दशैंमा जे देखियो

0
58

माक्र्सले धर्मको तुलना अफीमसित गरेका छन्। अफीमको लत छुटाउन निकै गाह्रो हुन्छ। साथै एकले अर्कोलाई सिकाउने उत्तिकै सम्भावना हुन्छ। अफीम त नशालु पदार्थ हो। विश्वमा साम्यवादका जन्मदाता मानिएका कार्ल माक्र्सले आफ्नो जमानाको अध्ययन गरेर निकालेको निष्कर्ष थियो। अहिले पनि त्यो निष्कर्ष ठ्याक्कै मिल्छ भन्ने होइन। अहिले धर्म नशा नहुन सक्छ, अफीम नहुन सक्छ वा धर्मलाई अफीमसित तुलना गर्नु अपराध हुन सक्छ। धर्म अफीम नै हो भन्न खोजेको होइन। धर्म अफीम हो भन्ने कुरामा तत्कालको लागि मेरो विमति छ भन्दा पनि हुन्छ।
सर्वसाधारण ग्रामीण नागरिकको नजरमा पनि धर्म गर्ने तथा धार्मिक कार्यमा मानिसको सहभागिता बढेको छ। धर्मको सम्बन्ध अर्थसित बढी गाँसिएको छ। कुनै पनि धार्मिक उत्सव र धार्मिक चाडपर्वमा सर्वसाधारणले बढी पैसा खर्च गरेर सरसामान किन्ने चलन निरन्तर बढिरहेको छ। त्यस्ता सांस्कृतिक उत्सवहरू जसको सम्बन्ध धार्मिक आस्था वा देउतासित छैन, विलीन हुँदै गएका छन् वा कमजोर बन्दै गएका छन्। अझ यसरी पनि भन्न सकिन्छ, जुन संस्कृतिको सम्बन्ध अर्थसित धेरै गाँसिन सकेको छैन, त्यो निरन्तर कमजोर बन्दै गएको छ, खुम्चिंदै गएको छ। यसै कारण विभिन्न महीनाको विभिन्न धार्मिक पर्व तथा अझ जति धेरै प्रसिद्ध देवीदेवताको मन्दिर छ, त्यहाँ त्यही सम्बन्धित सामग्रीको बढी बिक्री भएको देखिन्छ।
धार्मिक कार्यमा सहभागिता जनाउने र अर्थ व्यय गर्ने होडबाजी नै रहेको छ भन्दा पनि फरक पर्दैन। अन्य समयमा कुनै सामाजिक वा परोपकारको काममा दाँतबाट पसिना निकाल्नेहरू पनि धर्मको नाउँमा चन्दा दिन अगाडि हुन्छन्। अझ शिलालेखमा नाम लेखाउने कुरामा त झन् बढी पैसा दिएर नाम अलिक अगाडि परोस् भनेर अघोषित प्रतिस्पर्धा नै गर्छन्। मन्दिरनजीक पसल थाप्न पनि प्रतिस्पर्धा हुन्छ। अलि बढी भाडा तिरेर त्यहीं बेपार गर्न खोज्छन्। मन्दिरनजीकका पसलमा सामग्रीको मूल्यभन्दा दोब्बरसम्म तिर्न पनि हच्किंदैनन्। अझ जुत्ता–चप्पल हेरिदिन्छु भनेपछि त मोलमोलाइ नगरी मागे जति पैसा तिर्छन्।
यसपटकको दशैं वास्तवमा विशिष्ट परिवेशमा आएको विशिष्ट दशैंको रूपमा रहेको सबैले बुझेका छन्, त्यसैले दशैंको खासै रौनक देखिएन। मुख्यगरी शिक्षित समुदायले अलिक हच्केर भीडमा जान नचाहेको हो, तापनि भीडमा नपसी सुखै पाएनन्। मुख्यगरी मधेसी समुदायको दशैंमा पहिले–पहिलेभन्दा खासै फरक देखिएन। हो, झिंझिया निकै कम भयो, गाउँमा भगतई खासै भएन। तर दशैं अवधिको अन्य सांस्कृतिक काममा कुनै कमी भएको देखिएन। मन्दिरमा मानिसहरूको भीडभाड उत्तिकै देखियो। साँझ–बिहानको पूजाको समयमा पनि अकल्पनीय भीड देखियो। कतैबाट कोही नियन्त्रण गर्ने देखिएन। स्वास्थ्य सुरक्षा सावधानीप्रति कोही चनाखो देखिएन। सम्झाइबुझाइ गरिदिने पनि कोही देखिएन। एक्कादुक्का, हंसमध्ये बकोयथा, कोहीकोही मास्क लगाएर भीडमा देखिन्थे जसलाई मास्क नलगाउनेहरू अनौठो दृष्टिले हेर्दथे। हेप्न हेप्दैनथे, तर एक्लो बृहस्पतिझैं हास्यको पात्र बन्दथ्यो, मास्क लगाउने व्यक्ति। यस्तोमा मन्दिरहरूमा भौतिक दूरी पालना हुने त कुरै देखिएन। मानिस फुर्सतमा थिए, पूजा गर्न गए, भीडभाड भयो। यत्तिसम्म पनि भनेको सुनियो कि माताको अगाडि कुनै पनि रोग आउन सक्दैन, कोरोना हो नै के १ यस्तो आत्मविश्वास हुनेहरूलाई त आस्थाको मानक मान्न सकिन्छ।
