तराई–मधेसबाट हिमालको दृश्य छर्लङ्ग देखियो

0
39

प्रस, निजगढ, १५ कात्तिक/
    अन्य वर्षको तुलनामा यस वर्ष कात्तिक आधा बित्दा पनि तराई–मधेसमा एकाबिहानै टन्टलापुर घाम झुल्किने गरेको छ भने दिउँसो निकै गर्मी हुने गरेको छ। आकाश खुल्ला भएसँगै शनिवार एकाबिहानैदेखि बाराको निजगढ, पिलुवा, बडर्हवा, डुमरवाना, कोल्हवी, सदरमुकाम कलैयालगायत जिल्लाका दक्षिणी भेगका बस्तीहरूबाट हिमाल टल्किएको देख्न पाएपछि तराई–मधेसवासीहरूमा एक किसिमको खुशी छाएको छ।
    वसन्त ऋतु पार भई शरद ऋतुको आगमन अर्थात् गर्मी महीना अन्त भई जाडो महीना शुरू हुने बेला मौसम सफा भएको बखत वर्षमा प्रायः एक/दुई पटक मात्र यहाँबाट हिमाल देखिने गरेको जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडर्हवाका शिव खड्काले बताए।
    यहाँबाट गौरीशङ्कर हिमाल, अन्नपूर्ण हिमाल, धौलागिरि हिमालको दृश्य र कहिले अन्य हिमालका चुचुरोसमेत निकै मनमोहक देखिने गरेको उनले बताए।
    तराई–मधेसको समथर भूमिबाट उत्तरतर्फ रहेको तराईको चारकोसे घना वनजङ्गल क्षेत्र, विश्वको कान्छो पहाड चुरे शृङ्खला पर्वत, महाभारत पहाड पर्वतपछि हिमाल प्रस्ट देखिंदा जोकोहीको मन पनि लोभ्याउने गरेको छ। यसरी हिमाल देखेपछि वीरगंज, कलैया हँुदै पिलुवा, निजगढ आउने अधिकांशले मोबाइलले दृश्य कैद गर्ने गरेका छन्।
    पूर्व–पश्चिम राजमार्गको बकैयापुलको पश्चिम भागबाट उत्तरतर्फ हेर्दा आज बिहान हिमालका दुई/चार वटा चुचुरो देखियो। तर दक्षिणी भेगबाट हेर्दा गौरीशङ्कर हिमालको फेद नै देखे जस्तो तलसम्म नै छर्लङ्ग देखिएको थियो। यसरी तराई–मधेसबाट हिमाल छर्लङ्ग देखिएपछि तराईमा जाडो शुरू हुने जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडर्हवाका अर्का स्थानीय लीलाबहादुर जर्गामगरले बताए। यसरी हिमाल छर्लङ्ग देखेपछि तराईमा जाडो शुरू हुने र बाहिरी जाडो नभएर मुटु नै कपाउने खालको हुने उनले थपे।
    यसरी एकाबिहानै हिमालको दृश्य देखिएपछि तराई–मधेसको वर्षभरिको गर्मी बिर्सिएर आनन्द आउने गरेको स्थानीयहरूको भनाइ छ। वनजङ्गललगायत अन्य पर्यावरणको उचित संरक्षण गर्न सके यस्ता प्राकृतिक मनमोहक हिमाल अन्य समयमा पनि देख्न सकिने अनुमान यहाँका स्थानीयहरूको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्