सजिलोसँग कोपिला लेख्ने तरीका

0
57

वैधनाथ ठाकुर
    कोपिला नेपाली साहित्यमा नयाँ प्रयोग भएपनि यो अत्यन्तै सजिलो र सरस छ। सजिलोभन्दा सजिलो कुरा पनि लेख्न जानिएन भने कठिनाइ हुनु स्वाभाविक हो। कोपिलामा दुर्ईवटा पातको बीचमा मुना रहेको हुन्छ। पहिलो हरफ माथिल्लो पात हो र तेस्रो हरफ तल्लो। बीचको हरफ मुना हो। मुनामा कोपिलाको मूल भाव रहेको हुन्छ र पातहरूले त्यो मूलभावलाई स्पष्ट पार्ने, समर्थन वा विरोध गर्ने, उपमा दिने, व्यङ्ग्य गर्ने, रस भर्ने आदि कार्य गर्दछन्। मुना स्वतन्त्र हरफ हो र पातहरू अनुप्रास र स्थायीयुक्त सरस हरफहरू हुन्। मुना र पातबीच भावगत घनिष्टता हुन्छ।    

सजिलोसँग कोपिला लेख्ने हो भने सबैभन्दा पहिले मुना लेख्नुपर्छ। शुरूमा आफूलाई घत परेको कुनै विषयमा  १० र १२ अक्षरको कवितात्मक मुना बनाउनुपर्छ। त्यसपछि त्यस विषयलाई समर्थन वा विरोध वा व्यङ्ग्य वा उदाहरण वा रस– के दिने, सोही अनुसार दुईवटा ८ र १० अक्षरका अनुप्रास र स्थायीयुक्त पातहरू लेख्नुपर्छ। ती पातहरूमध्ये एउटालाई मुनाभन्दा अगाडि र अर्काेलाई पछाडि राखेपछि कोपिला तयार हुन्छ।
    जस्तै बिहान उठ्नासाथ झ्यालबाट बाहिर हेर्दा पर डाँडामा घाम उदाएको देख्नुभयो र तर आफूलाई अल्छी लागेको छ भने यसै विषयमा कोपिला लेख्न सकिन्छ। जस्तो– घाम उदाइसकेछ, कति अल्छी भएछु। यसैलाई अलिकति कवितात्मक बनाएर मुना लेख्न सकिन्छ–
    आज पनि म अल्छीमा दरिएँ
    यो ११ अक्षरको मुना बन्यो। अब कोपिला पूरा गर्न दुईवटा अनुप्रास र स्थायीयुक्त पातहरू लेख्नुपर्छ। हजुरलाई मुनाको समर्थन गर्ने पातहरू लेख्न मन लाग्यो भने यसरी लेख्न सक्नुहुन्छ –
    रवि टाँगामा चढिसकेछन्
    चरी हाँगामा चढिसकेछन
    यी प्रत्येक पातमा १० अक्षर छन्। यहाँ ‘टाँगामा’ र ‘हाँगामा’ अनुप्रास हुन् र दुवै पातको अन्तमा आएको चढिसकेछन् स्थायी हो। अब पात र मुनालाई मिलाएर राख्नुस्–
रवि टाँगामा चढिसकेछन
    आज पनि अल्छीमा दरिएँ म
    चरी हाँगामा चढिसकेछन्

    हेर्नुस् त कति मीठो कोपिला तयार भयो। त्यस्तै कुनै फूल फुलेको देख्दा र त्यसको अनुभूति गर्दा भन्नुहुन्छ – आहा १ कति राम्रो फूल। यसैलाई मुना बनाउनुस्–
    आहा १ कति सुन्दर छन् फूलहरू
    यो १० अक्षरको मुना बन्यो। अब यसलाई सिंगार्ने पातहरू लेख्नुस्। जस्तै–
    टिपूँटिपूँ मन भयो
    जति हे–र्या झन् भयो
    यी ७ अक्षरका पात भए। यिनमा ‘मन’ र ‘झन’ अनुप्रास भए, ‘भयो’ स्थायी भयो। अब पात–मुना–पात मिलाएर लेख्नुस्–
 टिपूँटिपूँ मन भयो
    आहा १ कति सुन्दर छन् फूलहरू
    जति हे–र्याे झन् भयो

