परिश्रमले धनी भएको देश अमेरिका

0
42

विश्वराज अधिकारी
    धेरै मानिसमा अमेरिकी जीवन अति सरल छ भन्ने भ्रम हुन सक्छ। तर सोचे जस्तो अमेरिकी जीवन सरल भने छैन। भौतिक सुख–साधनहरूको उपलब्धता अति सरल हुँदाहुँदै पनि अनेक प्राकृतिक विपत्का कारण अमेरिकी जीवन सरल छैन। अनेक किसिमका वितण्डा मचाएर प्रकृतिले अमेरिकीहरूलाई अनेक दुःख, कष्ट दिने गर्दछ।
    अमेरिकालाई मुख्यगरी चार प्राकृतिक समस्याले बढी सताउने गरेको छ। समुद्री आँधी (Hurricane), अत्यधिक हिमपात तथा बरफ बन्ने वर्षा (freezing rain), बवण्डर (Tornado) तथा डढेलो (Wildfires)ले अमेरिकालाई भय, त्रास र ठूलो जनधनको नोक्सानीसहित प्रत्येक वर्ष सताउने गरेको छ।
    टेक्सास, क्यान्सस, फ्लोरिडा, ओक्लहोमा, नेब्रास्का यस्ता अमेरिकी राज्य हुन्, जो बवण्डर पीडित छन्। यी राज्यमा प्रत्येक वर्ष साना–ठूला बवण्डर आउने गर्दछन्। अपार शक्ति र ठूलो आकारका यी बवण्डरहरूले ठूलो जनधनको क्षति गर्ने गरेका छन्।
    आइतवार, मे २२, २०११ मा मिजोरी राज्यको जोप्लिन शहरमा आएको बवण्डरले अमेरिकी इतिहासमा नै ठूलो उत्पात मचाएको थियो। ३८ मिनेटसम्म चलेको त्यो बवण्डरले १५८ जनाको ज्यान लिएको थियो भने एक हजारभन्दा बढी मानिसलाई घाइते पारेको थियो। यसैगरी, उक्त बवण्डरले ६ हजार ९ सय ५४ घर विनाश गरेको थियो। करीब ९ सय घरमा साना–ठूला क्षति पु–याएको थियो। आर्थिक क्षति पनि उत्तिकै भएको थियो।
    यसैगरी, सोमवार, मे २०, २०१३ मा ओक्लहोमा राज्यको मोर शहरमा आएको बवण्डरले २४ जनाको ज्यान लिएको थियो। २१२ जनालाई घाइते पारेको थियो। ३०० घर ध्वस्त पारेको थियो। प्रायः हरेक वर्ष साना–ठूला अनेक किसिमका बवण्डर ओक्लहोमामा आउने गरेकाले यो विपत्बारे यस राज्यका बासिन्दा राम्ररी अवगत छन्। यो विपत्को सामना गर्न पूर्वतयारी गर्छन्।
    बवण्डरबाट जोगिन त्यहाँ प्रत्येक परिवारले आआफ्नो घरमा टोर्नाडो सेल्टर (फलामको कोठा) बनाए तापनि बवण्डरले ज्यान लिने नै गर्छ। अर्कोतिर मौसमसम्बन्धी विश्लेषण अति भरपर्दो भएर, बवण्डर कुन समय र कति शक्तिका साथ आउने पूर्वजानकारी भए तापनि जनधनको क्षति शून्य पार्न सकिएको छैन। तर सर्वाधिक महत्वपूर्ण कुरा के भने बवण्डरको शक्ति, समय र दिशा पहिले नै अनुसन्धान एवं विश्लेषणद्वारा अनुमान गरिएको हुन्छ र त्यो अनुमान सत्य साबित हुन्छ, केही न्यून अपवादबाहेक। अर्थात् प्रकृतिलाई नियन्त्रण गर्न नसके पनि त्यसको असर कम पार्न भने अमेरिकाले ठूलो प्रयास गरेको पाइन्छ। र उक्त प्रयासमा सफल पनि भएको छ।
    समुद्री आँधीले पनि अमेरिकालाई कम सताउँदैन। फ्लोरिडा, टेक्सास, नोर्थ क्यारोलिना, लुजियाना, साउथ क्यारोलिना, अलाबामा, जोर्जिया, मिसिसिपी, न्यूयोर्क, मासाच्युसेट्सजस्ता अमेरिकी राज्यलाई प्रत्येक वर्ष समुद्री आँधीले अति सताउने गर्दछ। जनधनको रक्षा गर्ने सुरक्षाका ठूला–ठूला प्रभावकारी व्यवस्था लागू गर्नुका साथै कहिलेकाहीं समुद्री आँधीले ज्यादै क्षति पु–याउने शहर खाली गर्ने आदेश शहर वा राज्यका अधिकारीहरूले औपचारिकरूपमा, ‘मान्ने पार्ने किसिमले’, जारी गर्नुपर्ने हुन्छ। शहरहरू खाली पनि हुन्छन्।
