समृद्धिको आधार प्राविधिक शिक्षा

78

शीतल महतो

    कुनै पनि मुलुकको आर्थिक समृद्धिको लागि श्रमशक्ति, पूँजी र प्रविधि अनिवार्य हुन्छ। यी तीन विषयको स्तर जति उच्च बनाउन सकिन्छ, त्यस देशको आर्थिक समृद्धि पनि त्यति नै छिटो हुन्छ। तीमध्ये श्रमशक्तिको स्तर सुधार्ने प्रमुख आधार भनेको शिक्षा नै हो। यसका लागि उत्पादन र उत्पादकत्व बढाउने गरी शिक्षा प्रणालीको विकास गर्नुपर्दछ। तर हाम्रो देशको शिक्षा प्रणाली सो अनुरूप अगाडि बढ्न सकेको छैन। फलस्वरूप शिक्षा देशको आर्थिक विकासको प्रमुख आधार बन्न सकेको छैन। हुनत नेपालमा धेरै पहिलेदेखि व्यावसायिक सीपकै आधारमा जातजातिहरूको वर्गीकरण गरिएको पाइन्छ। दक्ष सीप प्रयोग गरेर निर्माण गरिएका पुराना संरचना एवं काठ र ढुङ्गालगायतका उत्पादन धेरै मात्रामा हुनुले यहाँ प्राविधिक शिक्षा लिने र दिने चलन प्राचीन समयदेखि रहँदै आएको मान्न सकिन्छ। तर हाम्रो देशमा प्राविधिक शिक्षाको औपचारिक सुरुआत भने विसं २००४ देखि भएको पाइन्छ। त्यसपछिका विभिन्न कालखण्डमा प्राविधिक शिक्षाको विकासका लागि फरक–फरक किसिमका धेरै प्रयोग गरिए पनि आशा गरे अनुसार सफलता प्राप्त हुन सकेन।
    जीवनोपयोगी प्राविधिक शिक्षाको सर्वसुलभताले मात्रै ‘समृद्ध नेपाल सुखी नेपाली’को सरकारी नाराले सार्थकता पाउन सक्छ। हाम्रो शिक्षा प्रणाली अहिले ‘गरिखाने’भन्दा ‘ठगी र मागिखाने’ जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो रहेको पाइन्छ। समयको माग अनुसार देश तथा विदेशका श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो। नेपालमा अहिले देखिएको प्रमुख समस्या भनेको नै गरीबी र बेरोजगारी हो। रोजगारका लागि भौतारिनुभन्दा रोजगार सिर्जना गर्न सक्ने दक्ष र प्रतिभाशाली शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र गरीबी र बेरोजगार समस्या हल हुन सक्छ। किनभने प्राविधिक शिक्षाले मात्र स्वरोजगारका अवसर प्राप्त गर्न सहजता प्रदान गर्छ। तर हामीकहाँ कुन क्षेत्रमा कति र कस्तो प्राविधिक चाहिन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान हुन सकेको छैन। योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिका कारण आवश्यक प्राविधिक जनशक्तिको अभाव सदैव खट्केको हुन्छ। विद्यालय शिक्षा पार गरेका युवालाई भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसक्दा त्यसको नकारात्मक असर परिवार, समाज र देशले नै भोग्नुपर्ने हुन्छ। साधारण शिक्षा ग्रहण गर्ने प्रवृत्तिका कारण देशमा गरीबी र बेरोजगारी विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि वरदान साबित हुन सक्छ।
    अहिले पनि झन्डै ४५ लाखको हाराहारीमा वैदेशिक रोजगारमा गएका नेपाली युवाले पठाएको विप्रेषणले हाम्रो अर्थतन्त्र धानेको छ। यस्तो अवस्थामा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा आजको अपरिहार्य आवश्यकता हो। वैदेशिक रोजगारमा जाने युवालाई त्यहाँको माग अनुसार सीपमूलक तालीम दिएर पठाउन सक्यौं भने उनीहरूको कमाइमा उल्लेखनीय वृद्धि हुने निश्चित छ। मुलुकको दिगो विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक हुन्छ। तर हामीकहाँ अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन अत्यन्त न्यून छ। यसरी देशको आवश्यकताका लागि मात्रै नभएर ठूलो सङ्ख्यामा वैदेशिक रोजगारमा जाने युवाको आय आर्जनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षामा जोड दिनुको विकल्प छैन। हाम्रोजस्तो भौगोलिक विकटता र सामाजिक–आर्थिक विभिन्नता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताका लागि सरकारको योजनाबद्ध प्रयासको खाँचो छ। यसैलाई ध्यानमा राखेर होला सरकारले पछिल्लो समयमा विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकारात्मक नीति लिएको पाइन्छ। तर उक्त नीतिको कार्यान्वयन प्रभावकारी ढङ्गले हुन सकेको छैन।
