दशैं, हलोविन, निर्वाचन र मणिराम शर्मा

0
83

कुमार रुपाखेती
दशैंः
यस वर्ष मानव मात्र नभई चाडपर्वहरूसमेत कोरोनापीडित बने। वर्षमा एकपल्ट दशैं मान्न घर आउनेहरू यसपालि घर आउन सकेनन्। नजीक भएकाहरूले समेत मोबाइलबाटै शुभकामना आदानप्रदान र आशीर्वाद लिए। कतिपय ठाउँहरूमा दशैं मेला लाग्न सकेन, कतिपय मन्दिर नै बन्द रहे। अमेरिकामा बस्ने नेपालीहरूले समेत परम्परागतरूपमा दशैं मनाउँदा रहेछन्। खसी काट्ने, जमरा थाप्ने र दशमीका दिन टीका लगाएर हिंड्नेहरू यहाँ पनि देखिए। यहाँका कतिपय नेपाली मन्दिरहरूले दशमीका दिन जमरा वितरण गर्दा रहेछन्। भर्जिनियाको राजधानी नामक मन्दिरले निकै जमरा वितरण गर्दोरहेछ।हलोविनः
२१ अक्टुबरका दिन अमेरिकालगायत मुलुकमा हलोविन भन्ने चाड धूमधामले मनाइन्छ। यो क्रिश्चियनहरूको ठूलो पर्व रहेछ। यो पर्व दिवङ्गत आत्मा, गुरु र शहीदहरूको सम्झनामा मनाइँदो रहेछ। अक्टोबर महीनाको प्रारम्भदेखि नै घर–आँगन, खुला चौर, सार्वजनिक स्थलहरूमा विभिन्न आकृति र चित्रहरू राखेर सजाइन्छ। मृत आत्माको सम्झनामा गरिने पर्व भएकोले होला यो पर्वमा कङ्काल, फर्सी, भूतप्रेत र डरलाग्दा ठूला माकुरा आदिको ठूल्ठूला आकृति बनाएर घर, ढोका र चौरमा राखिन्छ। यो पर्वमा फर्सीको विशेष महत्व देखिन्छ। फर्सीले पुनर्जन्म र जीवनको शक्ति दर्शाउँछ भनेर क्रिश्चियनहरूको विश्वास र परम्परा रहेछ। अमेरिकामा अन्नपात, बाली भिœयाउने समयसमेत यही महीनातिर पर्ने भएकोले राम्रो बलि र समृद्धिको सूचकसमेत मानिन्छ हलोविन पर्व। अमेरिका, मेक्सिकोलगायत मुलुकले यो पर्व ३१ अक्टुबरमा मनाए पनि इङ्गल्यान्डलगायत युरोपेली राष्ट्रमा यो पर्व १ नोभेम्बरमा मनाइन्छ। यो पर्वमा केटाकेटीहरू विभिन्न किसिमका कस्ट्युम (लुगा) लगाउँछन् जस्तै सुपर–हिरो, हिरोइनको पहिरन, डरलाग्दा जनावरको वेशभूषा, फलफूलसहितको पहिरन लगाएर समूह बनाएर छिमेकीको घरमा ट्रिक अर ट्रिट भन्दै हल्ला गर्दै पुग्छन्। यसरी ढोकामा आउने केटाकेटीलाई घरमुलीले चकलेट, क्यान्डी, जुस आदि खानेकुरा दिएर स्वागत गर्दछन्। यो पर्वमा बच्चाहरूका साथ अभिभावकहरू समेत निकै सक्रियरूपमा सरिक हुन्छन्। यो दिन घर अगाडि सानो धुनी बाल्ने, नाचगान गर्ने, भोज गर्ने र शाकाहारी खाना खाने गरिन्छ। जाको–ल्याटर्न अर्थात् विभिन्न आकृति कुँदेको पाकेको फर्सी घरदैंलोमा देखिन्छ। हलोविनका सबै फोटो मेरा नातिनी ७ वर्षीया सान्भीले खिंचेकी हुन्।निर्वाचनः
अहिले अमेरिकामा राष्ट्रपति निर्वाचनको गहमागहमी देखिन्छ। रिपब्लिकन र डेमोक्रेटहरू आआफ्नो उम्मेदवार जिताउन जीउ–ज्यानले लागेका छन्। चार वर्ष अघिको निर्वाचनमा हिलारी जित्ने र ट्रम्प हार्ने निश्चितझैं भएकोले थुप्रै ट्रम्प समर्थकहरूले मतदान नगरेको, त्यस्तै जित्ने निश्चित प्रायः भएकाले हिलारी समर्थक थुप्रैले मतदान नगरेका रहेछन्। तर निर्वाचन परिणाम ट्रम्पको पक्षमा गयो। त्यसैले यसपटक दुवै पक्षका समर्थकहरू बढीभन्दा बढी सङ्ख्यामा मतदान गर्दैछन्। अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासमा यसपल्ट सबैभन्दा बढी मतदान हुने अनुमान गरिएको छ। नोभेम्बर ३ तारिखसम्म कसले विजय प्राप्त ग–यो भनी संसारले नै थाहा पाउने व्यवस्था गरिएको छ। यसपटक पनि ट्रम्प कमजोर देखिएका छन्। विगतको निर्वाचनझैं उनको जादू चल्नेमा उनका कार्यकर्ता ढुक्क छन्।

