रातो टीका निधारमा…

0
26

मुकुन्द आचार्य
    कसै–कसैले भन्छन्, हेर त यो संसार कति सुन्दर छ ! प्रकृतिको सौन्दर्य हेर। कतै विशाल पहाडहरू छन्। कतै डरलाग्दा समुद्रहरू छन्। कतै अनकन्टार वन। कतै बालुवाको खानी रेगिस्तान छ। सुन्दर चराचुरुङ्गी पनि कतै छन् भने डरलाग्दा भयानक नरभक्षी पनि यहीं छन्। तर आजको मान्छे यस्तै सौन्दर्यमा भुल्न चाहन्न।
    मानवको स्वाभाविक प्रवृत्ति हो, ऊ पनि चराझैं उड्न र गाउन चाहन्छ। आफूलाई सुरक्षित जोनमा राखेर ऊ नरभक्षी हिंसकलाई नजीकबाट नियाल्न खोज्छ। आहा, पाटेबाघ पनि कति चित्ताकर्षक देखिन्छ। टिभीमा हेर्नुस् त कोरोनाका कातिल कीटाणु पनि कति कमालका देखिन्छन्। हेरिरहुँजस्ता!
    अनि त रातो टीका निधारमा टलक्क टल्कियो, नेपालीको चाडबाडमा कोरोना सल्कियो ! यस्तै विरहको गीत सुसेलेर बस्नुपर्ने बाध्यतामा हामी बाँचिरहेका हुन्छौं। नभन्दै यसपालाको दशैं खल्लोमल्लो नै भयो। खोई कहाँ छ, उमङ्ग–उत्साह–खुशी ?
    आफ्नै सहोदर दाजुभाइ एकअर्कालाई भेट्न डराउँछन्। आउने–जाने दाजुभाइले कोरोनाको कोसेली पो बोकेर ल्याएका छन् कि ? त्रास र अत्यासको अँध्यारोमा हामी बाँच्न बाध्य छौं, हिंड्न बाध्य छौं। अनि रमाइलो घमाइलो कहाँबाट ल्याउनु। निधारमा रातो टीका लाएर, कानमा पहेंलपुर जमरा हल्लाएर मात्रै दशैं मनाउन सकिन्न।
    यौटा पुरानो कथाको सम्झना भयो। कुनै योगीराज आफ्नो शम, दम, नियम, आसन–प्राणायामले सम्पन्न भएर आफ्ना गुरुका सामु उपस्थित भए। आफ्नो सिद्धिको उनलाई अलिअलि अहङ्कार पनि थियो। गुरुले कुरोको चुरो बुझिहाले।
    गुरु महाराजले शिष्यको अहम्लाई लक्षित गरी भनेछन्, बाबु १ तिमीले यम नियम पालनको काम राम्ररी सम्पन्न गरेका छौं। तर अझ केही गर्न बाँकी छ। ईश्वरभक्ति–ईश्वरप्राप्तिबाट तिमी अझ पनि निकै टाढा छौं। कतै क्यै कमी छ।
    तिमी यौटा काम गर। तिमी फलानो राजाको दरबारमा जाऊ। राजालाई भेट, आफूले जान्न खोजेको कुरा राजासँग सोध। ती राजा निकै ज्ञानी छन्। तिम्रो मनमा उठेका सारांशका संशय ती राजाले सहज निमिट्यान्न पार्दिनेछन्।
  नवयुवक शिष्यको अहम्मा फेरि आघात प–यो। अधकल्चो ज्ञानको अहङ्कारले उन्मत्त हुँदै शिष्य उक्त राजाको दरबारमा पुग्यो। राजाले त्यस नवयुवक योगीका सबै कुरा राम्ररी सुने।
    युवक योगीले नढाँटीकन राजासँग सोध्यो, सरकार १ मैले यम नियम पालना गरेर केही सिद्धिहरू प्राप्त त गरें। तर ईश्वरको चरणकमलमा मेरो ध्यानै जाँदैन। प्रभुको चरणारविन्दमा मेरो ध्यान टिक्दै टिक्दैन। मन संसारमैं अलमलिन खोज्छ। यो मेरो ठूलो समस्या हो। हजुरले मलाई उपदेश दिनुप–यो। मेरो मन सदैव चञ्चल रहन्छ। यो संसारमैं भुलिरहन खोज्छ। के गरौं प्रभु ?
    महाराज मुसुक्क हाँसेर मस्किए । उनले ती नवयुवक योगीलाई राजमहलको यौटा विशाल कक्षमा लिएर गए। सबै प्रकारका सुख, सुविधाहरू त्यहाँ टन्नै भरिभराउ थिए। नवयौवना सुन्दरीहरू त कति हुन् कति। इन्द्रको स्वर्गलाई बिर्साउनेखालका सामग्रीको प्रचुरता थियो। रम्भा, उर्वशी, तिलोत्तमा, मेनका सेवामा खटिएका थिए।
    युवक योगीलाई त्यस वातावरणमा बस्न रमाइलो त लाग्यो। तर योगीको आसनको ठीक माथि नाङ्गो तरवार काँचो धागोले बाँधेर झुन्ड्याइएको थियो। कतिखेर त्यो धागो चुँडिएर तरबार टाउकोमा बज्रिने हो, था छैन। यो देखेर युवकको हंसले ठाउँ छोड्यो।
    अर्को दिन राजाले ती युवा योगीलाई सोधे, यहाँ बस्दा तपाईंलाई कुनै कष्ट त भएन ? समय आनन्दमा बित्यो होला ? त्यस युवकले भन्यो, सरकार अर्थोक सबै कुरा त राम्रै थियो। तर टाउकोमाथि झुन्डिएको तरबारले मलाई तारन्तार तर्साइरह्यो।
    राजाले सम्झाए, हो… त्यसैगरी दिनरात आफ्नो मृत्युलाई सम्झियो भने मन संसारमा रमाउँदैन। ईश्वर स्मरण भइरहन्छ। योगका सिद्धिहरू त चटकमात्र हुन्, एक छिनको रमाइलो। संसारबाट वैराग्य नभईकन ईश्वरतिर मन जाँदैन।
    कोरोनाको डरले हाम्रो चाडबाड यसरी नैं खल्लोमल्लो भइरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्