    नेपालबाट दिन प्रतिदिन ऊर्जाशील युवा जनशक्ति रोजगारका लागि विदेशिनुलाई कुनै पनि हालतमा राम्रो मान्न सकिंदैन। आफ्नै देशमा उपलब्ध पेशा अँगाल्न हच्किंदै हजारांै, लाखौं रुपियाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूल खेती, भेंडा चराउनेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाड गर्दै नेपाली युवा त्यहाँ पुगेका छन्। अर्कोतर्फ छिमेकी मुलुक भारतबाट नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न शहरबजार मात्र नभएर विकट गाउँमा समेत छ्यापछ्याप्ती मानिस पुगेको देखिन्छ। त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न विदेशिनुपर्ने किन ? यस्तो मनोविज्ञान परिवर्तन गर्न सकिएला ? त्यही पेशा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाज र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? यस्ता थुप्रै प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न अब विलम्ब गर्नुहुँदैन। दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने, गाईभैंसीको जानकारी नराख्ने, कृषि कर्मबारे जानकारी नहुने शिक्षा प्रणालीले मुलुकमा विकास र समृद्धि ल्याउन सक्दैन। त्यसैले आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने/गराउने गरेर सिक्ने खालको शिक्षा नीति अवलम्बन गर्नुपर्दछ। शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउने जाँगरिलो र पौरखी शिक्षा हुनुपर्छ। त्यसैले सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील र सफल नागरिक बनाउने खालको व्यावहारिक, पौरखी शिक्षा आजको आवश्यकता हो। जसले श्रमप्रति सम्मान जगाउने धारणा विकसित हुन्छ।
    पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्छ। त्यस्तै, विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ। पौरखी नागरिक बन्ने अभ्यास, विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिनुपर्छ। उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यता, संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ। प्राविधिक शिक्षाले व्यक्तिलाई औद्योगिक रोजगारी, स्वरोजगारी वा उद्यमशीलताका लागि दक्ष बनाई उत्पादकत्व वृद्धि गराउँछ। दक्ष जनशक्तिले देशको आर्थिक एवं भौतिक विकासमा महत्वपूर्ण योगदान गर्ने हुनाले यिनलाई देशकै सम्पदाको रूपमा पनि लिइन्छ। यस्ता सम्पदा उत्पादन गर्ने प्राविधिक शिक्षाको देशमा ठूलो महत्व रहन्छ। देशमा उपलब्ध सबै स्रोत सदुपयोग गरेर अधिकतम लाभ लिन पनि प्राविधिक शिक्षाको उचित विकास र सुदृढीकरणले मात्र सम्भव हुन्छ।
    नेपालले सन् २०३० सम्म सबै ठाउँबाट सबै प्रकारका गरीबी अन्त्य गर्ने, भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगार एवं मर्यादित कामको प्रवद्र्धन गर्नेलगायत दिगो विकासका लक्ष्य तय गरेको छ। तोकिएको समयसीमाभित्रै यी लक्ष्य हासिल गर्न पनि प्राविधिक शिक्षाको खाँचो छ। प्राविधिक शिक्षाको विकासबाट मात्र यी लक्ष्य हासिल गर्न सकिन्छ। त्यसैले प्राविधिक शिक्षाको क्षेत्रमा लगानी अपेक्षाकृत बढी भएपनि यसले दिने प्रतिफल धेरै महत्वपूर्ण हुन्छ। नेपालको समावेशी आर्थिक विकासका लागि प्राविधिक शिक्षालाई विभिन्न शिक्षालयमार्फत् देशका सबै भागमा विकास र विस्तार गरी सबै नेपालीको सहज र सरल पहुँच स्थापित गराउनु आजको आवश्यकता हो। अन्यथा सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य पूरा गर्न सकिंदैन। त्यसैले देशको समृद्धिका लागि प्राविधिक शिक्षाको विकल्प छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्