दु्रतमार्ग निर्माण कार्यले तीव्रता लिंदै

0
42

प्रस, निजगढ, ११ असोज/
मुलुकको गौरवका आयोजनामध्ये एक तराईको निजगढबाट राजधानी काठमाडौं जोड्ने बहुचर्चित आयोजना दु्रतमार्ग निर्माण कार्यले पछिल्लोपटक तीव्रता लिएको छ ।
पूर्व–पश्चिम राजमार्गको निजगढ मोहोरी चुरे पहाड हुँदै मकवानपुर, ललितपुरको १० स्थानमा सेनाका प्राविधिक टोलीसहित क्याम्प राखेर दु्रतमार्गको निर्माण कार्य भइरहेको छ । माटो कटिङ, फिलिङसँगै दु्रतमार्ग चौडा पार्ने कार्य अघि बढाइरहेको सेनाले अहिले नाला, पर्खाल, टनेल निर्माणलगायतका कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।
दु्रतमार्गमा मदन भण्डारी मार्ग जोड्न बागमती प्रदेश सरकारले सङ्घीय सरकारलाई प्रस्तावसमेत गरिसकेको छ ।
प्रदेश सरकारको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारको तर्पmबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित स्थानको स्थलगत अवलोकन एक साताअघिसमेत गरिसकेका छन् । पहिलो चरणमा व्यावहारिक र सामान्य ढङ्गले अवलोकन गरिए पनि प्राविधिक टोलीको अध्ययनबाट नै अन्तिम निष्कर्ष निक्लिने छ ।
दु्रतमार्गको सुरुआती चरणमा भने यस मार्गमा अन्य कुनै मार्ग जोड्न सरकारले परिकल्पना वा योजना बनाएको थिएन । धरान–चतरा–सिन्धुली हुँदै हेटौंडा जोड्ने मदन भण्डारी राजमार्ग मकवानपुरको बकैया गाउँपालिकाको पश्चिमतर्पm श्रीपुर र हेटौंडा उपमहानगरपालिकाको पूर्वतर्पm फुर्के चौरको माथिल्लो भागमा दु्रर्तमार्ग जोडिनुपर्ने बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए ।
विकासको क्रम र आवश्यकतासँगै यस भेगबाट हेटौंडा हुँदै सङ्घीय राजधानी काठमाडौं जान जनताको सुविधालाई मध्यनजर गर्दै मदन भण्डारी मार्ग दु्रर्तमार्गमा जोड्न नेपाल सरकार सकारात्मक हुनुपर्ने अध्यक्ष खनालको भनाइ छ ।
मदन भण्डारी मार्ग जुरेली आसपासको चुरे पहाड हुँदै हेटौंडा जोडिनेछ । द्रुतमार्ग भने हेटौंडादेखि लगभग २०/२२ किलोमिटरको दूरीबाट काठमाडौं गएको छ । तराई–मधेसको वैकल्पिक राजमार्गको रूपमा मदन भण्डारी मार्गलाई लिइएको छ ।
दु्रतमार्गमा मदन भण्डारी मार्ग जोड्दा भित्री मधेसलगायत अन्य क्षेत्र, स्थानका जनतालाई दु्रतमार्ग भएर सङ्घीय राजधानी काठमाडौं पुग्ने सडक छोटो हुनुका साथै समय र इन्धनको समेत बचत हुने देखिन्छ ।
करीब सात वर्षअघि नेपाली सेनाले दु्रतमार्गको ट्र्याक खोले पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार नगरीकनै दु्रतमार्ग निर्माण कार्य अघि बढेको थियो । सरकारले तोकिएकै समयसीमाभित्र दु्रतमार्ग निर्माण गर्न नेपाली सेनालाई निर्माणको जिम्मा लगाए पनि डिपिआरको अभावमा निर्माण कार्य गर्न अलमलमा परेको सेनाले डिपिआर तयार भएसँगै सो समस्या हटेको जनाएको छ ।
