ठूला पार्टीले नीतिगत भ्रष्टाचारलाई बढावा दिएको आरोप

77

प्रस, वीरगंज, १२ कात्तिक/
सांसद प्रदीप यादवले नेकपा र काङ्ग्रेसले नीतिगत भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाएका छन्।
बुधवार जनता समाजवादी पार्टी वीरगंज महानगर–२७ वडा एकाइ समिति उदयपुरघुर्मीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सांसद यादवले वाइड बडी विमान घोटालाकाण्डमा सरकारलाई छानबीन प्रतिवेदन बुझाउँदा पनि कुनै कारबाई प्रक्रिया अगाडि नबढेको बताए। उनले ठूला पार्टीहरूले नै भ्रष्टाचारीलाई संरक्षण दिइरहेको आरोप लगाए। उनले भने, “देशमा भएका ठूलठूला भ्रष्टाचार काण्डहरूको छानबीन हुन्छ, प्रतिवेदन बुझाइन्छ तर कारबाई हुँदैन, यसैले भ्रष्टाचार मौलाएको छ।”
उनले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने बताए। उनले मधेसको हकहितको लागि पार्टी सङ्घर्षरत रहेको बताउँदै अब एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेकाहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए।
कार्यक्रममा प्रदेश सांसदहरू करीमा बेगम, सिंहासन साह कलवार, जन्नत अन्सारी, भीमा यादव, वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, विन्ध्यवासिनी गाउँपालिका प्रमुख श्रीलाल मोदी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवलगायतको उपस्थिति थियो। वीरगंज महानगरपालिका–२७ जनता समाजवादी पार्टीका एकाइ अध्यक्ष दयानन्द उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रोशन यादव र सहजीकरण परमा कुमारले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्