एउटा राम्रो शुरूआत

0
54

    कोरोनाको डर पन्छाउँदै वीरगंजमा निजी विद्यालयहरू सञ्चालन भएका छन्। यो राम्रो यस कारणले हो कि मानिस कहिले पनि समस्याबाट आत्तिएर भागेको छैन, उसले समस्याको सामना गरेर जति क्षति बेहोरेपनि आफ्नो भविष्य बनाएको छ। आदिकालदेखि वा भनौं मानिस अस्तित्वमा आएदेखि नैस जब उसमा ज्ञान थिएन, समझ थिएन, तर्कशक्ति थिएन, समस्याहरूको सामना गर्दै आएको छ। बिस्तारै समस्याहरूसँग जुझ्न सिक्दै गयो, अनि निराकरण गर्न सिक्यो। नजुझी निराकरण प्राप्त गर्न सकिंदैन। अहिले त्यस्तै भइरहेको छ। कतिन्जेल कोरोनाको डरले भविष्यको उज्यालो छेकिराख्ने, कतिन्जेल गाँसको अभाव सहिरहने, कतिन्जेल शिक्षाको पारिलो घामबाट वञ्चित भइरहने ? मूल कुरा हो समस्याबाट पार पाउनु। अहिले हामी जे गरिरहेका छौं, त्यो पार पाउने उपाय होइन, समस्या आफैं हराएर, बिलाएर जाओस् भन्ने सतर्कता मात्र हो। तर कोरोना अजिर समस्या हो, यसलाई धपाउनैपर्छ। लुकीबसेर आफैं भागोस् भन्ने कामना सर्वदा हास्यास्पद हो, बितेको ८ महीनाले देखाएको वास्तविकता यही हो।
    यसको पहिलो पाइला विद्यालयहरूले निश्चित गरेका छन्। वीरगंज महानगरपालिका अन्तर्गतका निजी विद्यालयहरूले यसै हप्तादेखि पठनपाठन शुरू गरेका छन्। सामुदायिक विद्यालयहरू पनि यस दबाबबाट प्रभावित छन् तर हाललाई  विद्यालय विसङ्क्रमित गरेपछि मात्रै खोल्ने एउटा पराजित तर्क अघि सारेका छन्। निजी विद्यालयहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्नु उनीहरूको बाध्यता पनि हो। त्यसमा निश्चय नै उनीहरूको स्वार्थ लुकेको छ, तर शिक्षा दिनु पनि निष्पाप–स्वार्थ नै हो। साथै विद्यालय तथा यससँग सम्बद्ध सरोकार समूहको रोजी–रोटी पनि गाँसिएको छ। यस्तो बाध्यता सामुदायिक विद्यालयहरूलाई छैन। सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना विद्यार्थीको भविष्यप्रति संवेदनशील देखिएका छैनन्, विद्यार्थीको राम्रो अध्ययनसँग पनि उनीहरूलाई खासै सरोकार देखिएको छैन। उनीहरूले काम नगर्दा (अध्ययन अध्यापन नगर्दा) उनीहरूको स्वार्थमा धक्का लाग्दैन, रोजी–रोटी बन्द हुँदैन। एकातिर जुनसुकै बहानामा पनि विद्यालय खोल्न आतुर एउटा समूह छ भने अर्कोतिर के निहुँ पाउँ र कनिका बुकाउँ भनेझैं, विभिन्न तर्क खोजेर कामबाट पन्छिने जोगडाहरूको जमात छ। यसो भनिरहँदा यस समूहमा जिम्मेदार र कर्तव्यबोधहीनहरू नै छन् भन्ने पनि होइन, तर अनुपात भने जोगडाहरूकै छ।
    यो त भयो खुशीको खबर, तर यससँग ठूलो जोखिम पनि गाँसिएको छ। अलिकति पनि लापरवाही भयो भने समुदायमा कोरोना फैलने डर छ। जुन विद्यालयमा यस्तो भयो, त्यसको अस्तित्व नै मेटिने खतरा पनि छ। यसर्थ यस अहम् सवालमा विद्यालय व्यवस्थापन निकै सतर्क र संवेदनशील हुनु आवश्यक छ। प्रत्येक दिन विद्यालयलाई विसङ्क्रमित पार्नु, सङ्क्रमणप्रति शून्य सहनशीलता राखेर स्वास्थ्य सुरक्षाका सबै उपायमा अर्जुन–दृष्टि पु–याउनु आवश्यक छ। यसले कोरोनाप्रतिको अनावश्यक भय नाश हुन्छ, यथार्थमा रोगको पहिचान हुन्छ। यसबाट हर्ड–इम्युनिटी विकसित हुने अवसर पनि प्राप्त हुन्छ। विद्यालय खोल्नुको उद्देश्य रोजी–रोटीको नियमितताका लागि हो भने यसलाई दुस्साहस मात्र भन्न सकिन्छ, जसको परिणाम प्रायः जोखिममा समाप्त हुन्छ। र जोखिमले जुन पनि स्तरको क्ष्Fति निम्त्याउन सक्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्