छठ पबनी ः उद्भव र विस्तार नामक कृति लोकार्पित

98

प्रस, गरुडा, १२ कात्तिक/
    तराई–मधेसमा सर्वाधिक लोकप्रिय छठ पर्वको विषयमा पहिलोचोटि कृति प्रकाशित भएको छ। रौतहटका साहित्यकार सञ्जय साह मित्रले लेखेको ‘छठ पबनी ः उद्भव र विस्तार’ नामक कृतिको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादव र बज्जिका साहित्य सङ्गम रौतहटका संयोजक साहित्यकार किशुनदयाल यादव श्रीकृष्णले मङ्गलवार संयुक्तरूपमा लोकार्पण गरेका थिए।
    रौतहट, गढीमाई नगरपालिकाको मलाही बजारमा दुर्गापूजाको पण्डालमा सामाजिक दूरी बनाएर गरिएको कृतिको लोकार्पणको समयमा स्थानीय बुद्धिजीवी, संस्कृतिकर्मी, साहित्यकार, सञ्चारकर्मी लगायतको सहभागिता थियो।
    रौतहटमा प्रादुर्भाव भएर विश्वभरि फैलिएको लोकपर्व छठ नेपालको मौलिक पर्व भएको कृतिमा उल्लेख गरिएको छ। छठ पर्वको विषयमा २५ वर्षदेखि लेख्दै आएका साहित्यकार मित्रले छठ पर्वको विषयमा खासै कुनै कृति प्रकाशन नभएको अवस्थामा यस कृतिबाट छठ पर्वको विषयमा जान्न चाहनेलाई निकै सहयोग पुग्ने बताए। छठ पर्वको विषयमा अनुसन्धान गर्न चाहनेलाई पनि यस कृतिले निकै सहयोग गर्ने कृतिकार मित्रको भनाइ थियो।
    कृतिका लोकार्पणकर्ताहरूले देशको संस्कृतिको विषयमा यस कृतिले नवीन सोच ल्याएको बताएका थिए। पत्रकार चन्द्रकिशोर झाले छठको स्थानीयकरण निकै मौलिक विषय भएको उल्लेख गरेका थिए। गढीमाई नपाका प्रमुख यादवले नवप्रकाशित कृतिले तराई–मधेसको संस्कृतिलाई उच्च बौद्धिक पाठकसम्म पु–याउन विशेष भूमिका खेल्ने बताएका थिए। बज्जिका संस्कृतिको लागि प्रस्तुत कृति विशेष भएको बताउँदै साहित्य सङ्गमका संयोजक श्रीकृष्णले गर्वका
साथ छठ पर्वबारे दुई शब्द जानकारी राख्ने अवसर कृतिले दिएको बताएका थिए।
    कृतिको प्रकाशन गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवको निजी लगानीमा भएको हो।
    बज्जिका, नेपाली र हिन्दी भाषामा साहित्यका विभिन्न विधाका साथै अनुसन्धानमा साढे दुई दशकदेखि क्रियाशील मित्रको यो एघारौं कृति हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्