    सन् २००० पछिकै कुरा गर्ने हो भने अमेरिकामा अनेक ठूला–ठूला समुद्री आँधी आएर जनधनमा ठूलै क्षति पु–याएका छन्। सन् २००० पछि आएका केही अति शक्तिशाली समुद्री आँधी एवं तिनले पु–याएको आर्थिक क्षति निम्न प्रकार छन्– अमेरिकामा समुद्री आँधीको उचित अभिलेख राख्न एवं तिनको प्रभावकारी व्यवस्थापन गर्न प्रत्येक समुद्री आँधीलाई छुट्टाछुट्टै नाम दिने गरिन्छ। जस्तै रिटा, कट्रिना, इज्जाक आदि।
    अमेरिकामा आएका इज्जाक (सन् २०१२, क्षति २.३५  बिलियन डलर), डेनिस (सन् २००५, क्षति २.५४  बिलियन डलर), डोरिएन (सन् २०१९, क्षति ३.४ बिलियन डलर), गुस्ताभ (सन् २००८, क्षति ४.६ बिलियन डलर), इजाबेल (सन् २००३, क्षति ५. ३७ बिलियन डलर), जेन (सन् २००४, क्षति ५. ६६ बिलियन डलर), फ्रान्सेस (सन् २००४, क्षति ९.५  बिलियन डलर), रिटा (सन् २००५, क्षति १२.०० बिलियन डलर), चार्ली (सन् २००४, क्षति १५.००  बिलियन डलर), इर्नी (सन् २०११, क्षति १५.०८ बिलियन डलर), इभान (सन् २००४, क्षति १८.८  बिलियन डलर), विल्मा (सन् २००५, क्षति २१.०० बिलियन डलर), फ्लोरेन्स (सन् २०१८, क्षति २४.०० बिलियन डलर), माइकल (सन् २०१८, क्षति २५.१ बिलियन डलर), आइक (सन् २००८, क्षति २९.५२ बिलियन डलर), सेन्डी (सन् २०१२, क्षति ५०.०० बिलियन डलर), इर्मा (सन् २०१७, क्षति ५०.०० बिलियन डलर), हार्भी (सन् २०१७, क्षति १२५.०० बिलियन डलर), कट्रिना (सन् २००५, क्षति १२५.०० बिलियन डलर) जस्ता शक्तिशाली समुद्री आँधी निकै दुःखदायी थिए। तिनले जनधनमा ठूलो क्षति पु–याएका थिए।
    कट्रिना नाम दिइएको समुद्री आँधीले ‘ज्याज म्युजिक’को उद्गमस्थल मानिएको र प्राचीन फ्रान्सेली संस्कृतिको धरोहर ठानिएको लुजियाना राज्यको प्रख्यात साङ्गीतिक शहर न्यू ओर्लियन्सलाई नराम्ररी प्रभावित पा–यो। भनिन्छ, कट्रिनाको प्रभावबाट निराश र हतास धेरै न्यू ओर्लियन्सवासी अन्यत्र बसाइँ सरे। लुजियानाका अन्य शहरका बासिन्दामा पनि त्यही स्थिति देखियो।
    अगस्त २९, २००५ मा अमेरिकामा आएको अति शक्तिशाली समुद्री आँधी कट्रिनाले न्यू ओर्लियन्समा ध्वंस नै मचायो। अगस्त ३१ सम्म, तीन दिनभित्र न्यू ओर्लियन्सको ८० प्रतिशत भूमि जलमग्न हुन पुगेको थियो। केही भागमा त १५ फिटसम्म पानी जमेको थियो। तेल (पेट्रोलियम) उत्पादन र प्रशोधन कार्य कट्रिनाले गर्दा अवरुद्ध हुन पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि भएको थियो। न्यू ओर्लियन्सको ८० देखि ९० प्रतिशत बासिन्दालाई अन्य सुरक्षित स्थानमा स्थान्तरण गरिएको थियो। शहरलाई लगभग खालि नै पारिएको थियो। सहयोगको यत्रो व्यवस्था हुँदाहुँदै पनि आफूसँग सवारीसाधन नभएका एवं समयमा उक्त विपद्बारे जानकारी नपाउने केही व्यक्ति जलाशय बनेको त्यो शहरमा फसेका थिए। केही जोगिएका एवं उद्धार कार्यमा खटेका मानिसले कतिपय लाश पानीमा बगिरहेको देखेका थिए। अति विध्वंसकारी त्यो समुद्री आँधी, कैट्रिना, ले १ हजार ४ सय ६४ न्यू ओर्लियन्सवासीको ज्यान लिएको थियो।