अहिले वर्षासँगै आएको पहिरोले सो सडक पुरिएपछि पहिरो पन्छाउने कार्यलाई समेत सेनाले तीव्रता दिइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदल सुरक्षा बेस क्याम्प बागदेवको नेपाली सेनाले जानकारी दिएको छ ।
दशैं, तिहार सकिएलगत्तै सो मार्गले पुनः गति लिनेछ । बाराको निजगढबाट काठमाडौं उपत्यकाको ललितपुरको खोकना जोड्न ७६.२ किलोमिटर लम्बाइ रहने जनाए पनि ३.७ किलोमिटर घटेर ७२.५ किलोमिटरमा झरेको सो डिपिआरमा उल्लेख छ ।
एक वर्षअघि दु्रतमार्गको निरीक्षणमा निजगढ आएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले तोकिएकै समयसीमाभित्र दु्रतमार्ग बनाइ छाड्नेमा कुनै सन्देह नभएको बताएका थिए ।
सो मार्गमा सेनाले ट्र्याक खोलेसँगै २०६९ चैत २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला, राष्ट्रिय योजना आयोगका निमित्त सचिव पुरुषोत्तम घिमिरे, रक्षा मन्त्रालयका सहसचिव सूर्यकान्त पन्थी, काठमाडौं–तराई मधेस दु्रतमार्ग आयोजनाका प्रमुख राजेन्द्रराज शर्मालगायतको सरकारी टोलीले सो मार्गको अनुगमन गरेको थियो ।
कोरोना कहरमा पनि दु्रतमार्ग निर्माण कार्यमा नेपाल सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय तहले खेल्नुपर्ने भूमिकामा कुनै पनि कसर बाँकी नराख्ने निजगढका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले बताउँदै आइरहेका छन् ।
जतिसक्दो चाँडो गुणस्तरीय दु्रतमार्ग बन्नुपर्छ भन्ने आम नागरिकको धारणा रहेको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बताए । “जनता दु्रतमार्ग भएर सङ्घीय राजधानी काठमाडौं चाँडै नै जान पाउँ भन्ने पर्खाइमा छन्,” श्रेष्ठले थपे ।
दु्रतमार्गको जीरो किलो खोकनामा नै कायम गरिने भएको छ । सन् २०१५ मा भारतीय कम्पनी आइएलएफएसले डिपिआरको अस्वाभाविक मूल्य राखेपछि सेनाले डिपिआरविनै काम अघि बढाउँदै आएको थियो ।
२०७४ वैशाखमा चार वर्षभित्र काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएपछि सेनाले ट्र्याक सफा गर्ने, रूख काट्ने, माटो सम्याउने, पुर्ने, जग्गाको मुआवजा वितरण गर्ने, नक्शाङ्कन आदि सक्ने जस्ता कार्य गरेको थियो ।
सो मार्गको जटिल भूगोलमा १६ वटा अग्ला पुलसहित कुल ८७ वटा पुल र महादेव, धेद्रे, लेन डाँडामा गरी तीन स्थानमा सुरुङ मार्ग निर्माण हुनेछ । निजगढ, बुदुने र सानो खोकनामा गरी तीन स्थानमा गाडी फर्काउने ठाउँ निर्माण गरिनेछ । त्यसैगरी, दुई स्थानमा विश्रामस्थल र दुई स्थानमा कर सङ्कलन केन्द्र अर्थात् टोल प्लाजा रहने जनाइएको छ ।
दु्रतमार्ग निर्माण सम्पन्न भई सुचारु भएपछि इन्धन तथा सवारीसाधन मर्मतमा वार्षिक २५ अर्ब रुपैयाँ बचत हुने जनाइएको छ । चार लेनमा निर्माण हुने सो मार्ग समथल भूभागमा २७ मिटर र पहाडी भूभागमा २५ मिटर चौडाइको हुने जनाइएको छ । जग्गा अधिग्रहणका लागि ९६ प्रतिशत काम पूरा भएको सेनाले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्