स्व चौरसियाको घरमा सातादेखि चुलो बलेको छैन

0
41

राधेश्याम पटेल, वीरगंज, १३ कात्तिक/
    देशभरि बडादशैंको हर्षाेल्लास छ। नेकपाको सरकार रहेको नेपालमा अहिले दशैं मनाइँदै छ। नेकपा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको शुभकामना आदानप्रदान गरिरहेका छन्। तर पर्साका एकजना नेकपा नेताको घरमा एक सातादेखि चुलो बलेको छैन। पर्सा, विन्ध्यवासिनी गाउँपालिका–२ बहुअर्वाभाठाका ४० वर्षीय मुकेश चौरसियाको घरमा एक सातादेखि चुलो नबलेको हो। नेकपाकै गत बिहीवार दिउँसो साढे १२ बजे विन्ध्यवासिनी गापा–५ प्रसौनीमा आयोजित शपथग्रहण कार्यक्रममा पूर्वमाओवादी र पूर्वएमाले कार्यकर्ताबीच भएको झडपमा परी मुकेश चौरसिया गम्भीर घाइते भएका थिए। नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको क्रममा वीरगंजस्थित एलएस न्यूरो अस्पतालमा गत शुक्रवार बिहान १० बजे उनको मृत्यु भएको थियो। उनको मृत्युपश्चात् नेकपादेखि मुकेशको गाउँँघर पनि शोकमा डुब्यो। दुर्ई पक्षको झडपमा परी पूर्व एमाले समूहका कार्यकर्ताले बाँसको फाटाले हानी हत्या गरेकोले उनको हत्यामा संविधानसभा सदस्य एवं नेकपाका नेता राजकुमार गुप्ताको संलग्नता रहेको भनी पीडित परिवारले आरोप लगाएको छ भने नेकपा पर्साको पूर्व माओवादी समूह उनको हत्यारा पत्ता लगाइ आवश्यक कारबाईको माग गर्दै एक सातादेखि वीरगंजमा धर्ना तथा प्रदर्शनमा जुटेको छ।
    पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले घटनामा पर्सा क्षेत्र नं ३ बाट प्रथम संविधानसभामा निर्वाचित संविधानसभा सदस्य राजकुमार गुप्ताको उपस्थिति नरहेकोले उनको नाम हटाएर जाहेरी ल्याए मात्र दर्ता गर्ने भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेकी थिइन्। जसको कारण नेकपा पर्साको आन्दोलन प्रदेश २ हुँदै देशभरि आगोसरी सल्किंदै गएको छ।
मेरो पतिलाई नेता गुप्ताकै योजनामा मारिएको हो –सुनीतादेवी
    नेकपा नेता मुकेश चौरसियाकी पत्नी सुनीता देवीले नेता गुप्ताकै योजनामा  पति मुकेशको हत्या भएको आरोप लगाएकी छन्। उनले घटनामा संलग्न अभियुक्तहरू नेता गुप्ताको वीरगंजस्थित निवासबाट पक्राउ परेकाले उनकै योजनामा पतिको हत्या भएको उनको ठम्याइ छ। उनले घटनामा संलग्नहरूलाई कारबाई हुनुपर्ने माग गरिन्। उनले दुःखित हुँदै भनिन्, “अब मेरो संसार नै निभ्यो, चार वर्षे छोरा लिएर म कहाँ जाउँ, के गरूँ, मैले न्याय पाउनैपर्छ।” उनले आफ्नो पतिका हत्यारा र हत्यारालाई उन्मुक्ति दिन खोज्नेहरूलाई समेत कारबाई गर्नुपर्ने माग गरिन्। नेता गुप्ताको नाम आएपछि नेकपाकै माथिल्लो तहका नेताको दबाबमा जाहेरी दर्ता नभएको पनि उनलाई थाहा छ।
फलफूल खाएर जाहेरी दर्ताको पर्खाइमा परिवारजन
    स्व मुकेशका परिवारजन एक सातादेखि फलफूल खाएर जीवन धान्दै आइरहेका छन्। कहिले जाहेरी दर्ता होला र कारबाई प्रक्रिया अघि बढ्ला भन्ने आशामा एक सातादेखि परिवारजन शोकमा डुबेको स्व मुकेशका बुबा रघुनाथप्रसाद बरई बताउँछन्। “जाहेरी दर्ता नहुँदा छोराको सद्गत गर्न पाइएको छैन, सात दिनदेखि घरमा चुलो बलेको छैन, हामीसँगै गाउँभरि रुवाबासीको माहोल छ,” ६५ वर्षीय बरईले भने,
