मधेसी दशैं ः केही जिज्ञासा

0
30

सञ्जय मित्र
दशैं नेपालीको मुख्य पर्व हो। नेपाली भन्नाले नेपालको नक्शाभित्र अटाएका सम्पूर्ण नागरिक हुन्। देशका अन्य धर्मावलम्बीहरू आआफ्नो संस्कृति मान्दछन्। यस देशको सांस्कृतिक विशेषता नै हो कि सबैको संस्कृतिको सम्मान सबैले गर्दछन्। चाडपर्वको नाउँमा देशमा दिइने बिदाको सूचीमा दशैंको बिदा सबैभन्दा लामो हुन्छ र यस लामो बिदाको उपयोग धेरै किसिमले सबै धर्मावलम्बीले गर्दछन्। दशैं मान्ने संस्कृतिभन्दा पृथक संस्कृतिका मानिसले पनि यसलाई सम्मान गर्दछन्। यसरी सम्मानका दृष्टिले समेत हेर्ने हो भने दशैं सम्पूर्ण नेपालीको साझा पर्व हो भन्ने कुरामा द्विविधा छैन।
दशैंलाई विभिन्न समुदायले फरक किसिमले मान्ने गरेको पाइन्छ। मधेसी समुदायले पनि आफ्नै किसिमले दशैं मान्ने संस्कृति रहेको छ।
पहिलेदेखि नै दशैंको अवधिमा मधेसी समुदायले मुख्यगरी नवरात्रिको पूजाआजा गर्दै आएका थिए। शिक्षा र चेतनाका साथै रोजगारको क्रममा देशको विभिन्न ठाउँमा जाँदा र आउँदा तथा अन्य किसिमले सम्पर्क विस्तार गर्दै जाँदा पहाडमा मनाइने दशैंसित घुलमिल हुँदै गएको हो। पहाड र मधेसको दशैं मान्ने तरीकामा केही आधारभूत भिन्नता रहँदै आएको छ। अहिले मुख्यगरी प्रदेश २ बन्न पुगेको सम्भवतः सम्पूर्ण वा नभए आंशिक क्षेत्रको मधेसी समुदायमा दशैं मान्ने तरीकाको पार्थक्य एउटा विषय हो तर यस तरीकाको केही पक्षबारे जिज्ञासाहरू उब्जेका छन्। जिज्ञासालाई धेरै ठाउँमा पस्केको पनि हुँ तर पनि सार्वजनिक गर्नुपर्ने अवस्था रहेको छ।
बाल्यकालदेखि नै दशैं भनेपछि अलिक डर हुन्थ्यो मनमा। कसैले टुप्पी काटिदेला कि भन्ने ? त्यो डरमा अन्धविश्वास बढी थियो र जनश्रुति यो थियो कि बोक्सीले टुप्पी काटेपछि अनिष्ट हुन्छ। पहिले टुप्पी पाल्ने चलन अलिक बढी नै थियो। टुप्पी नहुनेलाई गाउँ समाजमा हेप्ने गरिन्थ्यो तर आजभोलि टुप्पीको सम्बन्धमा जमाना उल्टो भएको छ। टुप्पी हराएको छ, युवाको टाउकोबाट।
मधेसी लोकजीवनमा युवा पुस्ताबाहेक अहिले पनि दशैंको समयमा केही परहेज राखिन्छ। सामान्यतया घटस्थापनाको दिनदेखि नवमीसम्म अधिकांश ग्रामीण मानिसले नङ नकाट्ने, कपाल नकाट्ने, दा–ही नखौरने र अझ कतिपय साबुनको प्रयोग गर्दैनन्। महिलाहरूले सिन्दुर लाउँदैनन्, कपालमा तेल लगाउँदैनन्। पहिले शृङ्गार पूरै वर्जित थियो। मानिस जन्मेको घरपरिवारमा माछा र मासु खान पाइने छुट हुन्छ तर पहिले मासु खाने छुट थिएन। मृत्यु संस्कार पूरा नहुन्जेल माछा, मासु र अन्डा सबै वर्जित हुन्छ। मदिरापानमा पूर्णतया रोक लगाइएको हुन्छ।