मणिराम शर्माः
करीब चालीस वर्षपछि शायद २०७१ सालतिर मैले गोपाल गोतामे पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको मञ्चमा अचानक धु्रवचन्द्र गौतम र जगदीश शर्माको बीचमा मणिराम शर्मालाई देख्दा आश्चर्यमा परे। यो कार्यक्रम होटल सम्झनामा भएको थियो। शर्मा र गौतम बालसखा हुन् र करीब ३४ वर्ष अघिदेखि मणिराम शर्मा अमेरिकामा बस्दै आएका थिए। मैले चाहेर पनि त्यो बेला मणिरामसँग कुरा गर्न पाइनँ, खोइ उनी मञ्चबाट ओर्लिएर कता गए १ तर दशैं टीकाको भोलिपल्ट अर्थात् २६ अक्टुबरका दिन म उनलाई भेट्न १५७ माइल्स टाढा रहेको पेन्सिलभेनिया राज्यको लैङ्कास्टर पुगें। उनी कसैलाई सितिमिति नभेट्ने भएकाले मेरील्यान्डमा बस्ने वीरगंजकै गणेश श्रेष्ठ र रञ्जिता श्रेष्ठलाई भनेर समय मिलाएको थिएँ। गणेश र रञ्जिनालाई मणिरामले छोरीज्वाइँ सरह व्यवहार गर्दा रहेछन्। लैङ्कास्टरमा मणिरामको ख्यातिप्राप्त ताजमहल रेस्टुरेन्ट छ। हाम्रो न्यानो भेट त्यहीं भयो। उनले हामीलाई खाना खुवाएपछि आफ्नो सङ्घर्षको सानो कथाव्यथा सुनाए। उनी सन् १९८७ मा अमेरिका गएको र सन् १९९५ तिर ताजमहल खोलेका रहेछन्, जुन त्यहाँको स्तरीय रेस्टुरेन्ट रहेछ। जमानामा उनी लामो समयसम्म मन्त्री शैलेन्द्रकुमार उपाध्यायको पिएसमेत रहेछन्। आफूसँग थुप्रै सीप रहेको तर पैसा नभएको र नेपाली बैंकहरूबाट ऋण लिन गा–हो भएपछि उनी जीवन निर्वाहका लागि अमेरिका आएको बताए। उनी यस अघि सन् १९७६ मा समेत केही समय अमेरिका बसेर आएका रहेछन्। उनी अमेरिका र नेपालमा सामाजिक सेवामा समेत सक्रिय छन्। उनले नेपालको एउटा विद्यालयलाई वार्षिक ५ लाख पठाएर, बच्चाको स्तरीय पढाइ गराउँदै आएको, स्वास्थय क्षेत्रमा नेपालमा व्यक्तिगत सहयोग गरिरहेको, यही २०२० मा मकवानपुरमा यहाँबाट ख्यातिप्राप्त डाक्टरहरू लगेर निश्शुल्क चेकजाँच र अपरेशनको व्यवस्था मिलाएकोमा कोभिड–१९ ले गर्दा सो योजना थाती राखेको बताए। यस्तै आफ्नो ताजमहलमा काम गर्ने दर्जनौं नेपाली दाजुभाई र केही भारतीयहरूलाईसमेत ग्रीनकार्ड दिलाउन सहयोग गरेका रहेछन्। पाँच वर्ष अघि पत्नी इन्दिरा शर्माको निधनपछि मणिराम शर्मा अलि निराश भएका र थाकेको मैले महसूस गरें तापनि झन्डै ८० वर्ष पुग्न लागेका उनी आफैं गाडी चलाउने, सधैं जीम जाने, वाकमा जाने गर्नाले फुर्तिला युवाजस्तै देखिन्थे। अब उनी ताजमहलबाट बिदा हुन चाहेको बताए। पत्नीको देहावसानपछि शर्माको सहारा बनेकी छिन् उनकी छोरी। ताजमहल अब उनी नातिको जिम्मा लगाउन चाहन्छन्। त्यहाँ बस्ने नेपालीहरूका लागि मणिराम एउटा सल्लाहकार, अभिभावक र सम्मानित व्यक्तित्व रहेछन्। उमेरले गर्दा उनले आफ्नो तीनवटा ग्याँस स्टेशन बेचेको तर उत्तराधिकारीहरूको सहयोगले ताजमहल नबेच्ने, न बन्द गर्ने उनको इच्छा रहेछ। बुढेसकालमा केही समय नेपालमा र केही समय अमेरिकामा बिताउने समाजसेवी मणिरामको चाहना रहेछ। आफ्नो समयमा वीरगंजमा जेहेन्दार विद्यार्थी मानिने मणिराम शर्मा त्यतिखेर नै टाई र सुटको शौखिन थिए। उनको टाई–सुटको शोख अझै कायम छ। मणिराम शर्माजस्ता सङ्घर्षशील व्यक्तित्व सबैको लागि प्रेरणा बनोस्, उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्