विद्यालय सञ्चालनको अनुमति छैन – नगरप्रमुख सरावगी

0
156

प्रस, वीरगंज, १४ कात्तिक/
    वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले महानगरले विद्यालय सञ्चालनको लागि लिखित अनुमति नदिएको बताएका छन्। उनले महानगरमा रहेका विद्यालयहरूको अवस्था अनुगमन गरी सरोकारवालाहरूसँग छलफल गरेर मात्र विद्यालय सञ्चालनको स्वीकृति दिने बताएका छन्।
    प्याब्सन, पर्साले मौखिक सहमति भएर कक्षा ८ देखि १० सम्म विद्यालय सञ्चालन गर्न दिइएको भन्ने समाचार प्रकाशनमा आएपछि नगरप्रमुख सरावगीले महानगरले त्यस्तो सहमति नदिएको प्रस्ट्याएका हुन्। उनले आइतवार अथवा सोमवार नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एन–प्याब्सन, अभिभावक सङ्घलगायत सरोकारवालाहरूको भेला गरी परामर्श लिएर मात्र विद्यालय सञ्चालन सम्बन्धमा निर्णय गर्ने बताए।
    सामुदायिक तथा निजी विद्यालयहरूको अनुगमन गरी स्वास्थ्य मापदण्ड पूरा भए, नभएको बारे बुझेर मात्र आंशिक सञ्चालनको स्वीकृति दिन सकिने उनले बताए। इन्टरनेटमा पहुँच भएका विद्यार्थीहरूलाई अनलाइन सेवा प्रदान गर्न र इन्टरनेटमा पहुँच नभएकाहरूलाई मात्र विद्यालयमा अध्यापनको व्यवस्था मिलाउने उनले बताए। निजी विद्यालयहरूको भौतिक अवस्था साँघुरो भएकोले पूर्ण सञ्चालनमा ल्याउन नसकिने बताए। जोखिम मोलेर विद्यार्थीहरूको जीवनसँग खेलबाड गर्न नसकिने उनको भनाइ छ।
    वीरगंज महानगर शिक्षा महाशाखाका प्रमुख अरविन्द कर्णले पनि विद्यालय सञ्चालनको लागि स्वीकृति नदिएको बताए। महानगरले मौखिक स्वीकृति दिएको भनेर वीरगंजका केही निजी विद्यालय बिहीवारदेखि सञ्चालनमा आएका छन् भने केहीले आइतवारदेखि सञ्चालन हुने गरी अभिभावकहरूलाई आफ्ना बालबालिका पोशाकमा पठाउन सूचना जारी गरेका छन्।
    प्याब्सन र एन–प्याब्सनले दशैंअघि वीरगंजमा अन्तत्र्रिmया गरी कात्तिक ११ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए। सोही निर्णय कार्यान्वयन गराउन महानगरको शिक्षा महाशाखाले सहमति नदिए पनि कात्तिक १२ गतेदेखि विद्यालय सञ्चालनको हल्ला फैलाइएको बुझिन आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्