केराखेतीबाट आत्मनिर्भर हुँदै कृषक

65

प्रस, निजगढ, १४ कार्तिक/
    बारा, निजगढ नगरपालिकाको निजगढ र भरतगंजसिगौलमा गरी १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा स्थानीय कृषकहरूले केरा उत्पादन गर्दै आइरहेका छन्।
    डेढ दशकअघि दुई/चारजना किसानले व्यावसायिकरूपमा शुरू गरेको केराखेती अहिलेसम्म एक हजारभन्दा बढी कृषकले गरिरहेका छन्। यसअघि यहाँका किसानहरूले समयमैं उखु मिलमा बिक्री गरे पनि भुक्तानी लिन वर्षौं कुर्नुपर्ने, हैरानी खेप्नुपर्ने मात्रै हैन, सडक सङ्घर्ष नै गर्नुपर्ने भएपछि उखुखेतीको विकल्पमा केराखेती रोजेका हुन्।
    “आफ्नो लगानीमा उखु लगायो। दिनरात नभनी उखु मिलमा पठायो। भुक्तानी लिने बेला मिलले सा–है हैरानी दिने गरेकोले निजगढमा उखुबाली लगाउन छोडी किसानहरू केराखेती गर्न थालेका हुन्,” स्थानीय अग्रज किसानहरू बताउँछन्।
     खेतबारीमैं एक हातले केरा दिएर अर्को हातमा व्यापारीहरूले भुक्तानी दिने गरेपछि अधिकांश किसानको रोजाइ व्यावसायिक केराखेतीतर्फ सोझिएको हो। अन्य समयमा प्रतिकोसा ३–५ रुपैयाँसम्म खेतबारीमैं केरा बिक्री गर्ने किसानहरूले विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण लकडाउनको अवधिमा घाटा सहनुप–यो। लकडाउन खुलेलगत्तै केराको मूल्यमा वृद्धि हुँदै गएको छ। सबै खर्च कटाएर प्रतिकट्ठा ३०–५० हजार रुपैयाँसम्म प्रतिवर्ष आम्दानी हुने गरेको निजगढका अगुवा केरा कृषक गोविन्दप्रसाद खरेलले बताए।
    बेलाबखतमा बिचौलियाहरूका कारण मूल्यमा गिरावट आउने गरेको छ। केरा कृषकहरू एकमत नहँुदा बिचौलियाहरूले मूल्यमा चलखेल गर्ने गरेको कृषकहरूको भनाइ छ। यहाँ ठूलो क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आइरहे पनि कृषि ज्ञान केन्द्र बाराले अहिलेसम्म केरा जोन अर्थात् केरा पकेट क्षेत्र घोषणा नगर्दा यहाँका कृषकहरूले राज्यबाट पाउनुपर्ने सेवासुविधामा कटौती हुँदै गएको अधिकांश कृषकहरूको गुनासो छ।
    धान, मकै, सुर्ती जस्ता बालीभन्दा राम्रो आम्दानी हुने गरेपछि केराखेतीबाट नै यहाँका कृषकहरू आत्मनिर्भर भइरहेका छन्। स्वदेशमैं केरा उत्पादन भएपछि भारतबाट भित्रिने केरामा ५० प्रतिशतले कमी आएको छ। यसअघि चाडबाडलगायत अन्य बेलामा भारतीय केराले एकाधिकार जमाउने गरेकोमा अहिले स्वदेशी रैथाने मालभोग केराको एकाधिकार जम्दै गएको छ। यहाँ उत्पादन गरिएका केरा स्वादिलो र मीठो भएकाले ग्राहकहरूको रोजाइमा पर्ने गरेको निजगढ बजारस्थित राजमार्गछेउमा तीन दशकअघिदेखि फलफूल बिक्री गर्दै आइरहेका रञ्जेश साह र विकास साहले बताए। करीब ५–७ वर्षयतादेखि भारतीय केरा ल्याउन छाडेको उनीहरूले बताए। रैथाने मालभोग केराको स्वाद पाएपछि भारतीय केरा बिक्री हुन छोडेको उनीहरूको भनाइ छ।
    केरा किन्न व्यापारीहरू खेतबारीमैं आउने र पेश्की रकम दिने गरेको अर्का केरा कृषक खड्गप्रसाद चौलागाईंले भने। तीन/चार बिघा केराखेतीबाट सबै खर्च कटाएर ५–७ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए।
    हावा, हुरी, असिना, पानीले केराखेती नष्ट हुने भएकोले अन्य सबै खेती जस्तै केराखेतीको बीमा हुन सके किसानहरूको हकमा राम्रो हुने कृषक खरेलले बताए। बीमा हुन सक्यो भने किसानहरूलाई कमसेकम आर्थिक नोक्सानी हुने उनले बताए। व्यावसायिक केराखेती गर्नेहरूमध्ये आधा कृषकले मात्र केराखेतीको बीमा गरेको खरेलको अनुमान छ। किसानहरूलाई सिमरासम्म पुग्न फुर्सद नहँुदा स्थानीय तहले सहजरूपमैं बीमा गराउन पहल गर्नुपर्ने यहाँका किसानहरूको भनाइ छ।
    गत वर्ष बीमा शुल्कमा नगरपालिकाले १० प्रतिशत अनुदान दिएकोमा यस वर्ष बढाउन किसानहरूले आग्रह गरेका छन्।
    राज्यले केरा किसानहरूलाई सहुलियत दरमा बीमा, कृषि सामग्री, औजार, कीटनाशक औषधि, भिटामिनलगायतका सेवासुविधालाई बढवा दिने हो भने केही वर्षमैं विदेशी केरालाई पूर्णरूपमा विस्थापन गर्न सकिने सम्भावना देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्