चौरसिया हत्या प्रकरणः एक हप्तापछि मुद्दा दर्ता

0
61

प्रस, वीरगंज, १३ कात्तिक/
    मुकेश चौरसियाको हत्या भएको एक हप्तापछि प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयको निर्देशनमा मुद्दा दर्ता गरेको छ।
    जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता मनोजीत कुँवरले १२ जनाविरुद्ध परेको कर्तव्य ज्यानको जाहेरी मुद्दा दर्ता भएको बताए। कात्तिक ६ गते विन्ध्यवासिनी गाउँपालिकामा नेकपाका दुई पक्ष्Fबीच भएको झडपमा सोही गापाका नेकपा सचिव मुकेश चौरसिया घाइते भई भोलिपल्ट उपचारको क्रममा उनको मृत्यु भएको थियो। मृत्युपश्चात् प्रहरीमा दिइएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय, पर्साले बिहीवारसम्म दर्ता गरेको थिएन। आज पनि जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ताको माग गर्दै धर्ना दिइएको थियो। किटानी जाहेरीका लागि सात दिनदेखि निरन्तर धर्ना दिइएको थियो।
    यसैबीच, बुधवारदेखि जिल्ला न्यायाधिवक्ताको कार्यालय सञ्चालनमा आएपछि नेकपाका नेता, कार्यकर्ताहरूले जिल्ला न्यायाधिवक्तालाई उजूरी दर्ताको लागि आग्रह गरेको र न्यायाधिवक्ताले जिल्ला प्रहरी कार्यालयलाई जाहेरी दर्ता गर्न अनुरोध गरेपछि आज जाहेरी दर्ता भएको हो। घटना सम्बन्धमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। घटनालगत्तै प्रहरीले सातजनालाई पक्राउ गरेको थियो। त्यसमध्ये चारजनालाई हाजीरी जमानीमा छाडेको थियो। जाहेरी दर्ताको लागि नेकपा अध्यक्ष प्रचण्डसमेतले आग्रह गरेका थिए भने पूर्वमन्त्रीहरू मातृका यादव, सुरेन्द्र पाण्डे, नागेन्द्र चौधरी, रामचन्द्र झाले वीरगंजमा भएको प्रदर्शनमा भाग लिएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्