बनाएको दोस्रो दिन कालोपत्रे उप्कियोप्रजिअलाई अनुगमन गर्न स्थानीयको आग्रह

0
51

प्रस, वीरगंज, १६ कात्तिक/
    वीरगंज–ठोरी निर्माणाधीन हुलाकी सडकको काम गुणस्तरहीन भएपछि अनुगमनको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्।
    ठोरी वडा नं ३ अन्तर्गत ढुङ्गे बजार क्षेत्रमा कालोपत्रेको अन्तिम ‘लेयर’ पिच गरेको दुई दिन नबित्दै उप्किएपछि स्थानीयले विराध गरेका हुन्। दशैंको बेला स्थानीय बासिन्दा आआफ्नै घरमा व्यस्त रहेको मौका छोपी निर्माण कम्पनीले हतार–हतारमा कालोपत्रे गरेको र अन्तिम ‘लेयर’ पिच हातले खोस्रिंदा उप्किएको ढुङ्गे बजारका बासिन्दाले बताएका छन्। “मोटरसाइकल गुड्दासमेत भत्कने कालोपत्रे ठूला सवारी दौडेपछि के होला ?” ठोरी–३ का वीरमान श्रेष्ठले प्रतीकलाई बताए। “कालोपत्रेमा प्रयोग भएका गिट्टी जाम भएको छैन, औजारविना हातले नै कोट्टयाउन सकिन्छ,” उनले भने।
    हुलाकी सडक निर्माण परियोजनाका प्राविधिकहरूका अनुसार सडकमा डबल कोड अर्थात् दुई लेयरको कालोपत्रे हुन्छ। पहिलो लेयरभन्दा दोस्रो अर्थात् अन्तिम लेयर निकै मिहीन र एकापसमा जाम भएको हुनुपर्छ। तर ठोरी क्षेत्रको हुलाकी सडकमा पहिलो लेयरभन्दा दोस्रो लेयर बुरबुराउँदो, छिद्र भएको र एकापसमा जाम नभएको अवस्थामा छ।
    कालोपत्रेको अन्तिम लेयर गर्ने बेला मेशिनमा आएको खराबीका कारण केही ठाउँमा पिच उप्किएको बानियाँ निर्माण सेवामा कार्यरत एक प्राविधिकले नाम नछाप्न आग्रह गर्दै खुलासा गरे। तर निर्माण कम्पनीका फिल्डमा खट्ने अधिकारीहरू भने आफ्नो कमजोरी लुकाउन गुणस्तरहीन कामलाई नै सदर गराएर अगाडि बढ्ने पक्षमा देखिएका छन्।
    सडक निर्माण गरिरहेको बानियाँ निर्माण सेवाका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले भने निर्माण कार्य गुणस्तरीय रहेको दाबी गरे। केही असन्तुष्ट व्यक्तिले विरोध गरेको भन्दै उनले उपल्लो निकायबाट आउने अनुगमन टोलीले जे निर्देशन दिन्छ, आफूले त्यस्तै गर्ने बताए।
    यसअघि पनि कालोपत्रे गर्ने क्रममा ठोरी मेलचोक, विजयबस्तीलगायतका क्षेत्रमा कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले काम अवरुद्ध गरेका थिए। केही स्थानमा काम जहाँको त्यहीं छ भने केही स्थानमा सुधार गरेर काम अगाडि बढेको छ।
    ढुङ्गे बजार क्षेत्रका बासिन्दाले मुख्यतः फिल्डमा खट्नेहरूकै दोष रहेको भन्दै  पर्साका प्रमुख जिल्ला अधिकारी, हुलाकी सडक परियोजनाका अधिकारी र निर्माण कम्पनीका मुख्य ठेकेदार फिल्डमा आएर कामको निरीक्षण गरी दोषीमाथि कारबाई गर्नुपर्ने माग राखे। सबै पक्षलाई निर्माण कम्पनीले फिल्डमा नल्याएसम्म काम अगाडि बढ्न नदिने उनीहरूको अडान छ।
    सो सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सडक निर्माणमा पहिलो चरणको कालोपत्रे गर्दा पनि केही गुनासा आएको स्मरण गर्दै आफूले तत्काल निर्माण कम्पनीका ठेकेदार, स्थानीय प्रहरी र स्थानीय सरकारलाई समेत जानकारी गराइ सुधार गर्न लगाएको बताए। ढुङ्गे बजार क्षेत्रको अन्तिम कालोपत्रेमा समस्या आएकोबारे आफूलाई जानकारी नआएको भन्दै प्रजिअ तामाङले वास्तविकता बुझेर तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्