“तीन छोरामध्ये जेठो छोरा गुमाएँ, यसरी नै अपराधीले अरूको छोरा अनाहकमा नमारून्, त्यस कारण पनि अपराधीलाई सजाय हुनै पर्छ।” उनले नेकपाका दुर्ई घटक माओवादी र एमाले गुटबीच शुरूदेखि नै गाउँँटोलमा विवाद रहँदै आएको बताए। उनले मुकेश पहिलेदेखि नै विन्ध्यवासिनी गापाका एमाले नेताहरूको तारोमा रहँदै आएको बताए। मुकेशकी आमाको मृत्यु भइसकेको छ भने घरमा बुबासँगै दुईजना भाइ जयराम र महेश चौरसिया पनि छन्। जयराम काठमाडौंमा एमएस्सी पढिरहेका छन् भने महेशले भेटनरीको अध्ययन सकेका छन्। मुकेशकी २० वर्षीया विवाहित छोरी अञ्जली र ४ वर्षीय छोरा बन्टी छन्। ६ धुरमा घडेरी र डेढ बिघा खेत भएको मुकेश शुरूमा मधेसी जनअधिकार फोरमका सक्रिय कार्यकर्ता थिए। माओवादी नेता मातृकाप्रसाद यादव नेकपामा प्रवेश गर्दा उनी पनि नेकपामा आएका थिए।
के भएको थियो झडपको दिन
    पत्नी सुनीतालाई पार्टीको बैठकमा जाँदैछु, दिउँसो २ बजेसम्म आउँछु भनेर घरबाट खाना खाइवरी बिहान १० बजे निस्केका मुकेश फर्केर घर आएनन्। झडपमा परी मुकेशको टाउको फुटेको खबरले परिवारजन दुःखित थियो नै शुक्रवार मृत्युको खबरले झनै पीडा थपियो। भाइ जयरामले दिउँसो १ बजे भनिएको शपथग्रहण कार्यक्रम शुरू हुनुअगावै झडप भएको बताए। “प्रसौनी बजारभन्दा दुर्ई सय मिटर उत्तरमा ब्रह्मस्थानको पश्चिमपट्टि एउटा सेलर मिल छ। करीब ५०–६० जना अट्ने उक्त मिलको चारैतिरबाट पर्खाल र मूलगेटमा दाइ मुकेश र केही कार्यकर्ता अन्य कार्यकर्ताको पर्खाइमा थिए,” उनले भने, “त्यही अवधिमा मसरुर पब्लिक विद्यालय प्रसौनीको उत्तरमा रहेको चिरान मिलबाट ५० जनाको हुल आयो, उनीहरूले कार्यक्रमस्थल सेलर मिलको मूलगेट बन्द गर्दै ब्यानर र पोस्टर खोस्न थाले। कार्यक्रम बिथोल्ने रणनीति थाहा पाएपछि दाइ मुकेशले प्रतिकार गरे। यत्तिकैमा झडप शुरू भयो। लाठीफाटा लिएर आएका पूर्व एमाले समूहले अचानक लाठीफाटाले कार्यक्रम आयोजकमाथि आक्रमण गरिरहँदा एउटा लाठी मुकेशको टाउकोमा बज्रयो।”
    मुकेश चौरसियाका परिवारजनले अखिलेश्वर चौरसिया, लक्ष्मण चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, हनिफ मियाँ, देवा सहनी, सञ्जय चौहान र नेता गुप्तालगायत ९ जनाभन्दा बढी मानिसको नाम जाहेरीमा रहेको दाबी गरेको छ। नेता गुप्ताकै योजनामा वीरगंजमा बसेर कार्यक्रम बिथोल्न उक्त घटना भएकोले सोको नैतिक जिम्मेवारी लिन नेता गुप्तालाई गाउँलेले आग्रह गरेका छन्।
धर्ना, प्रदर्शनमा ओली गुटको सहभागिता छैन
    नेकपा नेता मुकेश चौरसियाका हत्यारालाई कानूनबमोजिम कारबाई होस् भनी वीरगंजमा एक सातादेखि धर्ना तथा प्रदर्शन भइरहँदा ओली गुटका नेताहरूको सहभागिता देखिएको छैन। नेकपाको शपथग्रहण कार्यक्रममा प्रचण्ड र माधव नेपाल गुटका नेताहरूको मात्र सहभागिता थियो। नेता गुप्ता ओली गुटका हुन्। त्यसैले उनीमाथि उक्त कार्यक्रम बिथोलेको र हत्याको आरोप लागिरहेको छ। उता नेता गुप्तालाई कारबाई भयो भने नेकपाका अन्य नेतालाई पर्सा क्षेत्र नं ३ बाट टिकट लिन सहयोग पुग्ने भएकोले यस राजनीतिक लडाइँमा नेकपाका केही नेता मुकेश चौरसिया घटनामा सक्रिय देखिएका छन्। क्षेत्र नं ३ बाट नेता गुप्ता र रामचन्द्र साह तेलीबीच टिकट लिन हानथाप हुने गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्