प्रहरी कार्यालयमा यातना दिएको आरोप

0
43

प्रस, वीरगंज, १५ कात्तिक/
    वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मी निवासी ४५ वर्षीय भुलाइ यादवलाई प्रहरीले नियन्त्रणमा लिएर चरम यातना दिएको उनका भाइ रोशन यादवले आरोप लगाएका छन्।
    गएराति प्रहरीले दाइलाई पक्राउ गरेको र चरम यातना दिएको कारण उनको उपचार अहिले नारायणी अस्पतालमा भइरहेको रोशनले बताए। पाँच दिनअगाडि भुलाइ यादवकी बुहारी लालसा देवी र छिमेकी धुरी यादवका परिवारबीच घास काट्ने विषयलाई लिएर झगडा भएको थियो। सो क्रममा लालसा देवीको हात भाँचिएको र उनको उपचार पनि नारायणी अस्पतालमा भइरहेको छ। झगडाको कसूरमा प्रहरीले धुरी यादवका छोरा बलिराम यादवलाई पनि पक्राउ गरेको छ। यसैबीच, प्रहरीले शुक्रवार राति भुलाई यादवलाई पक्राउ गरेको र अपराध शाखामा चरम यातना दिएको उनका भाइ रोशन यादवले आरोप लगाए। उनले आफू अपराध शाखामा दाइलाई भेट्न जाँदा हातखुट्टा बाँधेर प्लास्टिकको पाइपले कुटेको दाबी गरे। दाइलाई आफ्नै आँखाअगाडि कुटेको प्रतीकलाई उनले बताए।
    प्रहरी नायब उपरीक्षक एवं पर्सा प्रहरीका प्रवक्ता मनोजीत कुँवरले सामान्य सोधपूछको लागि यादवलाई बोलाएको र उनलाई कुटपिट नगरेको दाबी गरेका छन्। प्रवक्ता कुँवरले यादव पहिलेदेखि बिरामी भएको र उपचारका लागि अस्पताल लगिएको बताए। घटना सम्बन्धमा यादवलाई हेर्न अस्पताल पुगेका नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी र जसपाका नेता रामनरेशप्रसाद यादवले दोषी प्रहरीमाथि कारबाईको माग गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्