दशैं र कोरोना

0
16

    यसपालिको कोरोनाले एकपटक फेरि पुरानो नेपाली लोकोक्तिको अनायास सम्झना दिलाएको छ। ‘आयो दशैं ढोल बजाई, गयो दशैं रिन बोकाई’। यो लोकोक्ति त्यस बेलाका निम्न र मध्यम आय भएका नागरिकको हकमा भनिने गरिन्थ्यो। मध्यम आय भएका त्यसताकाका मानिससँग पुगीसरी अन्नपात भए तापनि रुपियाँ–पैसाको अभाव नै हुन्थ्यो। खसी–बोका घरमैं पाल्ने भए तापनि लुगाफाटो र दान दक्षिणा मिलाउन उनीहरूलाई पनि हम्मे नै पर्दथ्यो। धन हुने वा पुगीसरी आउने धनाढ्य त्यस बेला पनि दशैंमात्र होइन, तिहार, छठ, फागु वा जुनसुकै चाडमा रमाउने नै गर्दथे। निम्न वर्गले पनि दशैंलाई त्यति सा–हो अप्ठ्यारो मान्दैनथे। किनकि समाज सहानुभूतिशील र सहिष्णु थियो। मागेर भएपनि काम चल्दथ्यो। आज निम्न वर्गसमेत, केही अपवाद छाडेर यस्ता चाडमा हैसियत अनुसार खर्च गर्छन् नै। आज कोरोनाले भने अवस्थामा परिवर्तन ल्याइदिएको छ। कोरोनाको त्रास सबैभन्दा बढी मध्यम वर्गीयलाई नै छ। उसलाई चाडपर्व पनि मनाउनु छ, कोरोनाबाट सुरक्ष्Fित पनि रहनु छ। यो दुरभिसन्धी धनाढ्यले खेप्नुपर्दैन, निम्न वर्गले त्यसै सन्तोष गर्छ।

    सरकारले नियमित चेतावनी दिइरहेको छ, दशैं मनाउँ तर घरभित्रै। किनकि धेरै ठाउँका मानिस एक ठाउँ भेला हुँदा, प्रकारान्तरले ती एकै परिवारका अङ्ग नै किन नहोऊन्, कोरोनाको संवाहक बन्ने भय छ। फेरि एक ठाउँबाट अर्को ठाउँ जाँदा सार्वजनिक सवारीसाधन एकमात्र माध्यम हो, मध्यमवर्गीय परिवारका लागि। त्यसले सङ्क्रमणको सम्भावनालाई झन् बढाएको हुन्छ। आफ्नै निजी सवारीसाधन छैन कि अरूसँग सम्पर्कमा नआई आफन्तकहाँ पुग्न सकियोस्। नखाउँ दिनभरिको शिकार, खाउँ कान्छाबाबुको अनुहार। वर्षभरिको चाड, त्यसमा पनि नेपालीहरूको लागि त राष्ट्रिय चाड नै हो। भेट्नैपर्ने, आशीर्वाद लिनैपर्ने, भलाकुसारी गर्नैपर्ने र सरकार, समाज, धर्म सबैले मान्य ठानेको यो चाड कसरी बिलिनो हुन दिने ? धर्म सङ्कटको घडी बनाइदिएको छ कोरोनाले। धनीमानी आफ्नो सवारीमा हुइँकन्छन्, उडेर आफन्तकहाँ पुग्न सक्छन्। मध्यम वर्गलाई जस्तो गरीबले  भेट्नैपर्ने… कुनै आग्रह पालेको हुँदैन। भएन त भएन, यसपालि दशैं, के नै बितिहाल्छ ?

    दशैंमात्र होइन, कोरोनाले त सामान्य जनजीवनलाई नै प्रतिकूलताको अन्तिम सीमासम्म प्रभावित पारिदिएको छ। व्यक्ति त व्यक्ति सम्पूर्ण राज्य व्यवस्थालाई बिथोलिदिएको छ। सरकार एउटा कुरा भन्छ, जनता अर्को कुरा गर्छ। जनताको एउटा आग्रह हुन्छ, सरकार त्यसको वास्ता गर्दैन।  जबकि कोरोनाले राज्य र व्यक्ति सबैलाई समानरूपले प्रताडित गरेको छ। हो, राज्यले दायित्वबोध नगरेको कारण उसलाई समस्या परेको देखिएको छैन। तर कोरोनाले भने कसैलाई छाड्दैन। स्वास्थ्य मामिलामा अलिकति लापरवाही भयो कि यसको आक्रमणमा पर्नुपर्छ। दशैंको आशीर्वादले कोरोनाको दुःस्वप्नबाट जोगिन सकिन्न। चण्डीपाठले यसलाई निष्क्रिय पार्न सक्दैन। जतिसुकै बलियो मनोबलले यसलाई परास्त पार्न सकिन्न। यसलाई परास्त होइन, प्रभावहीन बनाउनका लागि यसको सङ्क्रमण नहोस् भन्ने एकमात्र होशियारी काम लाग्छ। र त्यसका लागि कोरोना–सङ्क्रमणविरुद्ध सतर्कताका सबै दफाको हेक्का राख्नुपर्छ। कोरोनाले दशैं खल्लो नबनाओस्,  मानवजीवनमा आघात नपुगोस् भन्ने शुभकामनाका साथ !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्