सरकार तथा विभिन्न निकायले पनि दशैंमा सावधान रहन र भीडभाड नगर्न भनेको थियो। सरकारले भनेको कुरा नमान्नु त नेपालीहरूको संस्कार बनेको छ। मूर्ति सेलाउने दिन त झन् अबीर जात्रा गरेर विभिन्न नृत्य गर्दै रमाइलो मान्नेको कुनै कमी देखिएन। कतिपय ठूला, प्रतिष्ठित मानिसले पनि सम्मानपूर्ण सहभागिता जनाएको देखियो। यस्तोमा राजनीतिकर्मीहरूको सहभागिता नहुनु त सर्वथा अस्वाभाविक हो। हाम्रा राजनीतिकर्मीले भीडलाई नियन्त्रण गर्न जान्दैनन्, भीडबाट नियन्त्रित हुनु उनका लागि परमोधर्म हो। उसो त सामाजिक र धार्मिक काममा कडा रोक लगाउन पनि सम्भव हुँदैन। अहिलेको दशैंमा यही भएको छ। बुझेका राजनीतिकर्मीहरू सक्दो छिटो सहभागिता जनाएर फर्केका छन् तर राजनीतिकर्मीहरूकै मौनताले दशैंमा भीडभाडमा कमी आउन नसकेको चाहिं पक्का हो।
बलि दिने सवालमा पनि यही लागू भएको देखियो। कतिपय मन्दिरमा बलि नचढाउने पूर्व घोषणा गरिएको थियो तर गाउँ–देहातमा यस वर्ष पनि बलि चढाउन कमी आएको देखिएन। बलिको लागि चाहिने बोको र परेवाको भाउले आकाश छोएको देखियो। यसपटक एक जोडी परेवाको मूल्य बा–ह सय रुपैयाँसम्म पुगेको देखियो। कोरोनाकालमा बाहिरबाट गाउँ आएका युवाले निकै रमाइलो गरेर दशैं मनाए। बेपारीहरूको गुनासो–बेपार भएन, दशैं दशैंजस्तो भएन भन्ने थेगो यस वर्ष साँच्चीकै फलीभूत भयो। सही पनि हो, बेपारमा निकै मन्दी आएको सत्य हो तर युवाहरूले दशैंमा सामान्य अवस्थामा भन्दा बढी मदिरा सेवन गरे। युवाहरूको दशैं यसै अर्थमा रमाइलो भएको देखिएको छ।
शुभकामना आदानप्रदानमा केही कमी भने अवश्य आएको देखियो। कतिपय राजनीतिकर्मीले शुभकामना आदानप्रदान गरे। कहींकतै औपचारिक कार्यक्रम पनि भयो, तर अन्य सङ्घसंस्थाले खासै कार्यक्रम गरेको पाइएन। हरेक वर्ष हुँदै आएको नियमित कार्यक्रमलाई पनि अनौपचारिक बनाएर सीमित पारियो। दशैंमा टीका लगाउनेहरू पनि अधिकांश घरमैं सीमित देखिए, बढीमा छरछिमेकसम्म पुगे। नजीकका आफन्तकहाँ पनि मानिस पुगे तर पहिलेको तुलनामा निकै कम। सामाजिक सञ्जालमा भने दशैंको चहलपहल विगतमा कहिल्यै नभएकोजस्तो देखियो। सामाजिक सञ्जालले त घरमैं परिवारका बीच दशैं मनाएको–मानेको तस्वीर र शब्द बढी पोस्ट गरेको पाइयो। दशैंको समयमा कोरोनाले गर्दा देखिएको ठूलो सचेतना सामाजिक सञ्जालले देखाएको मुख्य विशेषता हो।
यति हुँदाहुँदै पनि अहिलेको दशैंमा गाउँघरमा पहिलेभन्दा देखिएको फरक मनोरञ्जन हो। यसपटक मनोरञ्जनको क्षेत्रमा भने खासै केही भएको देखिएन। मेला त लाग्यो तर मेलामा नाचगान भएन। कतैकतै मेलामा नाच नचाएको पनि सुनियो तर विरलै। कुश्ती पनि खेलाइएन। धार्मिक मनोरञ्जनका अन्य क्रियाकलापमा पनि कमी देखियो। यसले गर्दा यो पनि स्पष्ट हुन आयो कि मेला वा मन्दिरको भीडभाड धेरै समय टिकेन। मानिसहरू मन्दिरमा पुग्ने, दर्शन–पूजा गरी फर्कने तथा मेला भर्ने र केही सामान किनेर फर्कने क्रम चलिरह्यो। यस्तो हुनुमा मेला वा मन्दिरमा धेरै समय अल्मलिने साधन नभएर हो। जेहोस्, पहिलेको तुलनामा मेलामा मानिसले निकै कम समय खर्च गरेको भने देखियो। यसबाट यो पनि स्पष्ट हुन्छ कि मेलामा जब मानिस कम समय बिताउँछ, अवश्य उसले रुपैयाँ पनि थोरै खर्च गर्छ। यसको असर बेपारमा पर्छ। हो, यसपटक तुलनात्मकरूपमा बेपार कम भएको हो।
हो, युवाहरू गाउँमा थिए, तास र जुवा घनीभूत भएको पाइयो। युवाहरू समूह बनाएर दिनभर तासमा रमाएको देख्दा कोरोना नै नभएको अनुभूति भयो। यद्यपि दशैंकै समयमा किसानलाई धान भिœयाउने चटारो आएको छ। विपन्न ग्रामीण किसानको आफ्नो खेत नभए पनि अर्काको खेतमा धान काट्न पाएका छन्। निरन्तरको वर्षाले धानबाली केही राम्रो भएको छ। धान नरोगाएको होइन, तर यस वर्षको धानको उत्पादनले किसानलाई औसत सन्तुष्टि दिएको छ। ग्रामीण समुदायले मीठो–मसिनो खाएर दशैंलाई बिदा गरेको छ, अन्य वर्षजस्तो ठूलो उत्साह नदेखिए तापनि।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्