो। गुरुहरूले आफ्नो हातले रचना गरेको यिनलाई गुरुको हातको वरदान पनि प्राप्त थियो। रामदास सरोवर नाते।। सभ उतरे पाप कमाते।। तीर्थ धर्मको आधारशिला, अमृत सरोवर स्नानको महत्ता।। गुरु रामदासले सिख धर्मलाई आनन्द कार्यको लागि चार लाँवा (विवाहको बेलामा गरिने विधि तथा शब्द)को रचना गरे तथा सरल विवाह गुरमत मर्यादा समाजको अगाडि राखे। यस प्रकार उनले सिख पन्थको लागि एक विलक्षण वैवाहिक पद्धति दिए। यस प्रकार भिन्न वैवाहिक पद्धतिले समाजका रुढीवादी परम्पराहरूलाई टाढा पु–याइदियो। बाबा श्री चन्दका उदासी सन्तहरू तथा अन्य धर्मावलम्बीहरूसित सौहार्दपूर्ण सम्बन्ध स्थापित गरे। गुरु साहेबले आफ्ना गुरुहरूद्वारा प्राप्त लङ्गर (गुरुद्वारामा वितरण गरिने निश्शुल्क भोजन)प्रथालाई अगाडि बढाए। अन्धविश्वास, वर्ण व्यवस्था आदि कुरीतिहरूको घोर विरोध गरे। उनले ३० रागमा ६३८ शब्द लेखे, जसमा २४६ पउडी, १३८ श्लोक, ३१ अष्टपदी तथा ८ बारां छन्। यिनी सबैलाई गुरुग्रन्थ साहेबमा अङ्कित गरिएको छ। उनले आफ्नो सबैभन्दा कान्छो छोरा अर्जुन साहेबलाई पञ्चम नानकको रूपमा स्थापित गरे। त्यसपछि उनी अमृतसर छाडेर गोइन्दवाल गए। भाद्र सुदी ३ (२ अशु सुदी संवत् १६३८) १६ सेप्टेम्बर १५८१ मा ज्योति जोत समाए। पछि आएर दरबार साहेब स्वर्ण मन्दिर अमृतसरमा महाराजा रणजीत सिंहको पालामा यिनमा स्वर्ण सम्बन्धित सजावटको कामलाई पूर्णता दिइयो।

हरमन्दिर साहेब, स्वर्णमन्दिर पञ्जाब अमृतसर (भारत) संसारभरिमा एक अद्भुत, फरक आकर्षण, आस्थाको दर्शनीय तथा श्रवणीय ऐतिहासिक एवं धार्मिक स्थल हो। यस पावन तथा पवित्र स्थलमा बा–ह महीना चौबीसै घण्टा श्रद्धालु, भक्तालु तथा पर्यटकले भरिपूर्ण चकमन्न तथा आस्थामय भइराख्छ। गुरु साहेबहरूको इच्छा, चाहना तथा वरदान अनुसार यो विश्वको एक यस्तो आस्थाको थलो र केन्द्र बनेको छ, जसको वर्णन गर्ने शब्द नै छैन। भनिन्छ, सरोवरको स्नानले कृपा, भक्ति र स्वास्थ्य मिल्छ, शरीर चङ्गा हुन्छ। त्यहाँको वातावरण र शब्द कीर्तनले आत्मा र मन दुवै चङ्गा हुन्छ। स्वर्णमन्दिर साहेब कहिले पनि निदाउँदैनन्। अमृत बेलामा माथि तख्तबाट श्री गुरुग्रन्थ साहेबको सवारी आएपछि दरबार शुरू हुन्छ। त्यसपछि शब्द कीर्तन, पाठ, दर्शन भेट, आस्था भक्ति, प्रत्येकपटक कडाह प्रसाद (हलुवा प्रसाद), शुद्ध घ्यूको चौबीसै घण्टा गुरुको लङ्गर (निश्शुल्क भोजन प्रसाद), बस्नलाई सानादेखि आलिशान कोठाहरू न्यूनतम शुल्क ठाउँ हेरेर (कहिलेकाहीं अग्रिम बुकिङ गर्नुपर्छ) पाइन्छ। राति श्री गुरुग्रन्थ साहेबको फिर्ती सवारी माथि शयनकक्षमा भएपनि चहलपहल, रौनक, मेला उस्तै हुन्छ। दरबारभित्र सधैं मार्बलको पालिस, स्वच्छ जल, त्यसपछि घैलाका घैला दूधले भुइँलाई धोइन्छ। सबै सुनका छत्र तथा अन्य सुनका सामग्रीलाई पालिस गरिन्छ। नयाँ वस्त्रहरू, ताजा फूलहरू, इत्रहरूले सुगन्धित पारेर तयार गरिन्छ। गुरुद्वाराको शब्द कीर्तनलाई अति कर्णप्रिय मानिन्छ। असोज महीना खासगरी त्यहाँ विशेष हुने गर्दछ। गुरु रामदास महाराजको जन्मजयन्ती (प्रकाशोत्सव) तिथिको हिसाबले यही महीनाको (नोभेम्बर २ तारिख २०२०) २०७७ कात्तिक १७ गते सोमवार पर्छ। सो उत्सव महीना दिनसम्म व्यापकरूपमा मनाइन्छ तर यसपालि कोरोना महामारीले गर्दा सादा नै हुनेछ। संसारका विभिन्न स्थानबाट श्रद्धालुहरूको यहाँ मेला लाग्ने गर्दछ। चहलपहल, रौनक, शब्द कीर्तन, प्रवचन, धार्मिक गोष्ठी, स्नान, ध्यान तथा दीपावलीले त्यहाँको नजारा हेर्ने लायक हुने गर्दछ।

गुरु रामदास महाराजले उसिनेको चना बेचेर आफ्नो जीविकोपार्जन गर्ने तथा गुरु घरको सेवा टहल गर्थे। आज त्यही पवित्रस्थलमा प्रतिदिन १ लाख भक्तालुहरूले आश्रय पाउँछन्, लङ्गर भोजन पाउँछन्। धन्य श्री गुरु रामदास महाराज। यस गुरु पर्वको उपलक्ष्यमा सबैमा हार्दिक बधाई तथा शुभकामना।

श्री रामदास महाराजको कृपाले संसारमा व्याप्त कोरोना महामारीलगायत अन्य सबै रोग, प्राकृतिक प्रकोपहरूबाट मानव तथा सबै जीवले मुक्ति पाऊन्। सबैको जीवन स्वस्थ, समृद्ध र खुशीयालीले परिपूर्ण होस् भनी प्रार्थना गरौं।
–जसपाल सिंह, वीरगंज–१४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्