चाचान समूहद्वारा चैनपुरमा विद्यालय भवन निर्माण शुरू

0
72

राधेश्याम पटेल, परवानीपुर, १२ कात्तिक/
    बारा, परवानीपुर गाउँँपालिका वडा नं ४ चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ३५ लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण कार्य शुरू भएको छ।
    विद्यालय परिसरमा भवनको शिलान्यास गर्दै निर्माण कार्य शुरू भएको हो। चाचान समूहको चैनपुरमैं सञ्चालित नारायणी आयल रिफाइनरी उद्योग प्रालिको ३५ लाख रुपैयाँको सहयोगमा दुईतले ४ कोठे भवन निर्माण थालिएको हो।
    उद्योगका प्रबन्धक बाकेलाल साहले भवनको शिलान्यास गर्दै निर्माण कार्य अघि बढाएका हुन्। विद्यालय व्यवस्थापन समिति र उद्योग प्रशासन मिलेर भवनको निर्माण कार्य आगामी ३ महीनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
    सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योगले सेवा क्षेत्रभित्र विद्यालयमा कक्षा १० सम्म पठनपाठन होस् भनी विद्यालय भवनको लागि रु ३५ लाख सहयोग गर्ने चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले गाउँँलेलाई वचन दिएका थिए। यसअघि गत २०७५ चैतमा आएको चक्रवातका कारण विद्यालय भवन क्षतिग्रस्त भई केही महीना पठनपाठन पनि बन्द भएको थियो। सो विद्यालयमा नेपाल बैंक लिमिटेडले पनि गत वर्ष रु ५० लाख रुपैयाँ भवन निर्माणको लागि सहयोग गरेको थियो।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा परवानीपुर गापा वडा नं ४ का अध्यक्ष गजेन्द्र पटेल, वडासदस्य बसिर देवान, कन्हाई पटेल, लिपनीमाल गाविसका पूर्व अध्यक्ष मुक्तिराउत कुर्मी, नेकपा नेता रामक्षत्री राउत कुर्मीलगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक मदन पटेलले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्