    हेर्नुस् त कति सजिलै अर्काे कोपिला तयार भयो। यसैगरी जुनसुकै विषय, भाव, घटना, कल्पना, चिन्तन आदिमा पनि सजिलै कोपिला लेख्न सकिन्छ। जस्तै राजनीतिसँग रिस उठ्यो र मनमा यस्तो भाव आयो – यो राजनीति हो कि विकृति हो ? अब यसैलाई अर्काे मुना बनाउनुस् –
    यो राजनीति पनि विकृति हो कि
    यो १२ अक्षरको मुना बन्यो। अब यसलाई व्यङ्ग्य गर्ने दुईवटा पात लेख्नुस्। जस्तै यस्तो लेख्नुभयो –
    नेतैमात्र  मोटाउँछन्  कति
    जनतालाई लोटाउँछन् कति
    यी भए १० अक्षरका पातहरू।  यहाँ ‘मोटाउँछन्’ र ‘लोटाउँछन’ अनुप्रास हुन् र ‘कति’ स्थायी हो। अब पात– मुना – पात मिलाउनुस् –
 नेतैमात्र मोटाउँछन् कति
    यो राजनीति पनि विकृति हो कि
    जनतालाई लोटाउँछन् कति

    अर्काे कोपिला तयार भयो। अब अर्काे प्रयास गरौं। फूटपाथमा लडिरहेको अनाथ बालक देखेर दया आयो र मनमा यस्तो भाव आयो – यो धरामा सबैको समान अधिकार छैन र ?
यो धरामा सबैको अधिकार समान किन छैन
    यो १६ अक्षरको मुना बन्यो। १८ अक्षरसम्मको मुना बनाउन पाइन्छ। अब यसै मुनामा करुण रसका दुईवटा पातहरू लेख्नुस्। यस्तो लेख्नुभयो–
यी अनाथहरूका नाथ कहाँ गए खै
को दिन्छ यिनलाई साथ कहाँ गए खै
    यी १२ अक्षरका पात भए। ‘नाथ’ र ‘साथ’ अनुप्रासको रूपमा आएका छन्, ‘कहाँ गए खै’ स्थायीको रूपमा प्रयोग भएको छ। मिलाएर राख्दा यस्तो बन्छ–
यी अनाथहरूका नाथ कहाँ गए खै
यो धरामा सबैको अधिकार समान किन छैन
को दिन्छ यिनलाई साथ कहाँ गए खै

    अर्काे खासाको कोपिला बनेन त ? यसरी सजिलै बन्छन् कोपिलाहरू। लेख्नको बेर मात्र हो, कोपिला बन्न बेर लाग्दैन। अर्काे पनि प्रयास गरौं। यो कोरोनाको कहरमा हजुरलाई दिक्क लागेको हुन सक्छ र यस्तो भाव फुर्न सक्छ – यो कोरोना किन अझै जाँदैन ?
    यही ११ अक्षरको मुना भयो। अब पातहरू लेख्नुस्। जस्तै हजुरले यस्तो लेख्नुभयो –
    महीनाहरू गए याम गयो
    गरिखानेहरूको काम गयो
    यी भए १० अक्षरका पातहरू। मुनाभन्दा पातहरू मुनाको लम्बाइ सुहाउँदो १ देखि ५ अक्षरसम्म छोटा हुनुपर्छ। यहाँ ‘यामै र ‘काम’ अनुप्रास भए ’गयो’ स्थायी भयो। अब मिलाएर लेख्नुस् –
महीनाहरू गए याम गयो
    यो कोरोना किन अझै जाँदैन
    गरिखानेहरूको काम गयो

