महानगरका विद्यालय कात्तिक २३ गतेदेखि खुल्ने

79

प्रस, वीरगंज, १६ कात्तिक/
    वीरगंज महानगरपालिका शिक्षा महाशाखाले आयोजना गरेको सामुदायिक विद्यालयहरूको बैठकमा कात्तिक २३ गते आइतवारदेखि महानगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ।
    शिक्षा महाशाखाका शाखा अधिकृत हरिराउत कुर्मीले कात्तिक २३ गते आइतवारदेखि कक्षा ८ देखि १० सम्मका कक्षा सञ्चालन हुने निर्णय भएको बताए। उनले तोकिएको स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सामाजिक दूरी कायम गरेर एउटा बेन्चमा दुईजना विद्यार्थी बस्ने गरी विद्यालय खोल्न सहमति भएको बताए। महानगरमा भएका सबै विद्यालयले अभिभावकहरूसँग सहमति गरेर विद्यालयलाई विसङ्क्रमित गर्ने, विद्यालयमा साबुन–पानीको व्यवस्था गरी तत्काल कक्षा ८ देखि १० सम्म कक्षा सञ्चालन गर्न सहमति भएको बताए।
    आइतवार सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू सम्मिलित भेलाले यो निर्णय गरेको हो। विद्यार्थी  सङ्ख्या बढी भएका विद्यालयहरूले सिफ्ट बढाएर र थोरै भएका विद्यालयहरूले एक सिफ्टमा कक्षा सञ्चालन गर्ने सहमति भएको छ। सामुदायिक विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भेला भएपनि महानगरमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय भएको हो।
    बैठक वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्