    यो आलेख तयार पारिरहँदा ओक्लहोमा राज्यका विभिन्न शहर, आजको दिनमा बरफ बन्ने वर्षा (Freezing rain)बाट पीडित छन्। रूखमा परेको पानी जमेर बरफ बन्दा र बरफको भार रूखले थेग्न नसक्दा अनेकौं रूख भाँचिएका छन्। विभिन्न स्थानमा बिजुली गएको छ। बाटो चिप्लो पार्ने गरी बरफ जमेको छ। ओक्लहोमाको अनेक स्थानमा जीवन सामान्य हुन सकेको छैन।
    जङ्गली आगो वा डढेलोले पनि अमेरिकालाई उत्तिकै सताउँछ। अमेरिकाको ठूलो क्षेत्र जङ्गलले ढाकिएको हुनाले यहाँ डढेलो पनि प्रत्येक वर्ष लाग्ने गर्दछ। यस वर्ष क्यालिफोर्नियालाई डढेलोले अति सतायो। यस वर्ष क्यालिफोर्नियामा मात्र ८ हजार ८ सय ३४ वटा डढेलोका घटनाहरू भए। ४१ लाख ४९ हजार ३ सय ४५ हेक्टर जग्गामा आगलागी भयो। १० हजार ४ सय ८८ संरचनालाई आगोले खरानी पा–यो। ३१ जनाको ज्यान लियो।
    अनेक प्राकृतिक विपत्ले अमेरिकालाई सताए पनि यो मुलुकको आर्थिक विकास अवरुद्ध भएको छैन। प्राकृतिक प्रकोपको सामना गर्न अमेरिकाले अन्य मुलुकसँग आर्थिक सहयोग मागेको छैन। अहिले पनि अमेरिका विश्वको एक नम्बर महाशक्ति नै छ। यस्तो किन भएको होला ? उत्तर गा–हो छैन। अमेरिकीहरू कठोर परिश्रम गर्छन्। कठोर परिश्रम गरेर नै अमेरिकीहरूले यो कठिन भूमिलाई हराभरा, उब्जाउ, उत्पादक पारेका छन्। अमेरिकाले संसारभरिमा नै सर्वाधिक भटमास उत्पादन गर्छ।
    यस्ता अनेकौं प्राकृतिक प्रकोपले भौतिक पूर्वाधारहरू नष्ट पारिरहन्छन्। परिश्रमी अमेरिकीहरू अविलम्ब नवनिर्माण गर्छन्। विनाश र नवनिर्माण सँगसँगै चलिरहन्छ। अमेरिकीहरू संसारमैं एक नम्बर परिश्रमी हुनुपर्छ। अमेरिकामा कुनै व्यक्तिले उभिएरै ६ देखि ८ घण्टासम्म काम गरेको सहजै देख्न सकिन्छ। यहाँसम्म कि नेताहरू पनि भाषण गर्दा वा जनसमक्ष घण्टौं उभिएको देख्न सकिन्छ। परिश्रमलाई महत्व दिन अमेरिकामा उभिने चलन छ। उभिएर काम गर्ने परम्परा छ। मालिक होस् वा कामदार, दुवै सँगसँगै उभिएर काम गरेको देख्न सकिन्छ। ‘म मालिक हुँ, कुर्सीमा बस्छु’, ‘तँ कामदार होस्, काम गर’, त्यस्तो सोच अमेरिकामा छैन। यसैगरी, ‘राजाको काम कहिले जाला घाम’ भन्ने सोच पनि छैन। आफ्नो काम होस् वा साहुको, इमानदारीपूर्वक गर्ने चलन छ। कामदारले निरन्तर काम ग–यो कि गरेन भनी थाहा पाउन निगरानी गर्ने चलन पनि छैन। कारण, कामदारले इमानदारीपूर्वक कार्य गर्छ। आफूले पाउने पारिश्रमिकको प्रतिफल काम गरेर दिन्छ।
    यसले गर्दा अमेरिका धनी भएको हो। कल्पना गरेर, इच्छा मात्र गरेर धनी भएको होइन। पसिना बगाएर धनी भएको हो। पाण्डवहरूका लागि छोटो समयमा नै सुन्दर दरबार निर्माण गरिदिने ‘मय’ जस्तै चमत्कारी किसिमले निर्माण गरिदिने क्षमता अमेरिकीहरूमा रहेको देख्न सकिन्छ। पाँच, सात तले बाटो होस् वा फराकिला, लामा राजमार्गहरू वा गगनचुम्बी घर, अमेरिकीहरूले आफ्नै परिश्रमले निर्माण गरेका हुन्। अमेरिका आफ्नै परिश्रमी नागरिकहरूको काँधमा उभिएको छ।
    परिश्रम गर्ने हो भने आफ्नो देशलाई ‘स्वर्ग’ बनाउन सकिन्छ भन्ने उदाहरण अमेरिकीहरूले विश्वलाई कर्म गरेर देखाएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्