प्रहरी टुलुटुलु हेर्दै, नेपाली रक्सौलमा किनमेल गरी खुरुखुरु फर्किंदै

0
78

राधेश्याम पटेल, वीरगंज, ६ कात्तिक/
    वीरगंज–रक्सौल मितेरी पुल नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी सुस्त बन्दै गएको छ। चाडपर्व लागेसँगै सुरक्षाकर्मीको चेकजाँच र निगरानीमा कमी देखिएको छ।
    कोरोना महामारीको बेला नेपाल–भारत सीमामा अहिले पनि पूर्ण लकडाउन छ। यो नाका भएर गृह मन्त्रालय र परराष्ट्रको स्वीकृतिबेगर विनापिसिआर परीक्षण आउन–जान मिल्दैन। तर केही सातादेखि वीरगंज–रक्सौल ओहोरदोहोर गर्नेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ। मितेरी पुलको पूर्वबाट दैनिक सयौं नेपाली पैदल रक्सौल बजार गएर किनमेल गरेर फर्किरहेका छन्। उनीहरूलाई प्रहरीले कहाँ गएको पनि सोध्ने कष्ट गर्दैन। वीरगंज–१४ का अजय पटेलले भने– “रक्सौल जान पाइरहेको छ भन्ने सुनेको थिएँ, पैदल जाँदैछु कपडा किन्न।” किनमेल गर्न जाने नेपालीहरूलाई दुवै देशका सुरक्षाकर्मीले रोकटोक गर्ने नगरेको बारा प्रसौनीका राजु गुप्ता बताउँछन्। उनले दशैं–तिहारमा खाद्यान्न र लत्ताकपडा किन्न झोला लिएर आएको बताए। रक्सौल जानेमा डङ्कन अस्पतालमा उपचाररत आफन्तजन तथा बिरामीको कुरुवाहरू पनि खाना लिएर जाने गरेका भेटिएका छन्।


    शङ्कराचार्य गेटभन्दा पूर्वको खेतको बाटो प्रयोग गरी मितेरी पुलसम्म पुगेर उनीहरू रक्सौल ओहोरदोहार गर्ने गरेका छन्। त्यसैगरी पर्सा, बाराका ग्रामीण नाकाबाट पनि दैनिक हजारौं मानिस सीमावर्ती भारतीय बजार रक्सौल, सिक्टा, घोडासहनलगायत बजार जाने गरेका छन्। नेपालीहरूलाई नेपाली कुनै पनि सुरक्षा अङ्गले पहिलेजस्तो कडा निगरानी नराख्दा बिहारबाट नेपालमा कोरोना महामारी आउने जोखिम उच्च रहेको चिकित्सकहरू बताउँछन्।             भारतीय बजारमा सामान ३० प्रतिशत सस्तो पाइने भएकोले कोरोनाको जोखिम मोलेर पनि नेपालीहरू सीमापारि सामान किन्न गइरहेको बताइन्छ। यस विषयमा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले मानिस निर्बाध सीमा वारिपारि गरिरहेको सुनेर मातहतका सुरक्षा बेस क्याम्पलाई सतर्क हुन निर्देशन दिएको बताए।
    पर्साकी प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले मितेरी पुलबाट दैनिक सयौं मानिस आउजाउ गरिरहेको जानकारी नभएको र पत्ता लगाएर ड्यिुटीमा खटेको प्रहरी टोलीलाई उच्च सतर्क रहन निर्देशन दिएको बताइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्