    बनेन त गज्जबको कोपिला ? अर्काे रमाइलो कुरा पनि हजुरलाई भन्छु। माथि लेखिएका कुनै पनि कोपिलामा पातहरू उल्टोपल्टो गरेर राखिहेर्नुस् त के हुन्छ। कोपिलाको भाव र सौन्दर्यमा कुनै परिवर्तन आउँदैन। यो खासियत केवल कोपिलामा मात्र पाइन्छ।
    कोपिलामा अनुप्रास र स्थायीबारे केही कुरा –
    कोपिलामा स्थायीको प्रयोग र आवश्यकताका विषयमा केही प्रश्नहरू र केही असहजताहरू देखिएका छन्। यसबारे केही चर्चा गर्दैछु।
    स्थायी भनेको कोपिलाका दुवै पातमा अनुप्रासपछि आउने शब्द वा शब्दसमूह हो। यसले पातलाई र कोपिलालाई पनि सरस बनाउँछ, वाचन गर्दा तथा गाउँँदा लय दिन्छ। यसमा स्वरको अवनति हुन्छ। जस्तै पातहरूमा उडेर र गुडेर अनुप्रास छन् भने तिनीहरूमा ‘जान्छन्’ भन्ने स्थायी थपेपछि उडेर जान्छन् र गुडेर जान्छन् बन्दछ। अब यी अनुप्रास र स्थायीका संयोजनहरू वाचन गर्दा सरस सुनिन्छ।
    जुनसुकै पातको अन्तमा स्थायी सजिलै थप्न सकिन्छ। लेख्दालेख्दै यसको अभ्यास हुन्छ। मालीहरूले विनास्थायी पात लेखेर पछि सजिलै थप्न सक्छन्। त्यसैले स्थायीलाई कोपिला लेख्दा काँडाको रूपमा नलिइदिनुहुन विनम्र अनुरोध छ। स्थायी कोपिलाको महत्वपूर्ण विशेषता हो। यसलाई छोड्यौं भने कोपिलाको मौलिकतामा ह्रास आउँछ।
    अर्काे प्रश्न छ स्थायी केकस्तो राख्न सकिन्छ। स्थायी शब्द वा शब्दहरूको समूह हो, माथि नै भनिएको छ। शब्द भनेपछि एकाक्षरी, निपात पनि हुन सक्छ। जस्तै नै, पो, त, … यिनीहरूलाई पनि स्थायीको रूपमा प्रयोग गर्दा कोपिलामा रस बढ्छ। स्थायी धेरै अक्षरको पनि हुन सक्छ। यसलाई मालीको रुचि र कोपिलाको भाव अनुसार प्रयोग गर्ने हो, जबर्जस्ती थोपरेको स्थायी सुहाउँदैन। त्यसैले स्थायी यति नै अक्षरको हुनुपर्छ भनेर सीमित गर्नु ठीक हुँदैन।
    शब्द समूहमा कुन अनुप्रास हो र कुन स्थायी र कुन हैन भन्ने विषयमा जाऔं। वर्णानुप्रास र स्वरानुप्रास गरी दुर्ई किसिमका अनुप्रास हुन्छन्। वर्णानुप्रासमा व्यञ्जन र स्वर दुवै लयमा हुन्छन्। जस्तै– गरेर, परेर, भरेर …आदि वर्णानुप्रास हुन्। यहाँ ‘अरेर’ साझा भएर अनुप्रास बनेको छ। स्वरानुप्रास भनेको अन्तिम स्वरमात्र साझा हुने अनुप्रास हो। जस्तै मकै, अझै, कसै… आदि स्वरानुप्रास हुन्। यहाँ ‘ऐ’ स्वर मात्र साझा छ। सकेसम्म कोपिला लेख्दा वर्णानुप्रास नै राख्नुपर्छ किनकि यसमा मीठो लय हुन्छ। तर स्वरानुप्रास वर्जित छैन।
    स्थायी भनेको त्यस्तो शब्द वा शब्द समूह हो, जसलाई छुट्टै लेख्न सकिन्छ। तर कतिपय शब्द व्याकरणका नियम अनुसार अघिल्लो शब्दमा जोडिने हुन्छ। कतिपय शब्द समास भएर जोडिन्छ। विभक्ति लागेका शब्दहरूमा विभक्तिलाई पनि स्थायीको रूपमा लिन सकिन्छ। जस्तै पानामा र खानामा भन्ने शब्दहरूमा पाना र खानालाई अनुप्रास मानेर ‘मा’ विभक्तिलाई स्थायी मान्न सकिन्छ। मरिरहेछ र झरिरहेछ भन्ने शब्दमा मरि र झरि अनुप्रास हुन, रहेछ स्थायी हो। किनभने झरिरहेछ भन्ने शब्द झरि  रहेछ भन्ने शब्द मिलेर बनेको हो। रहेछ भन्ने शब्द छुट्टै लेख्दा पनि त्यसको अर्थ आउँछ। घामपानी र दामपानी भन्ने शब्दहरूमा घाम र दाम अनुप्रास हुन् र पानी स्थायी हो। यी शब्दहरू समास भएर बनेका हुन्। यहाँ पानीको छुट्टै अर्थ हुन्छ। यसरी स्थायी त्यो शब्द हो जुन छुट्टै लेख्दा पनि अर्थ हुन्छ। तर अति छोटा स्थायी कमै प्रयोग गर्नु राम्रो हुन्छ।
    स्थायी पातको अन्तमा नै राखिन्छ। अन्यत्र राखेको स्थायीले कोपिलाको शोभा बढाउँदैन।
    स्थायी छुटेका कोपिला छन् भने पछि सुहाउँदो स्थायी थपेर पूर्ण कोपिला बनाउन सकिन्छ। यो उदाहरण हेरौं।
यो कस्तो कर्म
    पापै हुन्छ धर्म गर्दा पनि
    को बुझ्ला मर्म।

    यसमा धर्म र मर्म अनुप्रास हुन्। त्यसपछि स्थायी छैन। तर यसलाई सजिलै सुधार्न सकिन्छ।
यो कस्तो कर्म मेरो
    पापै हुन्छ धर्म गर्दा पनि
    को बुझ्ला मर्म मेरो।

    यहाँ दुवै पातमा ‘मेरो’ भन्ने शब्द स्थायीको रूपमा थपिएको छ। पछिल्लो कोपिला अघिल्लोभन्दा सरस छ र बढी भावुक पनि। यसो गर्दा कहिलेकाहीं पातभन्दा मुना छोटो हुन सक्छ। त्यस्तो अवस्थामा मुनामा पनि सुहाउँदो शब्द वा शब्दहरू थप्न सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्