पहिलेदेखि नै ग्रामीण समुदायमा महिला र पुरुषले दुईवटा संस्कार कर्म गर्दा माथिका काम नगर्ने परम्परा रहेको छ। आफन्तमा कसैको मृत्यु भएमा माथिका कामहरू वर्जित हुन्छन्। यसै गरी कसैको जन्म भएमा पनि माथिका काम गरिंदैन। मृत्यु भएपछि श्राद्धकर्म नसक्नुन्जेल र जन्म भएपछि छठियार नसकुन्जेल वर्जित यी कामबाहेक पूजाआजा पनि बन्द हुन्छ। यहाँसम्म कि छठ पर्व पनि रोकिन्छ। शास्त्रीय र लोकसंस्कृतिका सबै पर्व तथा पूजाआजा आदि गर्नुहुँदैन भन्ने मान्यता विद्यमान छ। यद्यपि आजभोलि दा–ही, कपाल र नङ काट्ने तथा महिलाले पनि शृङ्गार गर्ने प्रचलन मधेसी समुदायमा बढ्दै गएको छ। पहाडी समुदायमा सम्भवतः यस किसिमको रोक रहेको पाइँदैन। मधेसमा पनि दशैंको परम्परागत स्वरूपमध्ये कतिपय लोप भइसकेको, कतिपय लोपोन्मुख रहेको र कतिपय आगन्तुक कुराले मान्यता पाइरहेकोले यस्ता कामलाई स्वच्छता तथा सफाइसित जोडेर स्वीकार गरिन थालिएको छ। वैयक्तिक स्वतन्त्रतालाई सबैले सम्मान गरेकै छन्।
मधेसी दशैंको यहाँनेर मौलिकता के झल्किन्छ भने जन्म संस्कार र मृत्यु संस्कारको अवधिमा वर्जित हुने कुराहरूजस्तै दशैंको अवधिमा पनि धेरै कुरा वर्जित हुन्छ तर पूजाआजा भने भइरहन्छ। छठियार र श्राद्धको समयावधिमा पूजा पनि वर्जित हुन्छ तर दशैंमा पूजा हुन्छ। पूजा गर्नुपर्छ। पूजामा सबैको चासो हुन्छ, पूजा सबैले गर्दा अझ राम्रो। दशैंमा पूजामा रोक नहुने तर अन्डा, मासु र धेरै हदसम्म माछा पनि खान रोक हुने। यो स्वाभाविक हो कि अन्य पूजाको हकमा पनि मिति तोकिएपछि अन्डा, माछा र मासु खानुहुँदैन भन्ने मान्यता छ। मदिरापान पनि गर्नुहुँदैन भन्ने मान्यता अद्यपर्यन्त रहेको छ। अझ कतिपय पूजा सकिएको सवा एक महीनासम्म मांसाहार भोजन भनेर चिनिएका सम्पूर्ण भोजनमा प्रतिबन्ध हुन्छ। धर्मशास्त्रहरूले शाकाहार भोजनलाई सर्वोत्तम मानेकाले सबै किसिमको धार्मिक यात्रा तथा धर्मकर्ममा यस प्रकारकै भोजनको प्रचलन हुनु स्वाभाविक हो तर दा–ही, नङ, कपाल काट्न तथा महिला–शृङ्गारमा रोक किन ?
कतिपय अवस्थामा शिवको तीर्थयात्रामा जाँदा केहीले यस प्रकारको कतिपय काम वर्जित गरेका हुन्छन्।
दशैं श्रद्धाको पर्व हो, पूजाको पर्व हो भन्नेमा दुई मत छैन। पूजाआजा उत्साहका साथ गरिन्छ। प्रतिमा सेलाउन जाँदा पनि अबीरजात्रा गर्ने चलन छ। बाजागाजा पनि बजाइने र नाच नचाइने पनि गरिन्छ। यी सबै खुशीयालीका द्योतक हुन् तर सरसफाइसित जोडिएका केही कुरामा परम्परादेखि किन रोक लगाइएको होला ? यो शास्त्रसम्मत हो कि समाजले परम्परादेखि मान्दै आएको व्यवहार मात्रै ? यस प्रकारको चलन नेपालको परिवेशमा त आञ्चलिक नै देखिन्छ तर समग्र दशैं उत्सवमा यस प्रकारको वर्जित संस्कृतिको भूमिका वा स्थान के होला ?
जिज्ञासा मेट्ने क्रममा केही सोधीखोजी होस् भनेर नै यो कुरा यहाँ सार्वजनिक गर्नुपरेको हो। विद्वत्वर्गबाट तथ्यगत यथार्थ पाउने अपेक्षा छ, होइन भने मधेसी दशैंको यो मौलिकता हो वा विशिष्टता हो भनेर चित्त बुझाउने उपाय त आफ्नो ठाउँमा छँदैछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्